
नकुल काजी
विश्वव्यापी महामारी बनेर फैलिइरहेको कोभिड–१९ (कोरोना)–ले सम्पूर्ण पृथ्वीलाई नै भयाक्रान्त तुल्याइरहेको छ र विश्वका देशहरू यसको निवारण–अवरोपणका उपायहरू अवलम्बन गर्ने प्राथमिक कत्र्तव्यमा प्रवृत्त छन् ।
तर, नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संवैधानिक विधिबमोजिम जनमतद्वारा राज्यव्यवस्था सञ्चालन गर्ने जिम्मेवारीमा पुर्याइएका पार्टीहरू ‘राज्यशक्ति’–को छिनाझपटीमै अहोरात्र व्यस्त छन् । देश र जनतामा आइपर्ने कुनै र कस्तै विपत् र समस्यामा उनीहरूको आधारभूत चासो र गाम्भीर्य परावृत्त भएको पाइँदैन ।
यसले यस वर्तमानको सबैभन्दा दुःखद् विषय बनेर जनमनलाई बेस्सरी घोचिरहेको छ । अतः कोरोनाको बढ्दो प्रकोपले भयभीत यो समय संघीय लोकतान्त्रिक संविधानद्वारा निर्दिष्ट सारभूत सिद्घान्त शिरोघार्य गरी चल्नुपर्ने राज्यव्यवस्थाका पक्ष–प्रतिपक्ष सबैका सबै तह सत्ताशक्तिको लुछाचुँडीलाई नै उपल्लो प्राथमिकतामा राखेर चलखेल बरकरार राख्न रमाइरहेका छन् । मानों, ‘जनता’–को जीवन–मरणको सवालभन्दा महत्वपूर्ण आफ्नो श्रेष्ठता प्रतिप्ठापनको स्वार्थ नै हो राजनीतिक पार्टी–प्राधिकरणहरूको बुझाइको निष्कर्ष । देशको कार्यकारी अधिकारसम्पन्न सरकारमा रहेको पार्टीका नेता महानुभावहरू देशको स्वाभाविक उन्नतिको पनि स्खलन भइरहेको अवस्था र जनताका जीवन– मरणको समस्याभन्दा तिनै जनताका पवित्र विश्वास र अनुकम्पाबाट आफ्नो कब्जामा आएको सत्ताशक्ति यथावत् जोगाउने लित्ती कसाइमा छन् ।
घोषित–अघोषित प्रतिपक्षी पार्टी र गठबन्धन–समूहहरू राज्यशक्तिमा रहेकालाई च्यूत गराई आफू त्यसमा स्थापित हुन् सडक र सभा–भवनहरू तताउन–थर्काउन र विरोधको रक्तचाप बढाउन तल्लिन छन् । मानों, उनीहरूको दायित्व, कत्र्तव्य किंवा अभीप्सा अन्तर्गत पनि देश र जनता छैनन्– तिनका विकास प्रवद्र्घन र आधारभूत कल्याण पर्दैनन् ! ‘देश’–को परिभाषामा अन्तर्भूत सबै अवयवमा बेथितिका चिउला पाउलिएर मौलाउन–झाङ्गिन थालेका छन् ।
देशवासीको वर्तमान जीवन–दैनिकीको अपूर्व अस्तव्यस्त अवस्था झन–झन जटिलतातिर उन्मुख हुदैँछ । यस्तो स्थितिका प्रति सत्तापक्ष–प्रतिपक्ष कोही पनि ‘प्रवक्ता’–को भूमिका निर्वहनबाहेक उत्तरदायी र गम्भीर देखिएका छैनन् । सत्ता जोगाउने र फेरवदलको तानावाना बुन्ने तनाउले देश र जनतालाई महत्वहीन पंक्तिमा पुर्याइरहेको छ । अन्ततः देशलाई ‘असफल राष्ट्र’ घोषणा गर्नुपर्ने अवस्थातर्फ घकेल्न पो मुख्य जिम्मेवार पार्टी नेताहरू उद्यत भएका छन् कि भनेर सचेत वर्गका देशभक्त नेपालीले शंका गर्न थालेका छन् । यस शंकामा नेपथ्य निर्देशक बाह्य शक्तिहरु पनि सन्निहित हुने गरेका छन् ।
