झापा, भद्रपुर–८स्थित मेची अञ्चल अस्पताल मातहत छुट्टै कोभिड आइसोलेसन भवन बन्न लागेको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत जिल्लाका तीन निर्वाचन क्षेत्रबाट प्राप्त रकमबाट ५० शय्या क्षमताको कोभिड आइसोलेसन भवन बन्न लागेको हो । सो भवनको बिहीबार बिहान एक संक्षिप्त कार्यक्रमकाबीच मेची अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले शिलान्यास गरेका छन् ।
दोस्रो चरणको कोरोना भाइरसको महामारीले जिल्लामा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको र स्वास्थ्यमा समस्या देखिएका संक्रमित बिरामीलाई मेची अस्पतालको निर्माणाधीन भवनमा बनाइएको अस्थायी कोभिड उपचार
केन्द्रमा राखेर उपचार गराइसकेको अवस्था छ । मेचीमा छुट्टै कोभिड आइसोलेसन भवन नहुँदा अस्पतालले संसदहरुसँग बजेट मागेर सो भवन बनाउन लागेको बताइएको छ ।
भवन निर्माणका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद सुरेन्द्रकुमार कार्कीले २० लाख, क्षेत्र नम्बर २का प्रतिनिधिसभा सांसद पवित्रा निरौला (खरेल)ले १० लाख र क्षेत्र नम्बर ४ का लालप्रसाद साँवा (लिम्बू) १५ लाख बजेट विनियोजन गरेको मेची अस्पताल पूर्वाधार निर्माण उपभोक्ता समितिका सचिव बाबुराम अधिकारीले जानकारी दिए । झापा ३ नम्बर क्षेत्रमा बन्न लागेको कोभिड भवनका लागि यसै क्षेत्रका सांसदले भने बजेट छुट्याएनन् । सांसदहरूको ४५ लाख र उपभोक्ता समितिको ९ लाख बजेटमा सो भवन बन्न लागेको सचिव अधिकारीले बताए । ‘ट्रष्टसहितको भवनमा दुई वटा हल, अफिस कोठा र शौचालय बन्नेछ’– उनले भने– ‘निर्माण कार्य यही असार मसान्तभित्र सक्ने योजना छ ।’ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट भद्रपुर नगरपालिकामार्फत आउने र भवनको प्राविधिक सहयोग पनि नगरपालिकाले गर्ने उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिम्सिनाले जानकारी दिए । कोभिड भवनका लागि अन्यत्रबाट सरसहयोग जुटिरहेको उनको भनाइ छ ।






























