काम नसकी एक करोड खर्च

0
751

पार्थ मण्डल, झापा।

दक्षिणी झापाको कचनकवल गाउँपालिकाले भवन निर्माण कार्य सम्पन्न नगरी प्रदेश सरकारको बजेट खर्च गरेको खुलेको छ ।

१ नम्बर प्रदेश सरकारको समपूरक अनुदानमा अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा कचनकवल गाउँपालिकालाई राजवंशी समाज विकास समितिको भवन निर्माणका लागि एक करोड बजेट विनियोजन भएको थियो । तर, गाउँपालिकाले निर्माणको काम सम्पन्न नहुँदै प्रदेश सरकारको एक करोड बजेट खर्चमा तानिसकेको पाइएको छ ।

प्रदेश लेखा इकाई कार्यालय झापाको तथ्याङ्क अनुसार गाउँपालिकाले जेठ महिनासम्ममा ६६ लाख ६७ हजार खर्च गरेको थियो भने असार महिनामा ३३ लाख ३३ हजार खर्च गरेको देखिएको छ । सरकारको खर्चसम्बन्धी नियम अनुसार कुनै पनि स्थानीय तहले फ्रिज भएको रकम साउन ७ गतेसम्म फिर्ता गर्नुपर्ने प्रावधान रहेको प्रदेश लेखा इकाई कार्यालय झापाका कर्मचारी राम आचार्यले जानकारी दिए । तर, गाउँपालिकाले असारमा खर्चमा हुन नसकेको फ्रिज रकम अहिलेसम्म फिर्ता गरेको देखिँदैन । शुक्रवारसम्म गाउँपालिकाले प्रदेश लेखा इकाईमा आएर फ्रिज भएको रकम फिर्ता नगरेको आचार्यको भनाइ छ ।

यता गाउँपालिकाले खर्च भएको रकम फ्रिज भएको दाबी गर्दै आएको छ भने प्रदेश लेखा इकाई कार्यालयको तथ्याङ्कमा नदेखिएपछि गाउँपालिकाको यस्तो अपारदर्शी कामप्रति स्थानीय स्तरबाटै विरोध शुरु भएको छ ।
स्थानीय हरि बस्नेतका अनुसार भवन निर्माण कार्यमा गाउँपालिकाका प्राविधिक पक्षले ठूलै आर्थिक चलखेल गरेको आरोप लगाएका छन् । ‘प्रदेश लेखा इकाईको तथ्याङ्क हेर्दा गाउँपालिकाले सबै रकम आफ्नो खातामा ल्याइसकेको देखिन्छ’– उनले भने– ‘कामै पूरा नगरी कसरी रकम गाउँपालिकाका खातामा रहिरह्यो, फ्रिज हुने रकम अझै किन फिर्ता भएन ।’ घटना बाहिर आएपछि अहिले गाउँपालिका फ्रिज रकम फिर्ता गराउने चलखेलमा लागिसकेको उनको भनाइ छ । ‘भवनको कूल लागत ८३ लाख हो, गाउँपालिकाले १६ लाख फ्रिज भएको दाबी गर्दै आएको छ, प्रदेश सरकारकै बजेटबाट भवन बन्ने हो भने गाउँपालिकाको ३० लाख कहाँ गयो ? फ्रिज रकम १६ लाख कहाँ छ ? उनले भने ।

यता नेपाल तरुण दल झापा क्षेत्र नम्बर ३का सभापति खड्गबहादुर लिम्बूले भवन निर्माणमा चरम भ्रष्टाचार भएकोले अविलम्ब छानबिन गर्न माग गरेका छन् ।

भवन निर्माणको काम गुणस्तरहीन भएको आरोप लगाउँदै उनले भने– ‘निर्माणस्थलमा दुई नम्बरी इँटा प्रयोग भइरहेको छ, यसको अनुगमन कसले गर्ने हो ?’ ‘भवनको बजेट ८३ लाख हो भने प्रदेश सरकारको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत छुट्टिनुपर्ने हो’– उनले भने– तर असारसम्मको पर फारकको अवस्था बुझ्दा त्यस्तो देखिँदैन ।

यता प्रदेश सरकारको एक करोड र गाउँपालिकाको ३५ लाख गरी एक करोड ३४ लाख ३५ हजार १४८ रुपैयाँ बराबरको इस्टीमेट रकम तोकेर गाउँपालिकाले २०७७ साल कार्तिक २० गते कचनकवल–३स्थित आमबाडीमा बन्ने राजवंशी समाज विकास समितिको भवन निर्माणका लागि टेन्डर आव्हान गरेको थियो ।

त्यसपछि भवन निर्माणका लागि २० वटा फर्मले दर्ता गराएका थिए । त्यसमध्ये नेपाल पूर्वाधार एण्ड सप्लायर्स बागडोग–४ काठमाडौँले ठेक्का पारेका थिए । सप्लायर्सले भ्याटसहित सो ठेक्का ८३ लाख ५४ हजार ८६ रुपैयाँमा लिएको गाउँपालिकाका इञ्जिनियर अमित ढुङ्गानाले बताए । टेण्डर स्वीकृतिका लागि सात दिनको आशयका सूचना पुस ९ निकालेको र माघ ९ गते सप्लायर्ससँग निर्माण सम्झौता भएको इञ्जिनियर ढुङ्गानाले बताए । डेढ तले भवन असार २५ गतेसम्म सम्पन्न गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ ।

तर, निर्माण कम्पनी सञ्चालक टेकबहादुर श्रेष्ठले कोभिडको कारण देखाउँदै एक महिना म्याद थप गरेको गाउँपालिकाका योजना अधिकृत केशव मैनालीले बताए । गाउँपालिकाको साझेदारीमा निर्माण कार्य भएकोले गाउँपालिकाको बोर्ड बैठकले साउन २५ गतेसम्म म्याद थपेको उनको भनाइ छ । असार २५ गतेसम्म भवनको हिसाब फरफारक गर्दा ६६ प्रतिशत काम सम्पन्न भएको इञ्जिनियर ढुङ्गानाले बताए । निर्माण कम्पनीले पेश्की रकम १६ लाख ५० हजार र पहिलो किस्ताबापत २३ लाख ४ हजार ९ रुपैयाँ लगिसकेको छ । दोस्रो किस्ताका लागि २५ लाख ३१ हजार माग गरेको उनले बताए ।

त्यति भएपछि असार २५ गतेसम्म निर्माण कम्पनीले ४८ लाख ३१ हजार र ९ लाख पेस्की कट्टी गरी ५७ लाख ६० हजार पाउनु पर्ने देखिन्छ । त्यही प्राविधिक प्रतिवेदन लेखा शाखालाई बुझाएको उनले बताए । गाउँपालिका लेखा अधिकृत मनमोहन सिग्देलले अहिलेसम्म निर्माण कम्पनीले पेस्कीसहित ३९ लाख ५४ हजार लगिसकेको बताए । प्रदेश सरकारको एक करोड बजेटमध्येबाट १६ लाख ४५ हजार ९१४ रुपैयाँ बजेट फ्रिज भएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here