विकास–निमार्णका योजनाहरु सम्पन्न हुनुभन्दा पहिले नै उद्घाटन गर्ने र कार्यस्थलको निश्चित पहिचान नै नगरी सिहंदरवारको शक्तिशाली भीडीओ माध्यमबाट शिलान्यास गर्ने हाँस्यास्पद काममा स्वयम् कार्याकारी प्रधानमन्त्रीको लहडी रहर अग्रसर देखिँदो छ । शायद शिलालेखमा लेखिने नाम स्वतः आफ्नो विकासप्रेमी प्रसिद्घि परिचायक हुने लोभबाट उत्सर्जित हतारोले त्यसो गराएको हुन् सक्तछ ! उहिल्यैदेखि हुँदै आएका विकासे काम अहिले सिद्घिनुको स्वाभाविकतालाई आफ्नो तदारुकताको बर्काे ओडाएर जन–मनमा आफ्नो योग्यता प्रतिष्ठापित गर्ने जस्ता छली र छद्भजाली भाषणहरूका ‘सरकार–प्रायोजित’ लाजलाग्दा समाचारहरूको बजार पनि बढाइँदैछ ।
काममा देखाउने होइन वकवेदान्त छाँटेर जनता ढाँट्ने अनेक ‘राष्ट्रिय गौरव’–का मुकुटधारी योजना सुनाइएका छन् । कसैले त्यस सन्दर्भको प्रश्न उठाए कि बल्ल ‘कोरोनाको महामारी’ उच्चारण गर्ने र त्यसका कारण प्रगति नभएको भन्ने कि चाहिँ ‘आफ्नै साथीहरूले अप्ठ्यारो पारेको’ अपारदर्शी वहाना गर्ने गरिँदैछ । राज्यसत्ता यसबेला त्यसका पक्षमा अन्धस्तुति गाउनेहरूको स्वार्थसिद्घिको संस्था बनेको छ– हनुमान चालिसेहरूको व्यक्तिगत समृद्घिसिद्घि गर्ने सर्वाधिक बलियो संस्था वा प्राइभेट लिमिटेड ! जति खबरदारीका सारभूत आवाज उठ्छ उति नै राष्ट्रिय ढुकुटी कोतरेर प्रतिवादको फसल सप्रने घिनलाग्दो सोच राख्नेहरूको मण्डली सत्ताधारीका इर्दागिर्द र नेपथ्य ढाकेर भजन– कीर्तनमा मगनमस्त छन् ।
र, खबरदायीको ती आवाज कीर्तन चलिरहेको मन्दिरको हल्लाले कुनै कुनामा सानो शिशुले आमा खोजेको आवाजलाई निष्तेज बनाए जस्तै बनाइँदैछ । यो त सत्रौं–अठारौं शताब्दी–शैलीको अधिनायकींय खेलोफड्को जस्तै न हो ! ‘भारतविरोधी राष्ट्रवाद’–लाई सिढीँ बनाएर सिंहदरवारको गादी (त धनमा भएको उपद्रवको कुरो पनि उठ्ला । अन्ततः यी र यस्ता अनेक देख– अदेख विषयले माओवादी केन्द्रलाई सरकारको समर्थन फिर्ता लिन नदिई भीरको चिण्डो बनाइराखेको नहुन सक्तैन–कठैबरा ! एघार वर्ष सशस्त्र जनयुद्ध लडेर उभिएको क्रान्तिकारी पार्टीको दम्भ घोलेर आपूm समेत सम्मिलित सरकारलाई तर्साउन ठूल्ठूला उपदेशात्मक डीङ फर्माएको सुनिइरहेको पार्टी सामान्य स्वार्थरक्षामा प्रस्तुत हुनु ‘देख्नेलाई लाज’–को विषय त हुँदै हो नै ।
यसका साथै, जम्मैमा, सरकारलाई चिढ्याउने वा सरकारलाई अस्थिर बनाउने कसरत सरकारमै बसेर गरी– बिराइरहनु नै पनि देश र देशबासीका प्रति अनुत्तरदायी आचार हो मात्र होइन बेइमान हरकत नै होइन र ? अतः यसरी पार्टीहरूले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’–लाई छ जना अन्धाले हात्ती छामेर त्यसको आकार–प्रकार भिन्न–भिन्न बुझी आपसमा कचिङ्गल नारेको दन्त्यकथा जस्तै देश र देशवासीको टिठलाग्दो यथार्थ विपरीत अभ्यास अघि बढाइरहेका छन् ! यसले देश र देशवासीले यो वर्तमानसँग राखेको आशा– अपेक्षाको विशल्य र सौष्ठव ‘आकाशको तारो’ नै भइरहेको छ र अनपेक्षित भविष्य अझ भय–संत्रासपूर्ण देखिंदो छ ! !…


























