थोरै लगानीमा गर्न सकिन्छ पेट्रोलियम गाडीलाई इलेक्ट्रीकमा रुपान्तरण

0
684

सरकारले प्रस्तुत गरेको बजेट मार्फत पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रुपान्तरण गरेमा पाँच वर्षसम्म सडक निर्माण तथा सम्भार दस्तुर र नवीकरण शुल्क छुट दिने घोषणा गरेको छ । यो घोषणासँगै कसरी यस्ता सवारीसाधनलाई इलेक्ट्रिकमा रुपान्तरण गर्न सकिन्छ भन्ने चासो समेत शुरु भएको छ ।
विशेषतः शोसल मिडिया गु्रपमा आफ्नो गाडी परिमार्जन गर्न चाहने मानिसहरुले विभिन्न क्रिया–प्रतिक्रिया जनाइरहेका छन् । २० वर्ष पुराना गाडीलाई सरकारले धेरै कर लगाउने भएको कारण पनि मानिसहरुले पुराना गाडीलाई इलेक्ट्रीकमा बदल्न चाहेका छन् ।

यदि तपाईले पुरानो गाडी किनेर इलेक्ट्रीक बनाउने योजना बनाउनु भएको छ भने करिब १० लाख रुपैयाँसम्म खर्च गर्दा विद्युतीय गाडी बनाउन सकिन्छ । हाल सानो सीसी क्षमताका गाडीलाई यसरी इलेक्ट्रिकमा परिवर्तन गर्न सकिन्छ । खासगरी टाटा नानो जस्ता गाडी हाल त्यतिकै बसिरहेको अवस्थामा यस्ता गाडीलाई पनि प्रयोग गर्न सकिन्छ । अहिले बजारमा छ लाख रुपैयाँसम्म हाल्ने हो भने पुरानो मारुती ८००, डाइहात्सु कोर, डेयू मार्टिज, सेभ्रोले स्पार्क, टोयोटा कोरोला, निसान सन्नी जस्ता कारहरु किन्न सकिन्छ । यी कारलाई इलेक्ट्रीकमा सजिलै कन्भर्ट गर्न सकिन्छ । सरकारले गत आर्थिक वर्षदेखि नै पुराना कारलाई इलेक्ट्रीकमा कन्भर्ट गर्न आवश्यक पाटर्सहरुको आयातमा ० देखि १ प्रतिशत मात्रै भन्सार लिने व्यवस्था गरेको छ । त्यसैले यस्ता पाटर्सहरु ल्याउँदा धेरै राजश्व तिर्नु पर्दैन ।

महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रदेखि अन्य विभिन्न वर्कसपले गाडी कन्र्भट गर्ने सुविधा दिन थालेका छन् । लाखौं रुपैयाँ खर्चेर ल्याएका गाडी २० वर्षपछि त्यसै फ्याक्ने गरिएको छ । यसलाई इलेक्ट्रीकमा रुपान्तरण गरेको खण्डमा अर्को १० वर्ष बिना प्रदुषण चलाउन सकिन्छ भन्ने मान्यता सरकारले पनि राखेर नयाँ नीति लिएको बुझ्न कठिन छैन ।

आवश्यक मुख्य सामग्री

गाडीको डाइमेन्सन र ग्राहकको डिमान्ड अनुसार इलेक्ट्रिक कम्पोनेन्ट फिट गर्न सकिन्छ । ग्राहकले चाहे अनुसारको रेन्ज दिने ब्याट्री र मोटर फिट गर्न सकिन्छ । यसरी पुराना कारलाई इलेक्ट्रीकमा परिमार्जन गर्न चाहिने मुख्य सामग्री मोटर, ब्याट्री र विभिन्न वायरहरु हुन् । गाडीको अन्य पार्टसमा खासै ठूलो परिमार्जनको आवश्यकता पर्दैन ।

