विष्फोटक पदार्थ धन्दाको खुलासा: भारतबाट ल्याइएको विष्फोटक पदार्थ काँकरभिट्टाबाट यसरी पुग्दैछ पश्चिम नेपालसम्म

0
460

नरेन्द्र ढकाल, बिर्तामोड ।

खुल्ला सीमानाको फाइदा उठाउँदै भारतका विभिन्न स्थानबाट विष्फोटक पदार्थ नेपाल भित्रिने गरेको खुलासा भएको छ ।

पूर्वी नाका काँकरभिट्टा हुँदै पश्चिम नेपालसम्म विष्फोटक पदार्थ पुग्ने गरेको रहस्य खुलेको हो । गत माघ १८ गते विष्फोटक पदार्थ फेला परेसँगै झापा प्रहरीले अनुसन्धानलाई तीब्रता दिएको थियो । सोही क्रममा विष्फोटक पदार्थ नेपाल भित्र्याउने व्यक्ति म्याग्दीबाट पक्राउ परेसँगै विष्फोटक पदार्थ पश्चिम नेपालसम्म पुग्ने गरेको तथ्य खुलेको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जिल्ला प्रहरी कार्यालय झापाले बुधबार पत्रकार सम्मेलन गरेर पक्राउ परेका व्यक्तिका बारेमा जानकारी गराएको हो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी काँकरभिट्टाको टोलीले २८ वर्षीय चिरण रोका मगरलाई माघ २१ गते म्याग्दीबाट पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेका रोका मगर म्याग्दीको रुमस्थित मालिका गाउँपालिका–२ का बासिन्दा हुन् । उनले पश्चिममा ढुंगा उत्खनन्का लागि विष्फोटक पदार्थ लगेको बयान प्रहरीलाई दिएका छन् । रोका मगरले यसअघि तीनपटक विष्फोटक पदार्थ नेपाल भित्र्याएको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ । उनले ०७२, ०७४ र ०७५ सालमा नेपोलाइट र डेटोनेटर नेपाल भित्र्याएका थिए । त्यसबेला पनि भारतको दार्जीलिङमा ६ महिनासम्म जेल परेका थिए भने काँकरभिट्टामा पक्राउ परी धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार रोका भारतको मेघालय राज्यको सिलोङ्गको कोइलाखानीमा काम गर्ने मजदुर हुन् । उनले नेपोलाइट र डेटोनेटर प्रतिसेट भारतीय ३५ रुपैयाँमा खरिद गरी पश्चिम नेपालको ढुंगाखानीका ठेकेदारलाई तीन हजार पाँच सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको प्रहरीलाई बयान दिएको बताइएको छ । माघ १८ गते मोचीनगर–७ गैरीगाउँमा बालुवामा गाडिएको अवस्थामा सशस्त्र प्रहरी बलको टोलीले ८० वटा डेटोनेटर र ९१ वटा नेपोलाइट एक्सप्लोसिभ बरामद गरेको थियो । रोक्काले एक जना स्थानीयलाई सिटी रिक्साको व्याट्री भनेर विष्फोटक पदार्थ नेपाल भित्र्याउने प्रयास गरेका थिए । तर, स्थानीयले शंका लागि खोलेर हेर्दा तारहरु देखेपछि सशस्त्र प्रहरीलाई खबर गरेका थिए । उनी विष्फोटक पदार्थ बोकेर १२ माघ पंकज सर्भिसको बस चढेर शिलगढीसम्म आएको जनाइएको छ ।

झापामा ‘हिमाल सुरक्षा परिषद्’ नामक भूमिगत समूहले दुई वटा शंकास्पद वस्तु राखेर स्थानीयलाई त्रसित बनाइरहेका बेला मेचीनगरमा ८० वटा डेटोनेटर र ‘नेपोलाइट एक्सप्लोसिभ’ लेखिएको विस्फोटक पदार्थ ९१ वटा बरामद भएको थियो । त्यही आधारमा बरामद विष्फोटक पदार्थ पनि भूमिगत समूहले ल्याएको हुनसक्ने आशंका गरिएको थियो । तर, प्रहरी अनुसन्धानले बरामद विस्फोटक पदार्थ भारतको कोइलाखानीमा काम गर्ने मजदुर रोका मगरले ल्याएको भेटिएको छ ।

कहिले–कहिले के गरे रोकाले ?

