बिर्तामोड । 
प्रजातन्त्र सेनानी स्व. तुर्सा हेमरमकी बुहारी सुरजनी हेमरमको आँखाको सफल शल्यक्रिया भएको छ ।
विगत दुई वर्षदेखि दुबै आँखा बन्द भई कष्टकर जीवन बिताइरहेकी हेमरमको आँखाको शल्यक्रिया बिर्ता आँखा अस्पतालमा गरिएको हो ।
कनकाई–३ स्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठानको पहलमा यसअघि नै उनको आँखाको शल्यक्रियाको प्रक्रिया थालिएकोमा पारिवारिक कारणले उपचार हुन सकेको थिएन । प्रतिष्ठानका सभापति गोपालकुमार बस्नेतको अग्रसरतामा बिर्तामोड–१स्थित बिर्ता आँखा अस्पतालमा सोमबार सुरजमनीको एउटा आँखाको शल्यक्रिया सम्पन्न भएको हो ।
नेपाली कांग्रेस झापाका वरिष्ठ सदस्य देउकुमार थेवेका अनुसार सुरजमनी अहिले झापा गाउँपालिकाको शरणामतीस्थित निवासमा रहेकी छन् । दुबै आँखा पुरै बन्द भएकी सुरजमनीले अहिले एउटा आँखाले धमिलो देख्न थालेको बताए । डाक्टर राजेश प्रधानले अस्पतालका तर्फबाट प्रजातन्त्त सेनानीको बुहारी सुरजमनीको उपचार खर्च व्यहोरेको प्रतिष्ठानका सभापति बस्नेतले जानकारी दिए ।
मोतीयाविन्दुले दुबै आँखा बनद भएकी सुरजमनीको अर्को आँखाको शल्यक्रिया दुई महिनापछि गर्ने बताइएको छ । दुबै आँखा बन्द भएर कष्टकर जीवन बिताइरहेकी सुरजमनीको उपचार गरेर संसार देखाउन मानवीय सेवा गर्नु हुने डा. प्रधान र अस्पताललाई वरिष्ठ सदस्य थेवेले धन्यवाद दिएका छन् ।






