सामान्यतयाः यस्ता कारलाई इलेक्ट्रीकमा कभर्रट गर्दा १३ देखि २५ किलोवाट आवरको ब्याट्री प्रयोग गर्नुपर्ने हुन्छ । यसरी प्रयोग गरिने ब्याट्रीलाई अगाडि इञ्जिन भएको स्थानमा राख्न सकिन्छ । विद्युतीय गाडीमा इञ्जिनको आवश्यकता नपर्ने भएकाले उक्त स्थान खाली गरेर ब्याट्रीका सेल सुरक्षित तरिकाले राख्न सकिन्छ । साना मारुती ८०० साइजका कारमा २० किलोवाट क्षमताको मोटर नै उपयुक्त हुने इञ्जिनियरहरु बताउँछन् । हलुका र सानो साइजका कारमा दिइने १३ किलोवाट आवरको ब्याट्रीले एक पटकको फूल चार्जमा १०० किलोमिटरभन्दा बढी रेञ्ज दिने कम्पनीहरुको दाबी छ ।

भित्री भागलाई आधुनिक बनाउन सकिन्छ

यस्ता पुराना कारलाई इलेक्ट्रीकमा परिमार्जन गरेसँगै ड्यासबोड, स्टीयरिङ ह्वील, सिट लगायत परिमार्जन गरेर आधुनिक बनाउन सकिन्छ । अहिले कारमा हुने इन्फोटेन्टमेन्ट सिस्टम, रिभर्स क्यामेरा लगायतका फिचरहरु यी पुराना मोडलका कारमा सजिलै हाल्न सकिन्छ ।

वारेन्टी समेत उपलब्ध

इलेक्ट्रीक गाडी जस्तै यसरी रुपान्तरण गरिएका गाडीमा पनि कम्पनीहरुले वारेन्टी दिन सक्छन् । इलेक्ट्रीक गाडी जस्तै यसको ब्याट्री, मोटर र कम्पोनेन्टमा वारेन्टी उपलब्ध हुन्छ । ब्याट्रीमा पाँच वर्षको वारेन्टी हुन्छ । सामान्य अवस्थामा तीन वर्षको वारेन्टी उपलब्ध गराएको पाइन्छ । बरु गुणस्तरीय ब्याट्री उपलब्ध गराएर अलि बढी मूल्य लिएरै भए पनि पाँच वर्षको वारेन्टी लिन सकिन्छ । मोटर र कन्ट्रोलरमा एक वर्षको वारेन्टी हुन्छ । कतिपय कम्पनीहरुले मोटरमा तीन वर्षसम्म वारेन्टी पनि दिने गरेका छन् ।

यस्तो छ अनुमानित खर्च

अहिले अन्तर्राष्ट्रिय बजारमा ब्याट्रीको मूल्य प्रति किलोवाट ब्याट्रीको मूल्य दुई सय ५० डलरसम्म रहेको छ । अधिकतम् मूल्य दुई सय ५० डलरको हिसावले ल्याउँदा पनि १५ किलोवाट आवरको ब्याट्रीको खर्च छ लाख हाराहारी पर्छ । चार लाख ५० हजार रुपैयाँ पर्छ ।

त्यसवाहेक मोटर, वायर लगायतका अन्य पार्टस् आयात र यहाँ बनाउने खर्च तीन लाख लगाउने हो भने उत्कृष्ट इलेक्ट्रीक कार बन्नेछ । पुरानो गाडी किनेर इलेक्ट्रीक बनाउँदा पनि करिब १२ लाख हाराहारी मात्रै खर्च लाग्नेछ ।

पहिले यसरी गाडीहरुलाई रुपान्तरण गरेर चलाउनका लागि आवश्यक स्वीकृति दिने व्यवस्था थिएन । गाडीधनीहरुले आफ्नै तरिकाले रुपान्तरण गरी कर तिरेर चलाउने गरेका थिए । अब सरकारको नयाँ नीतिले भने यसमा सहज भएको छ । तर यो कार्यका लागि विशेष मापदण्ड निर्माण गर्नु आवश्यक छ । रोड सेफ्टी र अन्य विभिन्न पक्षलाई समेत मनन गरी सरकारले एउटा टिमको निर्माण आवश्यक छ । अटोमोबाइल व्यवसायी र गाडीधनीहरु समेत यसका लागि हौसिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here