विकास निर्माणमा साझेदारी गर्न प्रस्ताव

0
663

दमक।

दमक नगरपालिकाले नगरबासीसंग विकास निर्माणका काममा साझेदारी गर्नका लागि प्रस्ताव आह्वान गरेको छ । नगरपालिकाको ६० प्रतिशत र नगरबासीको ४० प्रतिशत साझेदारीमा काम गर्नका लागि नगरपालिकाले प्रस्ताव माग गरेको हो ।

उपभोक्ता समितिमार्फत साझेदारीमा हुने काममा साझेदारीमार्फत काम गर्दा प्रभावकारी हुने र यसका लागि नगरबासी उपभोक्ताले आफ्नो लागत सहभागिता बैंकमा जम्मा गरेपछि मात्र नगरपालिकाले त्यसमा ६० प्रतिशत हुन आउने रकम थप्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताए ।

नगरपालिकाको आन्तरिक श्रोतबाट समपूरक अनुदान मार्फतका आयोजनाहरुलाई बहुबर्षीय आयोजनाको रुपमा सञ्चालन गर्न नगरपालिकाको अनुदान र उपभोक्ता समितिको लागत सहभागितामा ठेक्का प्रक्रियाद्वारा आयोजना सञ्चालनका लागि नगरपालिकाले सार्वजनिक रुपमा नै नगरबासीलाई अनुरोध गरेको हो ।

उपभोक्ता समितिले आयोजना छनौटको निर्णयपछि उक्त निर्णय कार्यान्वयनको प्रतिबद्धताको साथै नगरपालिकाको बैंक खातामा अनुमानित योजनाको रकमको ४० प्रतिशत रुपैयाँ अग्रिम जम्मा गर्नुपर्ने नगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेको पनि तिम्सिनाले बताए । पछि योजना सञ्चालन तथा समापन गर्दा कम खर्च लागेकामा सोही अनुपातमा उपभोक्ताको रकम फिर्ता हुने जनाइएको छ ।

यसभन्दा अघि कतिपय निर्माणमा उपभोक्ताले लागत सहभागिता व्यहोर्ने प्रतिबद्धता जनाएपनि पछि कार्यान्वयनको क्रममा उक्त लागत सहभागिता बराबरको रकम नआएपछि योजना प्रभावित बन्दै आएको बताइन्छ । नगरपालिकाले यसमा कडाइ गर्दै नगरबासीको लागत सहभागितालाई योजना शुरु हुन अगावै सुरक्षित गरेको हो ।

योजनाको आवश्यकतालाई प्राथमिकतामा राखेर त्यसै अनुसार योजना छनौट हुने नगर कार्यापालिका सदस्य एवं वडा नं. ३का वडाध्यक्ष नवीन बरालले बताए । उनका अनुसार अनिवार्य रुपमा त्यस्ता योजना पेश गर्दा वडा कार्यालयको सिफारिस पनि आवश्यक हुने निर्णय भएको छ ।

यसमा आयोजनाको लागत सीमा पनि तोकिएको छ । कम्तीमा २० लाख र बढीमा १ करोड ५० लाखसम्मको योजना पेश गर्नुपर्ने प्रस्ताव मागको क्रममा खुलाइएको छ । कसैको प्रभाव वा दबाबमा विकास निर्माणको काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि यस प्रकारको निर्णय भएको पनि नगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here