सत्ताकै खेलमा लाग्ने कि नागरिक बचाउने ?

0
1886


अक्सिजनको चरम अभाव खेपिरहेका अस्पतालहरुले बिरामी भर्ना गर्नुको साटो उल्टै भर्ना भइसकेका बिरामीलाई निकाल्न थालिसकेकाले अक्सिजन र आईसीयू खोज्दाखोज्दै मृत्युवरण गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।

प्रत्येक १० मिनेटमा एक जनाले ज्यान गुमाइरहेको अवस्था आइसक्दा समेत सरकारको जोडघटाउमा लागेका नेताहरुको अझै चेत खुल्न नसक्नु दुर्भाग्यपूर्ण हो । अस्पताल बाहिर भुइँमै उपचार गर्नुपर्ने अत्यन्तै भयावह स्थिति आइसक्दा जनताकै तिरोबाट भत्ता पचाउने नकचरा जननिर्वाचित प्रतिनिधिहरु भागशान्ति जय नेपालमै लाग्नु हामी देशबासीका लागि योभन्दा विडम्बना अरु के हुन सक्छ र ! वरिष्ठ चिकित्सिक तथा विज्ञहरुले नेपालको स्वास्थ्य व्यवस्था कोल्याप्स (घरायसी) भइसकेको र आगामी तीन–चार साता योभन्दा विकराल अवस्था आउने चेतावनी दिँदादिँदै पनि सत्ताको खेललाई थाती राखेर सबै दल एकजुट भई यो विपत्ति विरुद्ध लाग्नुपर्नेमा उल्टै कानमा तेल हालेर उहाँहरुकै लागि घातक हुनसक्छ ।
भर्खरै एमाले नेता एवम् बागमती प्रदेश सांसद पशुपति चौलागाईं लगायत थुप्रै जनप्रतिनिधिहरु समेत समयमै उपचार नपाएका कारण मृत्युवरण गरेको समाचारहरु आइरहेका छन् । यस्तै अवस्था रहेमा हाम्रा शीर्ष नेताहरु समेत बाँकी नरहलान् भन्न सकिने अवस्था छैन । र, इतिहासले यी नकचरा सत्तालोलुप जनप्रतिनिधिहरुलाई माफ गर्नेवाला छैन भन्ने हेक्का राख्न जरुरी छ । राजधानीमा सुविधासम्पन्न अस्पतालहरु हुँदाहुँदै उपत्यकाबाहिर बिरामी रेफर गर्नुपर्ने अवस्था आइसकेको हुँदा मोफसलमा रहेका अस्पतालहरुमा समेत अक्सिजन र बेड अभाव हुन थालेको छ ।
सर्वसाधारण उपचार सेवा लिन कहाँ जाने ? बिरामी भइसकेपछि मृत्यु कुरेर बस्नुको विकल्प अब सर्वसाधारणका लागि छैन । तसर्थ, तत्कालै देशैभरि पूर्ण लकडाउन गर्न अब ढिला गर्नु हुँदैन । यस्तै अवस्था रहेमा प्रत्येक १० मिनेटमा मात्र होइन, हरेक मिनेटमै ज्यान गुमाउनेको अवस्था आउन अब धेरै टाढा छैन । विज्ञहरुका अनुसार अब तेस्रो लहर पनि चाँडै आउने बुझिएको हुँदा त्यसबाट हुन सक्ने क्षतिको कल्पना समेत गर्न गाह्रो छ । जेमा पनि कमिशन खान पल्किएका बिचौलियाहरु र यसलाई साथ दिने हाम्रो देशको सरकारी संयन्त्र कमसेकम यो त्रासदीको बेला निःस्वार्थ भावले देश र देशबासीलाई बचाउन पछि पर्नु हुँदैनथ्यो ।

नेपालमा रहेका तथा अन्तर्राष्ट्रिय संघ–संस्था, निजी क्षेत्रसँग हातेमालो गरी सर्वसाधारणको ज्यान जोगाउन अझै ढिला भइसकेको छैन । निजी क्षेत्रलाई अक्सिजन सिलिण्डर लगायत अत्यावश्यक औषधि ल्याउन सहजीकरण गरी तत्कालै लाग्नुपर्ने देखिन्छ । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु समेत अक्सिजनको अभावमा बिरामीहरुको कुन बेला मृत्यु हुने हो भन्ने तनावमा काम गरिरहनु परेको छ ।
कथम्कदाचित अक्सिजनको अभावमा बिरामीको मृत्यु भएमा त्यसको तारो आफूहरु बन्ने भएको हुँदामा तनावपूर्ण अवस्थामा काम गर्नुपर्ने भनाइ स्वास्थ्यकर्मीहरुको रहेको छ । र अन्त्यमा, बहुमत जुटाउने, सरकार गिराउने खेल खेल्दै गरौँला, अहिलेलाई सबै एकजुट भएर कोरोनाबाट देश र देशबासीको रक्षामा लाग्न भगवान पशुपतिनाथले प्रेरणा दिउन् । आगे तपाईंको मर्जी, चेतना भया ।

https://purwanchaldaily.com/wp-content/uploads/2021/05/30-baishakh-final.pdf यहाँबाट इ पेपर खोलेर पढ्न सक्नु हुन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here