सागरको जन्मोत्सवमा पत्रकार महासंघलाई सहयोग

0
729

बिर्तामोड ।

इलाममा जन्मेर झापाको बिर्तामोडमा विभिन्न व्यवसायमा संलग्न सागर रिजालले आफ्नो जन्मोत्सवको अवसर पारेर शनिबार पत्रकार सहारा उपचार कोषलाई पाँच हजार एक सय पाँच रुपैयाँ प्रदान गरेका छन् ।

इलाममा जन्मेर अध्ययनको सिलसिलामा झापामा झरेका रिजालले केही समय सञ्चार क्षेत्रमा नै काम गरेका थिए । सामुदायिक रेडियो सरगम र रेडियो सनराइजमा करिब दुई वर्ष काम गरेर उनी वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका थिए । विदेशबाट फर्किएर ब्यवसाय शुरु गरेका रिजालले हरेक वर्ष आफ्नो जन्मोत्सवमा सामाजिक सेवाका काम गर्दै आएका छन् । उनी युनिकम नेपालमा समेत आवद्ध रहेका छन् ।

यसैक्रममा आफूपनि पूर्व सञ्चारकर्मीभएको र पत्रकारको काम राम्रोसंग बुझेको भन्दै जन्मोत्सवको शुभ अवसरमा झापाली पत्रकारहरुको हितमा योगदान गर्न आफूले रकम प्रदान गरेको उनले बताएका छन् । महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीका अनुसार कोषमा हाल ४५ लाख रुपैयाँ जम्मा भइसकेको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ । आफूले झैं अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृको स्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने रिजालको भनाई छ ।

महासंघ झापा शाखाले संघ–संस्था, सहकारी, बैंक, दाता सबै क्षेत्रलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ । कार्यक्रममा महासंघका उपाध्यक्ष केशव भट्टराई, पत्रकार महासंघ झापाका सदस्य रश्मिशेखर सुवेदी, मिडिया एक्सन नेपालका प्रदेश संयोजक एवम् स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष नरेन्द्र ढकाल लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here