जुट्दै सहयोग : सहज बन्दै उपचार

0
424

महोत्तरी,

कोभिड–१९ महाव्याधिविरुद्ध अग्रपङ्क्तिमा रही सेवा दिने स्वास्थ्यकर्मीको सुरक्षा र सङ्क्रमित बिरामीको उपचार अब क्रमशः सहज बन्दै गएको छ । सुरक्षित रही काममा खट्नु पर्ने स्वास्थ्यकर्मी र बिरामीका उपचारका लागि स्वास्थ्य सामग्री सहयोगबाट जुट्दै गएपछि महोत्तरीमा अब स्थिति क्रमशः सहज बन्दै गएको हो ।

बुधबार वल्र्डभिजन इन्टरनेशनल संस्थाले महोत्तरीको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई रु २५ लाखका स्वास्थ्य सामग्री प्रदान गरेपछि प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले अब उपचार सहज बन्दै जाने र विकराल अवस्था चाँडै नियन्त्रण हुने विश्वास व्यक्त गर्नुभयो । “वबभिन्न क्षेत्रबाट सहयोग जुट्दै छ”, जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहनुभएका प्रजिअ भट्टराईले भन्नुभयो, “सङ्क्रमण र मृत्यु दर घट्दैछ, निको हुने बढ्दै छन् , सहयोगी हात थपिँदै छन् , अब केही सहज हुँदै जानेछ ।”

जिल्ला अस्पताल जलेश्वर, बर्दिबास अस्पताल र गौशाला नगरपालिकाको इमलीबजारस्थित स्वास्थ्यचौकीमा सञ्चालित आइसोलेशन कक्षमा अब अक्सिजनको अभावमा उपचार प्रभावित हुने अवस्था नरहेको प्रजिअ भट्टराईको भनाइ छ ।

विभिन्न संस्था र व्यक्तिले खुला हृदयले अस्पतालहरुलाई अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य सामग्री सहयोग बढाउँदै लगेका छन् । सामाजिक क्षेत्रबाट भइरहेको सहयोगले उपचारमा खट्ने चिकित्सक र स्वास्थ्यकर्मीमा पनि ऊर्जा प्राप्त भएर सेवामा लाग्न हौसला बढेको बर्दिबास अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सुनिलकुमार दाहाल बताउनुहुन्छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय महोत्तरी परिसरमै पुगेर वल्र्डभिजन इन्टरनेशनलका प्रतिनिधिले प्रजिअ भट्टराईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । प्राप्त सामग्रीमा ७० वटा अक्सिजन सिलिण्डर, ७० वटा पल्स अक्सिमिटर, ७० वटा थर्मल टेम्परेचर, ७० वटा पिपिइ सेट, एउटा अक्सिजन कन्सन्ट्रेटर, १२ प्याकेट सर्जिकल मास्क, ७२ वटा एन–९५ मास्क, पाँच लिटर स्यानीटाइजर, १२ वटा सोप लिक्विड (हयाण्ड वास) रहेका छन् । यी सामग्रीले बिरामीको सघन उपचारदेखि अग्रपङ्क्तिमा रही सेवा प्रवाह गर्नेहरुको सुरक्षामा सहयोग पुग्ने प्रजिअ भट्टराईको भनाइ छ ।

अक्सिजनको अभावमा उपयुक्त उपचार नपाएर बिरामी भौँतारिनु पर्ने अवस्था अब सामग्री जुट्दै गएपछि अन्त्य हुँदै गएको हो । वैशाख चौथो सातामा समयमा अक्सिजनसहितको उपचार नपाएर कैयौँ बिरामीको मृत्यु भएको थियो । “उपचार दिँदादिँदै पनि कहिलेकाहीँ बिरामीको अवस्था विभिन्न कारणले काबुबाहिर जाने रहेछ”, अहिलेको कोभिड–१९ सङ्क्रमण लहरमा अस्पतालमै बसेर बिरामीको उपचार अवस्था अनुगमन गर्दै आउनुभएका जलेश्वर अस्पताल विकास समितिका अध्यक्ष सुरेश पाण्डे भन्नुहुन्छ, “तर सामग्रीको अभाव हुन नदिई उपचारमा संलग्न हुन पाउँदा चिकित्सक र स्वास्थ्यकर्मीमा पनि आत्मबल थपिँदो रहेछ ।” विभिन्न क्षेत्रको सहयोगबाट अहिले सेवा दिन सक्ने अवस्थामा छैनौँ भन्न नपरेको पाण्डे बताउनुहुन्छ । यद्यपि अस्पतालमा भेन्टिलेटरको सुविधा अझै मिलाउन नसकिएको उहाँको भनाइ छ ।

जिल्लामा अहिले केही दिनयता विभिन्न सङ्घ संस्थाले स्वःस्पूmर्त सहयोग बढाएका छन् । बर्दिबास अस्पताललाई पनि बुधबार नै नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले ४० सिलिण्डर अक्सिजन सहयोग गरेको थियो । त्यसअघि स्थानीय व्यापारी उमेश साहले पहिलो पटक ५० सिलिण्डर अक्सिजन उक्त अस्पताललाई दिएपछि अस्पतालले आइसोलेशन सञ्चालनमा ल्याएको थियो ।

जिल्लामा यसपालि नयाँ वर्ष २०७८ प्रारम्भ भएयता वैशाख दोस्रो सातासँगै सङ्क्रमण देखिन थालेको हो । गत वैशाख १४ गते यसपालि सङ्क्रमणबाट पहिलो पटक बिरामीको ज्यान गएको थियो । यो क्रम वैशाख चौथो सातादेखि ह्वात्तै बढेर जेठ पहिलो सातासम्म कायम रह्यो । बुधबारसम्म जिल्लामा सङ्क्रमण पुष्टि भएर ज्यान जानेको सङ्ख्या ६३ पुगेको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । पछिल्लो पटक बुधबार एक जनाको मृत्यु भएको कार्यालयका कोभिड–१९ स्रोतव्यक्ति प्रतिभा सिंहले जानकारी दिनुभयो ।

जिल्लामा यसपालि हालसम्म सङ्क्रमितको सङ्ख्या एक हजार ९९२ पुगेको छ । यीमध्ये एक हजार ६६४ मा सक्रिय सङ्क्रमण पाइएको सिंह बताउनुहुन्छ । जिल्लामा यसपालि हालसम्म २६५ जना निको भएर घर फर्केका छन् । गत वर्ष वैशाखदेखि कात्तिकसम्म यो सङ्क्रमणले १८ जनाको ज्यान लिएको थियो भने दुई हजार १४१ सङ्क्रमित भएका थिए ।
जिल्लामा हाल कोभिड–१९ नियन्त्रणका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । पहिलोपटक गत वैशाख २२ गतेदेखि लागु भएको निषेधाज्ञा यसबीच दुई पटक अवधि थपेर जेठ २० सम्मलाई बढाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here