नमूना सडक महिना दिनमै सयौं खाल्डो

0
677

विनोद पाण्डे, चारपाने।

इलाम सूर्योदय नगरपालिकास्थित कन्याममा बनाइएकोे नमूना चार लेनको कालोपत्रे सडक सयौं ठाउँमा खाल्डो परेको छ । सडक निर्माण गरिएको एक महिना बित्दानबित्दै टलक्क टल्किएको सडक खाल्डैखाल्डोमा परिणत भएको हो ।

ठूला सवारीसाधन नचलेकै अवस्थामा भत्किन शुरु भएको सडक ठूला मालवाहक र यात्रुवाहक सवारी चल्न थालेपछि सडक झन् भत्किन थालेको हो । त्यसैगरी भत्किने क्रम हो भने अबको एक महिनाभित्र कन्याममा हुस्सुसँगै धुलो पनि उड्ने निश्चित रहेको स्थानीयको भनाइ छ ।

कोभिडका कारण कडा निषेधाज्ञा जारी गरिएको थियो, त्यही बेला इलामको सूर्योदय नगरपालिका र सडक डिभिजन कार्यालय भने पूर्वको एक पर्यटकीय गन्तव्य कन्यामलाई अझ सजाउन व्यस्त रह्यो । कन्याममा भएको यो कामप्रति धेरैले सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए । यस बर्षको निषेधाज्ञा अघि र पछि कन्याम पुगेर वा सञ्चारमाध्यम, सामाजिक सञ्जालबाट कन्यामको परिवर्तनलाई देख्नेहरु आश्चर्य नै परेका थिए ।

सम्पन्न मुलुकको विकासभन्दा कमको विकास होइन भन्दै नागरिकले खुलेरै प्रशंसा गरे, सोही बखत मन थाम्न नसकेर लकडाउनकै बीचमा प्रहरीलाई छल्दै धेरैजना कन्यामको विकास हेर्न पुगेकाहरुले सामाजिक सञ्जालमा फोटो, भिडियो पोष्ट गरेका थिए । सञ्चारमाध्यमहरुले पनि प्राथमिकताका साथ कन्यामको नयाँ विकासलाई स्थान दिएका थिए ।

संघीय सरकारसँगको सहकार्यमा मेची राजमार्गलाई फराकिलो बनाउँदै सौदर्यीकरण गरेपछि कन्याम निकै आकर्षक देखिएको छ । सूर्याेदय नगरपालिकाको अवधारणा अनुसार नगरको पहलमा डिभिजन सडक कार्यालयले कन्यामको मेची राजमार्ग फराकिलो बनाउन थालिएको हो । तर, सौन्दर्य थप्ने काम सम्पन्न भई नसक्दै यसरी सडक भत्किएको देखेर कन्याम पुगेका पर्यटकहरुले ‘सडक निर्माणमा ठूलै भ्रष्टचार भएछ’ भनेर विस्मत मान्दै यस्तो कमसल काम गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्ने विचार व्यक्त गर्ने गरेका छन् । अहिलेको अवस्थामा कन्यामको सडकलाई हेर्दा सामान्य मानिसले पनि यसो भन्न बाध्य हुन्छ । किनकि कालोपत्रे बाटो एक–दुई महिनाको लागि मात्र बनाइँदैन ।

मेची राजमार्ग अन्तर्गत कन्याममा ट्राफिक संकेत लाइनले सौन्दर्य थपेको छ । सडकको छेउ–भित्तामा रंगरोगन गरिएको छ । ठाउँ–ठाउँमा सोलारबत्ती समेत राखिएको छ । तर, खाल्डामा जमेको पानी र हिलोले कालोपत्रे सडक हिल्लामे बन्न थालेको छ । केही ठाउँमा बालुवाले पुरेर खाल्डो छोप्ने प्रयास गरिएको छ । तर, बर्षाको कारण बालुवा बगेर जाने गरेकाले खाल्डोमा जमेको पानीले सडक भत्काउन अझ मद्दत गरिरहेको छ ।

यो सडक डिभिजन कार्यालय अन्तर्गत ठेक्का लागेर निर्माण गरिएको होे । तीन बर्षअघि नै ठेक्का सम्झौता भएको काम हाल आएर पहिलो चरणको काम सकिएको छ । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले भने– ‘यस बर्ष बर्षा शुरु भएपछि काम गरिएकाले कालोपत्रे सडक कमसल भएको कारणले बनिइनसक्दै भत्किन गयो, निर्माण कम्पनीले पुनः निर्माण गर्ने भनेको छ । तर, हामीले नै तत्काल काम नगर्न भनेका छौं । आगामी असोज कात्तिकतिर गर्मी शुरु भएछि भत्किएको सडक मर्मत गराउने छौं ।’

पहिलो चरणमा सडक निर्माणको लागि डिभिजन कार्यालय मार्फत करिब १० करोड रुपैयाँ खर्च भएकोे प्रमुख राईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here