प्रमको भ्रमण र अपेक्षा

0
648

मित्रताका छ वटा लक्षण हुन्छन्– भनिएको छ । मित्र बनाउन, मित्रता कायम राख्न चाहने ती गुण वा कडीहरु दिनु–लिनु, भन्नु–सोध्नु, खानु–खुवाउनु हुन् । अर्थात् मित्रता दोहोरो मित्रभाव हो, त्यो मित्रलाई आवश्यक पर्दा दिने, आफूलाई पर्दा लिने, अन्तरका कुरा सुनाउने–सोध्ने र खुवाउने–खाने बराबरी तहमा हुनु पर्छ । यो विषय वा गुण व्यक्तिमा मात्र होइन दुई संस्था, दुई देशका बीच पनि हुने गरेको छ र हुनुपर्छ । यस्तै हार्दिक तथा मित्रभाव रहेका हाम्रा दुई देश छन् एउटा उत्तरतिरबाट छोइएको चीन र बाँकी तीनतिरबाट छोइएको भारत । यी दुई छिमेकी देशसँग नेपालको सद्भावपूर्ण, कुटनीतिक सम्बन्धभन्दा माथि प्राचीनकालदेखि नै अत्यन्त निकटको सम्बन्ध थियो र आज पनि कायम छ ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहले भने जस्तै नेपाल दुई ढुंगाबीचको तरुल हो । भूगोल, जनसंख्या, स्रोत र साधनले ठूला ढुंगा भनिएका देशहरुसँग यदाकता असमझदारी र विवाद हुन्छन्, भएका छन् जो अस्वभाविक पनि होइन । त्यसमा पनि पूर्व, पश्चिम र दक्षिणतर्फ सीमाना जोडिएको भारतसँग सीमा सम्बन्धी विवाद रहेको छ । ब्रिटिस इण्डियासँगको युद्ध सुगौली सन्धिपछि टुंगिए पनि त्यसको शर्तले उत्पन्न गरेको विवादले अहिले पनि नेपाल र भारतकाबीच ‘खटपट’ हुने गरेको छ । किरातकालदेखि नै व्यापारिक लगायतका सम्बन्ध कायम रहेको भारतले पछिल्लो समय नेपाली भूमिमाथि अतिक्रमण गरेर विवाद खडा गर्ने गरेको छ । सुस्ता, महेशपुर हुँदै दक्षिणी सीमाना र पश्चिमको काली पारिको लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रको अतिक्रमण स्वतन्त्र राष्ट्रको सार्वभौम अधिकारमाथिको हस्तक्षेप नै हो । यही विवादले झण्डै–झण्डै संवाद शून्यता रहेको यी दुई देशका बीचका विवाद समाधान गर्न सरकारले अग्रसरता लिने मात्रै होइन निरुपण नै गर्नुपर्छ ।

यही परिस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवा अहिले नयाँ दिल्लीमा छन् । पचास सदस्यीय ‘जम्बो’ प्रतिनिधिमण्डलका साथ त्यहाँ पुगेका प्रम देउवा उच्चस्तरीय भेटघाट र वार्तामा छन् । प्रम देउवाको यो भ्रमण विद्यमान विवादको निरुपणमा केन्द्रीत र सफल भयो भने जम्बो टोलीको खर्चिलो यात्रा निश्चित रुपले सुखद् हुन सक्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत पुगेका प्रधानमन्त्री देउवाको यो भ्रमणले विद्यमान सीमा विवादका अतिरिक्त सहयोग आदान–प्रदान, सडक, जलविद्युत्, रासायनिक मलखाद जस्ता नेपाली जीवनसँग प्रत्यक्ष जोडिएका समस्याको समाधान पनि खोज्नुपर्छ । विगतका सन्धिको पुनरावलोकन तथा असमान बुँदाहरुको खारेजीसम्मका उपलब्धी भयो भने भ्रमण झनै सफल मानिने छ । बिग्रिएको दुई देशकाबीचको सम्बन्ध पुनः जागृत गर्न भ्रमण सफल होस्, नेपालको छवि अझै उज्यालियोस्, सहयोग र सहकार्यको प्रवाह सहज र निरन्तर होस् शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here