दिपेश राजवंशी
बैशाख , बैशाख १ गतेबाट सुरु भएको सिरुवा, १ गते जल, २ गते काद हिलो हुदै आज ३ गते रंग सिरुवा संगै यस बर्षको सिरुवा पर्व विधिवत रुपमा समापन हुदैछ।
नेपालमा मात्रै नभई भारतको बङ्गाल, बिहार, र आसाममा समेत यो पर्व उच्च मनोबल र हर्षोल्लासका साथ मनाइन्छ। आदिवासी युवाहरु आफ्नो सस्कार सस्कृती नै जोखिममा रहेकोले पछिल्लो समय गाउँ गाउँमा युवाहरुले सङ्गठित रुपमा सिरुवा कार्यक्रम आयोजना गरि सिरुवा खेल्नुको साथै सास्कृतिक कार्यक्रम पनि आयोजना पनि गर्ने गरेका छन् । यस बर्ष पनि १ गते देखि नै काठमाडौ लगायत राजवंशी समुदायको बसोबास रहेको नेपालको विभिन्न स्थानमा सिरुवा कार्यक्रम आयोजना भएको छ।
झापा मोरङ र सुनसरीमा बसोबास गर्ने राजवंशी, ताजपुरिया, गनगाइ, माझी धिमाल लगायत अन्य केही आदिवासी समुदायहरुले बैशाख १,२,३ गते मनाउने सिरुवा पर्वले यतिबेला पुर्वी जिल्ला झापा,मोरङ र सुनसरीमा छुट्टै रौनकता छाएको छ ।
सिरुवा राजवंशी, ताजपुरिया,गनगाइ, माझी लगायत केही आदिवासी समुदायले मनाउने विभिन्न चाडपर्वहरु मध्ये प्रमुख चाड हो । राजवंशी भाषामा सिरुवाको शाब्दिक अर्थ हुन्छ सबैभन्दा पहिले र सबैभन्दा ठुलो । सिरुवाको अर्को अर्थ होलि या लेपन गर्ने भन्ने पनि बुझिन्छ। अत राजवंशी समुदायमा वर्षको सुरुमा मनाइने र अफुले मनाउने सबैभन्दा ठूलो चाड नै सिरुवा भएकाले यसलाइ सिरुवा भनिएको जनविश्वास रहेको छ। राजवंशी भाषा तथा साहित्यका जानकार बार्हदर्सी गाउँपालिका वडा न. ५ निवासी खड्ग राजवंशीका अनुसार सिरुवा हरेक वर्षको शुरूवातसंगै मनाइन्छ। यो पर्व १,२ र ३ गते मनाइन्छ। पहिलो दिन विश्वा (जल सिरुवा), दोस्रो दिन काद (हिलो) सिरुवा र तेस्रो दिनमा रंग सिरुवा खेल्ने गरिन्छ। यो पर्व राजवंशी समुदायको मौलिक, धार्मिक र सास्कृतिक पर्व हो। यो पर्व हिन्दु सनातन धर्म र आयुर्वेद बिज्ञानसंग सम्बन्धि पर्व हो। सिरुवा पर्वले मानिसमा सकारात्मक सोचको बिकास संगै आपसी मेलमिलाप र भाइचारालाइ पनि प्रोत्साहन गर्दछ। सिरुवा पर्वलाई पुरानो बर्षको सुखद बिदाई र नयाँ वर्षलाई स्वागत गर्दै एक आपसमा शुभकामना आदनप्रदान अनि घर, देवी देवाताको स्वस्तिशान्ती गर्ने पर्वको रुपमा मनाइन्छ।
बैशाख १ गते, बिश्वा ( जल सिरुवा)

