वीपी स्मृति दिवसमा भीमाकुमारीले घर उपहार पाउने

0
945

दुधे ।

नेपाली कांग्रेस शिवसताक्षी नगर समिति र सो पाटीको ११ नम्बर वडा समितिले एक विपन्न वर्गकी महिलालाई उपहार दिने भनिएको घरको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पुरा गरेर यतिबेला उक्त घरको निर्माण कार्य धमाधम भैरहेको छ । कोरोनाका कारण रोकिएको उक्त घरको छाना लगाउनमात्र बाँकी रहेको नेपाली कांग्रेस शिवसताक्षीका सभापती पर्शुराम ढुँगानाले बताए ।

गएको मंसिरमा वडा नम्बर ११ की भीमाकुमारी चौधरी राईको घर निर्माणका लागि नेपाली कांग्रेस नगर समिति र वडा समिति जुटेको थियो । सडक दुर्घटनाबाट पति गुमाएकी भीमाकुमारी आफै क्यान्सर पीडित हुन् । भीमाकुमारी भुमीहिन हुन् । उनका सासु ससुरा देवर जेठाजु पनि भुमिहीन नै हुन् । विपन्नताका कारण उनले आफ्नै घरमा बस्न पाएकी थिइनन् ।

माईतीको सरणमा रहेकी भीमाकुमारी सहित उनका दुई छोराछोरीले बस्ने घर नभएका आफुहरु मानसिक रुपमा पीडित भएको संचार माध्यममा बताएका थिए । विपन्नताकै कारण बस्ने घर नभएको संचार माध्यममा आएपछि नेपाली कांग्रेस नगर समितिले घर र वडा समितिले त्यसका लागि जग्गा व्यवस्थापन गरेको वडा नम्बर ११ का सभापती अशोक बस्नेतले बताए ।

‘गारो लाउने काम पूर्ण रुपमा सकिएको छ ।’ घर निर्माण समितिका सह संयोजक समेत रहेका वडा सभापती बस्नेतले भने–‘अब भने छानो हाल्ने र फिनिसिङ गर्ने काम मात्र बाँकी छ ।’ उनका अनुसार हालसम्म दाताले दिएको सहयोगले नै भीमाकुमारीको घर निर्माणभएको हो ।

‘जस्तापाता लगाएपछि घर रेडि हुन्छ । रकम उठाएर भीमाकुमारीको घरलाई यो स्थितीसम्म ल्याएको हो,’ घर निर्माण उपभोक्ता समितिका संयोजक विनोद ढकालले भने,‘जस्तापाता लगाउने कामका लागिपनि दाताले कवोल गरेको रकमतागेता गरिनेछ ।’ उनका अनुसार दाताले कवोल गरेको रकम करिव साढे ४ लाख संकलन हुन बाँकी छ ।

हालसम्म विभिन्न संघसंस्था र व्यक्तिहरुबाट करिब ५ लाख रुपैयाँ बराबरको भौतिक तथा आर्थिक सहयोग उपलब्ध भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । । कुल ९ लाख रुपैयाँ निर्माण लागत अनुमान गरिएको भीमाकुमारीको घरका लागि अझै ४ लाख रुपैयाँ आवश्यक रहेको समितिले जनाएको छ ।

निर्माण सामग्री उधारो ल्याइएकाले घर निर्माण कार्य सम्पन्नहुन लागेको देखिएको होे । तर, हाद्धवेयर पसलमा ४ लाख भुक्तानी गर्नुपर्ने दायित्व समितिसंग अझै बाँकी रहेकाले पाटीका नेता कार्यकर्ताबाट कबोल गरिएको रकम तागेता गर्न लागिएको समितिका सह संयोजक बस्नेतले बताए । उनले भने,‘पाटीका नेता कार्यकर्ताले कवोल गरेको रकम अब संकलन गरेर बाँकी रहेको जस्तापाता लगाउने काम चाँडै सकेर भीमा कुमारीलाई घर हस्तान्तरण गरिने छ ।’

विपी स्मृती दिवस अर्थात साउन ६ गते कोभीडको महामारी कायमै नरहे एक कार्यक्रमको आयेजना गरेर भीमाकुमारी राईलाई उक्त घर हस्तान्तरण गरिने नेपाली कांग्रेस शिवसताक्षीले जनाएको छ । उक्त घर शौचालय सहित ३ कोठाको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here