झापामा जेठ २१ गतेसम्म निषेधाज्ञा

0
834

झापा ।

झापामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार दिउँसो बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ २१ गते मध्यराति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो।

वैशाख १९ देखि जिल्लामा निषेधाज्ञा थपिएको यो तेस्रो पटक हो । बैठकले खाद्यान्न, माछामासु, तरकारी, फलफूलको हकमा होम डेलिभरीको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

घरमा खाद्यान्न अभाव भएको खण्डमा व्यक्तिले स्थानीय पालिका, वाणिज्य सङ्घ वा नेपाल प्रहरीको समन्वयमा पसलबाट खाद्यान्न लैजान पाउने निर्णय थपिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । विकास निर्माणको हकमा आयोजनासँग सहकार्य गरी निर्माण सामग्री बोक्ने सवारीसाधनलाई स्थानीय तहको सिफारिसमा सञ्चालन गर्न पाउने उनले बताए ।

कोभिड १९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को प्रावधान विपरीत कुनै काम गर्न बाधा पुर्‍याउनेलाई एक वर्ष कैद र पाँच लाख सम्म जरिवाना हुने गरी सजाय तोकिएको छ। अध्यादेशको मापदण्ड पालना नगर्नेलाई ६ महिना सम्म कैद वा तीन लाख रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुने छ।

त्यस्तै, मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैयाँ, अनावश्यक रुपमा आवतजावत गरेको पाइएमा पटकैपिच्छे दुई सय रुपैयाँ जरिवाना लाग्ने छ। ‘नयाँ अध्यादेश लागु भइसकेकोले जिल्लामा निषेधाज्ञा उल्लङ्घन गर्नेलाई यी सजाय तोक्न सकिन्छ,’ प्रजिअ तिमिल्सिनाले भने, ‘ झापाबासीले प्रशासनको आदेश पालना गरेको देखिन्छ, उल्लङ्घन भएमा तत्काल कानुन कार्यान्वयनमा ल्याउँछौ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here