दमक।

दमकमा पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ रहेको दमकको थकाली किचनमा दिनभर जतिखेर गए पनि खान पाइने भएकाले एकछिन पनि खाली हुँदैन थियो ।
बिगत दुई महिनादेखि होटल पूर्णरुपमा बन्द रहेको छ । होटलका कर्मचारीहरु भने अहिले त्यही खाना खाएर दिन कटाइरहेका छन् ।
बैंकको व्याज र यहाँ काम गर्नेहरुलाई आकर्षक सुविधा दिन पनि कुनै चिन्ता थिएन र कमाई पनि चित्तबुझ्दो नै रहेको थियो– होटल सञ्चालक दिवस राईले भने । होटलका कर्मचारीहरुलाई बिदाइ गर्यो भने भोलि नआउने र नपाइने चिन्ता हुन्छ– राईले भने– कमाई नभए पनि खानबस्न र केही तलव त दिनै पर्यो ।
उनले यहाँ मात्र नभएर आफ्नो बिर्तामोडमा पनि आफ्नो शाखा विस्तार गरेका थिए । इलाममा पनि सञ्चालनको तयारीमा थियो । तर, लकडाउनले अहिले उनलाई समस्या भएको छ । एकबर्ष अघिको पीडा अलि कम हुँदै गएको समयमा फेरि शुरु भएको कोभिड र निषेधाज्ञाले उस्तै बनायो– उनले भने ।
दमकको पाथीभरा होटल एण्ड लज पनि दमकको चल्तीको मानिन्छ । बस्न र खानाका लागि कुनै समय दमकमा यो होटल अब्बल मानिन्थ्यो । अहिले पूर्णरुपमा बन्द रहेको छ । एक बर्ष अघिदेखि अहिलेसम्म पनि पूर्णरुपमा होटल नचलेको होटलका सञ्चालक पुष्प खनालले बताए । खान र बस्नको व्यवस्थापन गर्नका लागि हम्मेहम्मे पथ्र्यो तर अहिले त बैंकको ब्याज पनि कसरी तिर्ने मुस्किल भएको छ– खनालले भने ।
होटल तथा पर्यटन ब्यवसायी महासंघका प्रदेश १ का अध्यक्ष राजन दंगालका अनुसार राज्यले ध्यान नदिने हो भने र होटल तथा लज व्यवसायीहरुको समस्या नबुझ्ने हो भने अरवौ लगानीको व्यवसाय चौपट हुनेछ । ठूलो लगानीमा खुलेका होटल तथा लजहरुको लगानी डुबेर ब्यवसायीहरु पलायन हुने खतरा रहेको उनले बताए ।
भाडामा लिएर चलाइएको होटल र त्यहीमाथि बंैकको ऋणको ब्याज तिर्न नसक्ने अवस्था हुँदा अब व्यवसाय छाडेर हिँड्नुको विकल्प के रहन सक्छ र ? दमकमा नै होटल ब्यवसाय गर्दै आएका दंगालले भने । होटलका कामदारहरुलाई तलव दिएर अहिले पनि राखिरहनु परेको छ र कोठाभाडा पनि तिर्नु परेको छ– उनले भने । बैंकले पनि ताकेता गर्न नछाडेको उनी बताउँछन् ।
प्रदेश १ मा २० अर्वको लगानी जोखिममा
होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश १ अध्यक्ष दंगालका अनुसार होटल क्षेत्रमा यहाँ २० अर्वभन्दा बढीको लगानी रहेको छ ।
पछिल्लो समयमा थप सुविधासम्पन्न होटलहरुले अझ धेरै लगानी गरे तर उनीहरु अहिले जोखिममा रहेका छन् । होटलहरु पूर्णरुपमा बन्द हुँदा यो सबै लगानी जोखिममा परेको दंगाल बताउँछन् ।
ऋण गरेर चलाइएका होटलहरु यत्रो समय नचल्दा व्यवसायीहरु अब कसरी उठ्न सक्ने अवस्था रहन्छ ?– दंगालले भने । ठूला तथा मझौला गरी ९ हजार ४ सय होटलहरु प्रदेश १मा रहेको पनि जनाइएको छ । दैनिक घाटामात्र २५ करोडभन्दा बढीको रहेको छ– दंगालले भने ।
१० हजार मजदुरको बिचल्ली
होटल व्यवसाय ठप्प रहँदा यहाँ कार्यरत् १० हजार मजदुरको बिचल्ली हुने अवस्था छ । होटलका मजदुर तथा कर्मचारीहरुलाई कति दिनसम्म तलब दिएर राख्न सकिन्छ र ?– दंगालले प्रश्न गरे ।
आधा भन्दा बढी त बैकल्पिक कामको खोजीले यस क्षेत्रबाट पलायन भइसकेको पनि उनले बताएका छन् ।































