जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन निर्माणको अन्तिम चरणमा

0
1271

झापा ।

१ नम्वर प्रदेश सरकारको सहयोगमा निर्माण शुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन निर्माणको अन्तिम चरणमा पुगेको छ ।

२०७६ साल जेठ ९ गते श्रृङ्खला निर्माण सेवा प्रालि नुवाकोटसँग सम्झौता गर्दै ट्राफिक प्रहरीका लागि भवन निर्माणको काम अघि बढाइएको थियो । एक करोड ८८ लाख ८५ हजार ५ सय ७७ रुपैयाँ ९८ पैसाको लागतमा भवन निर्माण शुरु गरिएको थियो । बिर्तामोडस्थित मुक्ति चौक उत्तर सानो र साँघुरो घरबाट ट्राफिक प्रहरीले अहिले सेवा दिँदै आएको छ । सानो र साँघुरो घरबाट सेवा प्रवाह गर्न असहज भएको भन्दै तत्कालीन ट्राफिक प्रहरी निरीक्षक राजेश राईले ट्राफिकको नयाँ भवन निर्माणका लागि प्रक्रिया अघि बढाएका थिए ।

भवन निर्माणका लागि १ नम्वर प्रदेश सरकारले एक करोड ८८ लाख रुपैयाँ प्रदान गरेसंगै बिर्तामोड नगरपालिकाले अनारमनी–३ स्थित बिर्ताजबजार उत्तरमा उपलब्ध गराएको ६ कठ्ठा जमिनमा भवन निर्माणका लागि तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शिलान्यास गरेका थिए । तर, उक्त स्थानमा ट्राफिक प्रहरीका लागि भवन निर्माण गर्न असहज हुने भएसँगै इलाका प्रहरी कार्यालय अनारमनी नजिकै रहेको यान्त्रिक कार्यालयको जमिन व्यवस्थापन गर्दै सो स्थानमा ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण शुरु गरिएको थियो ।

तत्कालीन ट्राफिक प्रहरी प्रमुख होम अधिकारीको पहलमा यान्त्रिक कार्यालयको ६ कठ्ठा जमिन ट्राफिक प्रहरीका लागि व्यवस्थापन गर्दै सो स्थानमा भवन निर्माण शुरु गरिएको थियो । जमिन व्यवस्थापनका लागि तत्कालीन जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनाली र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होम अधिकारीले यान्त्रिक कार्यालयसंग जमिन माग गर्दै ट्राफिक प्रहरीका नाममा यान्त्रिक कार्यालयको जमिन उपलब्ध गराएका थिए ।

आधुनिक र सुविधासम्पन्न ट्राफिक प्रहरीको भवन निर्माण गर्ने उद्देश्य अनुसार अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माणकै चरणमा छ । भवन निर्माणको काम सकिएपछि अहिले रङ्गरोगन र अन्य काम भइरहेको बताइएको छ । ट्राफिक प्रहरी भवन निर्माणका लागि प्रदेश सरकारले उपलब्ध गराएको रकम पर्याप्त भए पनि थप व्यवस्थापनका लागि झण्डै ५० लाख रुपैयाँ अपुग देखिएको छ । कम्पाउण्ड वाल, भवन आसपासको जमिन पुर्न र गेट निर्माणका लागि मोटो रकम आवश्यक पर्ने भएसंगै रकमको जोहो गर्न ट्राफिक प्रहरीलाई अहिले हम्मे–हम्मे परेको छ ।

पाँच वटा भवन निर्माणकै चरणमा

जिल्लाका विभिन्न स्थानमा नेपाल प्रहरीका लागि पाँच वटा भवन निर्माणाधीन छन् । प्रदेश सरकारकै सहयोगमा निर्माणाधीन अवस्थामा रहेका प्रहरीका भवन समेत निर्माणको अन्तिम चरणमा रहेको जिल्ला प्रहरी कार्यालय झापामा प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

