कोरोना कहर : निषेधाज्ञा खुकुलियो, सतर्कता भुलियो

0
577

बिर्तामोड।

झापामा पछिल्लो समय कोरोना संक्रमणको दर पुनः बढ्न थालेको छ । बजार र अत्यावश्यक सेवा सहज भएसँगै मास्क लगाउने घटेका छन् भने सेनिटाइजरको प्रयोग कम हुँदा संक्रमण पुनः बढ्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

निषेधाज्ञा खुकुलो भएसँगै प्रदेश–१ का जिल्लामा स्वास्थ्य सुरक्षा सतर्कता घटेको छ भने मास्क नलगाउने बढेका छन् । बजार खुलेपछि किनमेल गर्नेको भीड लाग्न थालेको छ । झापामा पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

अहिले फेरि बिस्तारै अस्पतालमा संक्रमितको चाप बढ्न थालेको चिकित्सकहरुले बताएका छन् । संख्या घटेकै आधारमा महामारी गइहालेको भन्न नसकिने भन्दै घरघरमा रहेका संक्रमित र उनीहरूका आफन्तले समेत समुदायमा फैलन नदिने गरी सतर्कता अपनाउनुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् ।

झापामा पछिल्लो समय लापरबाही बढेको छ । बजारमा भेटिनेका न मुखमा मास्क छ, न त हातमा सेनिटाइजर । किराना पसल, फलफूल, तरकारीका हाटबजार सबैमा बिना सावधानी किनमेल हुन थालेको छ । जिल्लामा दुई महिनाभन्दा लामो अवधि जारी निषेधाज्ञाका कारण संक्रमितको संख्यामा कमी आएपछि निषेधाज्ञा खुकुलो बनाइएको छ । अहिले साँझ ५ बजेसम्म बजार तथा पसलहरु खुल्ला गरिएको छ । दैनिक उपभोग्य सामग्री किनमेल गर्ने पसलमा चाप छ । यद्यपि, सिनेमा हल, फनपार्क बन्द छन् तर सार्वजनिक यातायात भने खुलेको छ ।

निषेधाज्ञा खुकुलो भएपछि बजारमा चहलपहल बढेको छ र व्यापार गर्ने र किनमेल गर्ने निस्फिक्री छन् । स्वास्थ्य कार्यालयका जीवन चम्लागाँईले भने– ‘मानिसहरूले फेरि कोरोनाको डर बिर्सन थाले । सतर्कता केही पनि छैन । मास्क लगाउन, भीडभाड नगर्न र जथाभावी नहिँड्न जति अनुरोध गर्दा पनि मानिसहरू मानिरहेका छैनन्, ।

कतिपयले सामान्य रुघाखोकी जस्तो ठानेर पचाइरहेका छन् । जीविका चलाउनुपर्ने, घर भाडा तिर्नुपर्ने, कर तिर्नुपर्नेजस्ता समस्याले बाहिरी रूपमा सटर बन्द भए पनि भित्रभित्रै व्यापार व्यवसाय चलिरहेको छ । झापामा बुधबारसम्ममा मात्रै एक हजार सात सय चार जना संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । झापामा हालसम्म चार सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

रोङका तीन वडा सिल

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि इलामको रोङ गाउँपालिकाले तीन वटा वडा सिल गरेको छ । कोरोना संक्रमित दिनानुदिन बढ्दै गएको भन्दै रोङ गाउँपालिकाले सिल गर्ने निर्णय गरेको हो ।

बिहीबारराति १२ बजेदेखि लागू हुने गरी साउन १४ गते राति १२ बजेसम्मका लागि जोखिम भएका वडा नम्बर ३, ४ र ५ सिल गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष शम्शेर राईले जानकारी दिए ।

कोरोना संक्रमण बढ्दै गइरहेकाले गाउँपालिकाबासीलाई सुरक्षित राख्न बाध्य भएर सिल गरिएको बताउँदैै अध्यक्ष राईले सबैलाई अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।

स्थानीय विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले नियम उल्लंघन गरेमा संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । कोरोना भाइरसको संक्रमण बढ्पछि झापाको बुद्धशान्ति गाउँपालिका समेत सिल भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here