रोकाले यसअघि पनि पटक–पटक विष्फोटक पदार्थ नेपाल भित्र्याउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको जनाइएको छ । २०७२ सालमा भारतको मेघालय राज्य सिलोङको कोइलाखानीमा काम गर्न गएका उनले फर्किने क्रममा एक सय ५० थान नेपोलाइट र एक सय ५० थान डेटोनेटर प्रतिसेट ३५ रुपैयाँ भारुमा खरिद गरेको अनुसन्धानबाट खुलेको छ ।

उनले म्याग्दीको रुम र बागलुङको तारा खोला, खोला खर्कका ढुंगा खानीका ठेकेदारलाई प्रतिसेट आठ सय रुपैयाँका दरले बिक्री गरेका थिए । त्यस्तै २०७४ सालमा पनि सिलोङबाट ५० सेट नेपोलाइट र डेटोनेटर खरिद गरी म्याग्दीको रुमको एक ढुंगा ठेकेदारलाई एक हजार रुपैयाँका दरले बिक्री गरेको खुलेको छ । रोका २०७५ साल चैत्र ११ गते सिलोङबाट विष्फोटक पदार्थ नेपोलाइट र डेटोनेटर चार सय सेट खरिद गरी ल्याउने क्रममा भारतको पश्चिम वंगाल राज्य दार्जीलिङको पानीट्यांकीमा भारतीय प्रहरीको चेकजाँचका क्रममा एक सय ३५ थान डेटोनेटर र दुई सय एक थान नेपोलाइटसहित पक्राउ गरी शिलगढी कारागारमा छ महिनासम्म जेल परेका थिए ।

उनको ५० जान डेटोनेटर र एक सय ९९ थान नेपोलाइट अर्को झोलामा सोही मितिमा काँकरभिट्टा भन्सार गेट नजिकै काँकरभिट्टा प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको र उनी झापा जिल्ला अदालतबाट ३० हजार धरौटीमा छुटेका थिए । त्यस्तै २०७८ साल माघ ११ गते म्याग्दीबाट पोखरा हुँदै भोलिपल्ट काँकरभिट्टा झरेको र भारत हुँदै मेघालय राज्यको सिलोङसम्म पुगेर उनले तीन हजार भारतीय रुपैयाँमा ८० थान नेपोलाइट र ९१ थान इलेक्ट्रिक डेटोनेटर ल्याएर माघ १८ गते नेपाल प्रवेश गरेका थिए ।

उनले स्थानीय रिक्सा चालकलाई प्रयोग गरेर उक्त विष्फोटक पदार्थ नेपाल भित्र्याउने प्रयत्न गरे पनि सशस्त्र प्रहरीले उक्त विष्फोटक पदार्थ बरामद गरेको थियो । विष्फोटक पदार्थ प्रहरीलाई अनुसन्धानका लागि बुझाएसँगै जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी काँकरभिट्टा र १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी शाखाले अनुसन्धानलाई तीव्रता दिएसँगै संघीय प्रहरी इकाइ कार्यालय गण्डकी, पोखराको सहयोगमा उनलाई पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक पाठकले जानकारी दिए ।

बम काण्डमा अझै अलमलमा प्रहरी

गत माघ ९ गते झापाको बिर्तामोडमा एकाबिहानै एउटा प्रेसर कुकर बमजस्तो वस्तु भेटियो । सेनाले निष्क्रिय पारेको उक्त वस्तुमा बम बनाउन प्रयोग हुने पदार्थ भेटिएको नेपाली सेनाले जनाएको छ । सोही वस्तु भेटिएको स्थानमा हिमाल सुरक्षा परिषद्को नामको पर्चा पनि प्रहरीले फेला पारेको थियो ।

उक्त पर्चामा नेपाललाई हिन्दूराज्य कायम गरिनुपर्ने, संघीयता खारेज गरिनुपर्ने लगायतका कुरा उल्लेख थियो । त्यसको केही दिनपछि दमकमा पनि बमजस्तो देखिने वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेको थियो । प्रहरीले बम जस्तो बस्तु होक्स राखेर तर्सउन खोजेको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता पाठकले बुधबारको पत्रकार सम्मेलनमा भने– बिर्तामोड र दमकमा भएको घटनाको विषयमा अनुसन्धान गर्दैछौं । ठोस् उपलब्धि अझै फेला परेको छैन् । उनले मेचीनगरमा भेटिएको विष्फोटक पदार्थ ल्याउने ब्यक्ति र बिर्तामोड र दमकमा आतंक सिर्जना गर्ने समूहबीच कुनै सम्बन्ध नरहेको बताए ।

प्रहरीले हिमाल परिषद् नाम भूमिगत समूहको विषयमा अझै केही संकेत फेला पार्न सकेको छैन् । प्रहरीले अनुसन्धानलाई असर पर्ने भन्दै सूचना गोप्य बनाउने प्रयत्न गरे पनि अनुसन्धानमै खटिएका प्रहरीबाट सूचना बाहिरिँदा पत्रकार सम्मेलनमा डीएसपी पाठकले पटक–पटक पत्रकारलाई आश्वस्त पार्ने प्रयत्न गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here