राजकुमार पोखरेल ।
आषाढ पूर्णिमालाई गुरु पूर्णिमा किन भनियो ? हिन्दू, जैन, शिख र बौद्ध सम्प्रदायका मानिसले आजका दिन गुरुलाई पूजा गर्ने प्रचलन किन चलाए होलान् ? तर, आजकल यो बिषयलाई समाज र राज्यले महत्व दिँदैन ? यो एउटा महत्वपूर्ण प्रश्न हो । तर, यो प्रश्न कसैले गर्न चाहँदैन । यो प्रश्नलाई कसैले गम्भीरतापूर्वक लिएको पनि देखिँदैन ।
कस्तो बिडम्बना । हामीलाई समृद्ध नेपाल र सुखी नेपाली चाहिँ चाहिन्छ । तर, यो कसरी सम्भव हुन सक्छ र यसका लागि मुख्य आधारशीला के हुन् भनेर त्यसतर्फ भने गम्भीर बन्दैनौं । हामी नबुझेर त होइन होला । कुनै स्वार्थका कारण अनभिज्ञ झैं बनेका छौं । बिज्ञापनहरुमा रड, सिमेन्ट, जस्तापाताले नेपाललाई समृद्ध बनाउँछौं भन्छन् ।
सरकार बिदेशीको मुख ताक्छ । तर, नेपाललाई समृद्ध बनाउने दायित्व नेपालीको नै हो । जब सम्म नेपाली जनता शिक्षित हुँदैनन्, तबसम्म नेपालमा बिकास सम्भव छैन । नेपाल मात्र होइन , जनता शिक्षित नभइ संसारको कुनै पनि देश समृद्ध बन्न असम्भव छ । जब नेपालीहरु शिक्षित बन्लान्, तब नेपाल समृद्ध बन्ला । जब नेपाली शिक्षित बन्लान्, तब मात्र सुखी बन्लान् । यसरी शिक्षाको महत्वलाई बुझ्न नसकेका कारण नेपालमा जति नै परिवर्तनहरु भए पनि राजनीतिक अस्थिरता हट्न सकेको छैन । शिक्षा, ज्ञान र सिपको महत्व बुझेको भए गुरु पूर्णिमा दशैंभन्दा महत्वपूर्ण चाड बन्ने थियो । किनकि जनतालाई ज्ञान र सिप कलायुक्त बनाउने काम त गुरूहरुले मात्र गर्न सक्नु हुन्छ ।
गुरु त्यो दियो हो, जसले आफू जलेर अरुलाई उज्यालो प्रदान गर्दछ । गुरु त्यो त्यागको मूर्ति हो , जसले आफूले जानेको ज्ञान, सिप अरुलाई खुशी साथ बाँडिदिन्छ, हस्तान्तरण गरिदिन्छ । गुरुहरु त मरेर गइरहेका छन् । ज्ञान त अझ चम्किलो बनी रहेको छ । झन् ताजा भएर जीवित छ । यसरी हेर्दा शरीरधारी गुरु त माध्यम मात्र रहेछन् । केवल एक साधन । साध्य त ज्ञान र सिप नै रहेछ । यसैले गुरु पूर्णिमाको महत्व भनेको ज्ञान र सिपको महत्व हो । ज्ञान र सिपलाई अभिव्यक्त गर्न शरीरधारी गुरु बिना असम्भव हुन्छ । साधनको पूजा गरेर मात्र साध्य प्राप्त गर्न सकिन्छ भन्ने कुरा हाम्रा अग्रजहरुले बुझ्नु भएको थियो । यसैले गुरु पूर्णिमाका दिन गुरुहरुको पूजा गर्ने प्रचलन चलाएको भन्न सकिन्छ । हाम्रो समाजमा पढाउने, ज्ञान दिने, शिक्षा दिने मानिसलाई मात्र गुरु भन्ने गरिँदैन ।

सिप र कला सिकाउनेलाई पनि गुरु भनिन्छ । मार्शल आर्टका खेलाडीहरुले आफ्नो प्रशिक्षकलाई गुरु भनेर बोलाउने गरेको जो कोहीले सुनेका छौं । त्यसैगरी संगीत, नृत्य, खेल वा कुनै कला सिकाउने मानिसलाई पनि गुरु भनेर सम्बोधन तथा आदर सम्मान गर्ने गरिन्छ । गाडीको ड्राइभरलाई खलासीले गुरु भनेको झनै प्रशस्त सुनेका छौं । खलासीलाई गाडी कुदाउन सिकाउने काम ड्राइभरले गर्ने भएकोले नै गुरु भनेको हो । आजकल ड्राइभरलाई यात्रुहरुले पनि गुरु मात्र होइन गुरुजीनै भनेर बोलाउने चलन छ । राजनीतिमा पनि मलाई राजनीति सिकाउने गुरु भनेर हामी आफ्ना अग्रजलाई मान्ने प्रचलन छ । यसरी हरेक क्षेत्रमा गुरु हुनैपर्छ ।
मानव जीवनमा हामीले अहिलेसम्म जे जति बिषयहरु जान्न सकेका छौं, त्यो कसैको सहयोगमा मात्र सम्भव भएको हो । जसले हामीलाई सिकायो , उहाँ नै हाम्रा गुरु हुनुहुन्छ । यसरी हेर्दा गुरु शब्द मानव जीवनमा सबै भन्दा महत्वपूर्ण शब्द हो । गुरु बिनाको मानिसको जीवन पद्धतिको परिकल्पना पनि गर्न सकिँदैन । त्यसैले गुरुको महत्वलाई बुझेर नै गुरुको पूजा गर्नुपर्छ भन्ने मान्यताको बिकास भयो । आषाढ पूर्णिमालाई नै गुरु पूर्णिमा मान्नुको तात्पर्य चाहिँ महर्षि व्यासको जन्म दिन भएकोले हो । व्यासलाई हामीले हाम्रो पहिलो गुरु मानेकोले उहाँको जन्म दिनलाई महत्व दिइयो ।
महर्षि व्यास तिनै व्यक्ति हुनुहुन्छ, जसले श्रुति परम्पराबाट आएको वेदलाई चार भागमा बिभाजित गरि दिएर बुझ्न सरल बनाई दिनुभयो । मानव जातिलाई नै उपयोगी श्रीमद्भागवत गीता जस्तो ज्ञान, कर्म र भक्तिको बाटोबाट जीवनमा सफलता प्राप्त गर्न कर्मशील जीवन पद्धति बाँच्न सिकाउने अमूल्य दर्शन दिनुभयो । यसैले उहाँलाई आदर्शवान गुरुको रुपमा मानेर उहाँका जन्मदिनको पावन दिनलाई गुरुको पूजा गर्ने परम्परा शुरु भयो । महर्षि वेद व्यासप्रति हार्दिक नमन । ज्ञान र सिपलाई बाँडेर मानव जातिलाई सम्बृद्ध बनाउने संसारका सबै महान गुरुहरुमा हार्दिक नमन ।
बिर्तामोड–४, झापा

























