संक्रमण रोक्न कठोर बन्नुपर्छ

१६ बैशाख २०७८, बिहीबार मा प्रकाशित

कोरोना संक्रमण व्यापकरुपमा बिस्तार हुन थालेपछि सरकारले सीमानाका लगायत आवत–जावतमा कडाइ गर्न थालेको छ ।
गत वर्ष प्रभाव नै नदेखिएका बेला लकडाउन गरेर संक्रमणको गौंडा बन्द गरेको सरकारले यो वर्ष अझ कडा र नयाँ प्रजातिको भाइरस व्यापक भइरहेका बेला आवश्यक तयारी र सतर्कता नअपनाएको आरोप लाग्दै आएको थियो । हुन पनि यतिबेला राजधानी काठमाडौं मात्र होइन पश्चिमी क्षेत्र समेत असुरक्षित भइसकेको छ ।
बाँके त्यसको उदाहरण हो, जहाँ संक्रमितहरुले अक्सिजन समेत पाएका छैनन् । काठमाडौंका कोभिड विशेष अस्पतालहरु विरामीले भरिएका छन् र संक्रमणको त्रास बढेको छ ।
यस्तो त्रासका बीच पूर्वी सीमान्त जिल्ला झापामा ढिलै भए पनि सतर्कता बढाउन थालिएको छ । खुल्ला सीमाका कारण निर्वाध आवागमन भइरहने नाकामा कडाइ गर्न र भारतीयलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । झापाको अघोषित सदरमुकाम भनिने बिर्तामोडमा जनस्वास्थ्यको मापदण्डको कडाइका साथ पालना गराउन प्रमुख जिल्ला अधिकारी आफैं सडकमा निस्किएका छन् ।
प्रजिअ श्रवणकुमार तिमिल्सिनाको नेतृत्व प्रहरी, सञ्चारकर्मी लगायतका व्यक्तिहरु सम्मिलित टोलीले मास्क नलगाई सडकमा हिँड्नेहरुलाई मास्क वितरण गर्दै सुरक्षित रहन आग्रह गरेको छ । झापाका प्रहरी प्रमुख सानुराम भट्टराई, अनुसन्धान कार्यालयका तिलक शर्मा प्रसाईं, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, उद्योग वाणिज्य संघका कुमार भट्टराई लगायतका व्यक्ति सम्मिलित टोलीले कोरोनाविरुद्ध सचेतनाका लागि सडकमै आउनु परेको बताएका छन् । कोरोना संक्रमणले भारत जस्तो ठूलो र हाम्रो तुलनामा आर्थिक तथा वैज्ञानिक दृष्टिले समृद्ध देशलाई ‘हावा–कावा’पारेको अवस्थालाई गम्भीरतापूर्वक लिइएन भने हाम्रो गति कस्तो हुन जाला अनुमान गर्नै गाह्रो छ ।
संक्रमण शुरु भएको तेह्र महिना भइसक्यो । पहिलो चरणको त्रास कम हुँदै जाँदा आममानिसले मात्र होइन सरकारले पनि संक्रमण पूर्णतः नियन्त्रण भएको ठान्यो । ठूला सभा–सम्मेलनको आयोजना गरिए, स्वास्थ्य रक्षाका मापदण्डको उल्लघंन गरियो र आज पनि त्यही अवस्था देखिएको छ । बिना काम, बिना प्रयोजन सडकयात्री, दुई पाङ्ग्रे र चारपाङ्ग्रे सवारीले बजारमा भीड बढाइरहेका छन् । न मास्कको प्रयोग छ, न दूरी कायम गरिएको छ, न त सेनिटाइजर लगायतका सावधानी अपनाइएको छ । यस्तोमा प्रहरी नै प्रयोग गरी सडकमा चेकजाँच गरी ‘लाठी’ नै हान्नुपर्ने अवस्था आजको आवश्यकता जत्तिकै भएको छ ।
भद्रतापूर्वक ‘मास्क लगाऔं’ भन्ने बोली त्यत्तिकै हराएर जाने अनुभवलाई हेक्का राख्दै प्रहरी प्रशासनले कठोररुपमा प्रस्तुत हुँदा मात्र संक्रमणको चेन छिनाउन सकिएला । मापदण्ड आफ्नै लागि हो भने चेत आउला भन्ने नदेखिएको अवस्थालाई स्थानीय सरकारले समन्वयनकारी भूमिका निर्वाह गर्दै प्रशासनसँगको सहकार्यमा अत्यावश्यक सेवा प्रवाह गर्नेदेखि आनीबानी सुधार गराउनेतर्फ सक्रिय हुनैपर्छ । नत्र भने आकाशमा झुण्डिएको खुकुरी कतिखेर कसको शिरमाथि खस्छ थाह हुँदैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here