सिरुवाको पहिलो दिन बैशाख १ गते तथा बाङ्ला पात्रो अनुसार चैत्र मसान्तको दिनलाई बिश्वा वा जल सिरुवा भनिन्छ । भद्रपुर १० निवासी ७० वर्षिया वृद्धा छोहरी राजवंशी भन्नुहुन्छ, “ बाङ्ला पात्रो अनुसार वर्षको अन्तिम दिन नयाँ बर्षलाइ स्वागत गर्नै लाग्दा यश बर्ष दुःख, कष्ट, रोग अनि सम्पुर्ण दोषहरु असै बर्ष पखालिएर जाउन र नयाँ बर्षमा ती सबै नदोहोरिउन भनेर छरछिमेक, इष्टमित्र, र परिवारजन बिच एक आपसमा जल अर्थात पानी छ्यापेर प्रतिकात्मक रुपमा बरुण देवको पुजा गरिन्छ। जल सिरुवाको शरिरमा पानी छ्याप्दा यसले शरीरमा शितलता प्रदान गर्नुको साथै शरीरका सम्पुर्ण बिकारहरु पखालिने र परिवारमा बरुण देवको सधै कृपा रहने बिश्वास जनमानसमा रहेको पाइन्छ। जल सिरुवाकै दिन राजवंशी समुदायभित्र आफ्नो घर गोठको चाल ( छानो) र ढोका माथी लसुन प्याज झुन्डियाउने चलन रहि आएको छ । राजवंशी समुदाय सनातन हिन्दु धर्म अन्तर्गत खत्रिय ( क्षेत्रि) बर्गमा पर्दैछन् । धार्मिक ग्रन्थका अनुसार पौराणिक कालमा पर्शुराम ऋषिले क्षेत्रिहरुले सगोल बंश बिनाश गर्नको लागेका थिए र यसबाट बच्नको लागि यो समुदायमा आफ्नो घर गोठमा लसुन प्याज बाध्ने चलन शुरु भएको किम्बदन्ती छ । यसै दिन बेलुका सात किसिमको सागसब्जिहरु मिसाएर सागसागी पकाइन्छ जुन भोलिपल्ट बिहान ( बाङ्ला १तारिख, नेपाली २गते) खाने चलन छ । यसलाइ चैतेर नान्हा बैसाखत भन्ने पनि गरिन्छ। यसरी विभिन्न सागसब्जी मिसाएर खाने गर्नाले पेटको सम्पुर्ण बिकार र रोगबाट मुक्ती मिल्ने बिश्वास रहेको छ।
बैसाख २ गते काद (हिलो) सिरुवा
सिरुवाको अर्को महत्वपुर्ण दिन भनेको दोस्रो दिन अर्थात काद सिरुवा हो । यो नेपाली पात्रो अनुसार २ गते मनाइन्छ । राजवंशी भाषा साहित्यका जानकार तुलाराम राजवंशीका अनुसार, राजवंशी समुदाय आफुलाइ यस धर्तिको सन्तानको रुपमा स्वीकार्छन् । मानव शरीर यहि माटो र पानीले बनेको छ । यहि धर्तीमा आफ्नो पसिना र श्रम दिएपछी धर्ती माताले आफुहरुलाइ जिवित राख्न गाँस बास र कपास दिन्छिन् ।त्यसैले धर्ती अर्थात माटो संग हाम्रो प्रगाढ सम्बन्ध छ ।
माटो प्रतिको यस्तै आस्थाका कारण काद सिरुवाको दिन सम्पुर्ण राजवंशी समुदायभित्र माटोमा पानी हालेर हिलो बनाइ एक अर्काको शरिरमा माटो लगाइ शुभकामना आदनप्रदान गर्ने प्रचलन छ । काद अर्थात हिलो खेल्नुको पछाडी बैज्ञानिक कारण पनि रहेको छ । शरीरमा माटो लेपन गर्दा, यसले शरीरभित्रको बिकारहरु सोस्ने र विभिन्न किसिमका छाला रोगहरुबाट छुट्कारा पाउने बिश्वास रहेको छ । जसलाई आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिले पनि प्रमाणित गरिसकेको छ । काद सिरुवाले आपसी बैमनस्यताको अन्त्य गर्दै मित्रताको गाठो अझ कसिलो पार्ने बुझाइ आम आदिवासी समुदायमा रहेको छ। यसैदिन राजवंशी महिलाहरु साझपख नजिकै रहेको जलाशयमा भेला भई तिस्ताबुरी माताको पुजाआरधाना गर्ने गर्दछन् ।