प्रहरी उपरीक्षक भट्टराईका अनुसार अहिले जिल्लामा ट्राफिक प्रहरीको भवनसहित इलाका प्रहरी कार्यालय कुमरखोद, घैलाडुब्बा, काँकरभिट्टा, कोहोबरा र सीमा प्रहरी चौकी केचनामा प्रहरी भवन निर्माणाधीन छन् । निर्माणाधीन सबै भवन निर्माणको अन्तिम चरणमा रहेको र हस्तान्तरणको तयारी भइरहेको छ । प्रदेश सरकारबाट प्राप्त वजेटले कार्यालय भवन, मेस, शौचालय र सेफ्टी ट्याङ्की निर्माण गरिएको छ । भवन निर्माण सम्पन्नसँगै प्रहरीका लागि बस्न, कार्यालय सञ्चालन गर्न सहज हुने बताइएको छ ।

जिल्लामा निर्माणाधीन प्रहरी कार्यालयका भवन २०७७ साल जेठ भित्र निर्माण सम्पन्न गरिसक्ने सम्झौता भए पनि कोभिडका कारण निर्माणका ढिलाई भएको निर्माण व्यवसायीले बताउँदै आएका छन् । झापामा निर्माणाधीन भवन मध्ये दुई करोड ३५ लाख ८७ हजार ६ सय २८ रुपैयाँको लागतमा इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी भवन निर्माणाधीन अवस्थामा छ ।
त्यस्तै २ करोड ३३ लाख १३ हजार ६ सय ९३ रुपैयाँको लागतमा इलाका प्रहरी कार्यालय घैलाडुब्बा , २ करोड ८३ लाख ३४ हजार ६ सय ४९ रुपैयाँको लागतमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा, १ करोड २६ लाख २ हजार ८ सय १२ रुपैयाँको लागतमा कोहोभरा र १ करोड ६३ लाख ७५ हजार ५ सय एक रुपैयाँको लागतमा सीमा प्रहरी चौकी केचनाको प्रहरी भवन निर्माणाधीन अवस्थामा छन् ।

संयोजकमा सुवास भट्टराई

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ भवन निर्माण सम्पन्न हुन लागेसँगै थप व्यवस्थापनका लागि स्थानीयवासी सक्रिय भएका छन् ।

भवन निर्माण सम्पन्न भएसंगै ट्राफिक प्रहरी नयाँ भवनमा सर्ने भएपछि ट्राफिक प्रहरीका लागि भवन आसपासको जमिन होचो भएकाले त्यहाँ माटो पुर्न, कम्पाउण्ड वाल लगाउन र गेट निर्माण गर्न स्थानीयले नै चासो देखाएका हुन् । सो कामका लागि झण्डै ५० लाख रुपैयाँ आवश्यक पर्ने भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जिल्लाका सरोकारवाला निकाय, समाजका लब्धप्रतिष्ठित व्यक्ति, व्यवसायी र आम नागरिकबीच सोमवार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

सोही कार्यक्रमकाबीच बिर्तामोडका व्यवसायी सुवास भट्टराईको नेतृत्वमा सात सदस्यीय समिति गठन भएको छ । गठित समितिले ट्राफिक प्रहरीका लागि नयाँ भवनमा कम्पाउण्ड वाल लगाउने, भवन वरिपरिको होचो भू–भाग पुर्दै पेवर्स बिच्छ्याउने र गेट निर्माण गर्ने निर्णय गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका ट्राफिक प्रहरी निरीक्षक निशेष चापागाँईले बताए ।

ट्राफिक प्रहरीका लागि भवन निर्माण गर्न प्रदेश सरकारबाट रकम आएपनि थप काम गर्न वजेट अभाव थियो– ट्राफिक प्रहरी निरीक्षक चापागाँईले भने– हामीले यस विषयमा के गर्न सकिएला भन्दै यहाँका लब्धप्रतिष्ठित व्यक्ति, व्यवसायी र आम नागरिकबीच छलफल बोलाएका थियौं । छलफलकै बीच उक्त काम हामी गर्ने भन्दै भट्टराईजीको नेतृत्वमा सात सदस्यीय समिति स्वतःस्फूर्त रुपमा गठन भएको हो ।

गठित समितिमा प्रविण पोखरेल, नवीन गट्टानी, केदार गिरी, शेरवहादुर थापा, स्वस्तिका आचार्य, र मदन गोपाल सुब्बा सदस्य रहनुभएको छ– प्रहरी निरीक्षक चापागाँईले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here