यसलाई कतै तिस्ताबुरी त कतै घाटोसरी पनि भन्ने गरिन्छ । तिस्तबुरीको तयारी करिब एक महिना अगाडी देखीनै थाल्छन् राजवंशी महिलाहरु । तिस्ताबुरी माताको महिमा संगै महिलाहरु एकआपसमा ठट्यौली शैलीका गित गाउछन् जसलाई भेदेखेली गान भनिन्छ । भेदेखेली गान गाउदै महिलाहरु घर घर गई चामल या अन्य कुनै अन्न संकलन गर्ने चलन छ । यसरी भदेखेली गान गाउदै काद सिरुवाको दिन जलासय पुगेका महिलाहरु आफ्नो परिवार छरछिमेक ईस्टमित्रको सुस्वास्थ्य एवम् मंगल कामना गर्दै तिस्ताबुरी माताको पुजा गर्छन् । यस पश्चात प्रसादको रुपमा लगिएको काचो दुध चना अदुवा, लसुन र अठिया केरा एक आपसमा साट्ने गरिन्छ । जसलाई आलाई बालाई पनि भनिन्छ । आलाईबालाई गर्दा चना अदुवा लसुन केरा आदि चपाएर कुल्ला गरिन्छ । यसो गर्दा मुखको दुर्गन्ध हट्नुको साथै मुख सम्बन्धि रोगहरु हट्ने विश्वास पनि रहि आएको छ । अन्त्यमा महिलाहरु तिस्ताबुरी मातालाई छाता ओढाएर भगवान ईन्द्र संग खेतीपातीलाई राम्रो पानीको प्राथना गर्ने गर्दछन र यहि दिन बाट राजवंशी समुदायमा छाता खोढ्ने सुरुवात हुन्छ ।
बैशाख ३ गते रंग सिरुवा
सिरुवाको अन्तिम दिन अर्थात बैशाख ३ गतेका दिन रंग सिरुवा मनाईन्छ । झापा मेचीनगर ११ की दया राजवंशीका अनुसार यस दिन राजवंशी समुदायका सबै उमेर समुहका मानीसहरु अत्यन्तै हर्स र उत्शाहका साथ एक आपसमा आत्मियता प्रेम र सद्भावका साथ बिभिन्न रंगहरु लगाई दिएर रंग सिरुवा मनाउने गर्दछन् । यति मात्र नभई राजवंशी समुदायभित्र सिरुवा पर्व मनाउने छुटै शैली छ । यसका लागी बिभिन्न मौलीक सांस्कृतीक गित नाच प्रस्तुत गर्दै आपसी सद्भावका साथ सिरुवा खेलिन्छ । जस्तै सास्तरी गान, नाट्वा नाच, लाहांकारी गान जस्ता लोक गितहरु प्ुार्ण रुपमा सुसज्जित नर्तकी र बाजागाजा सहित मनाउने परम्परा छ । सामाजिक, धार्मिक सांस्कृतिक महत्व बोकेको पर्व दिन प्रतिदिन लोप हुने अवस्थामा पुगीरहेको छ । राजवंशी समुदायका बयोवृद्धहरु बिगत र बर्तमानमा सिरुवालाई नियाल्दा आकास जमिानको फरक अनुभुती गर्ने गर्दछन । पहिले गाउभरिका महिलाहरु एक ठाउमा भेला भई महिना दिन अगाडी देखीनै सिरुवाको तिस्ताबरी माताको भेदेखेली गित गाउदै हिड्थे । बास्तवमै पश्चिमा संस्कृती नेपालमा हाबि भैरहेको छ । जसलेगर्दा समय संगै मौलिक चाडपर्वहरु माथी बिदेसी चाडपर्वहरु हाबि हुदा हामीले नचाहदा नचाहदै पनि नया पुस्ताका युवायुवतीलाई पश्चिमा संस्कृतीबाट अछुतो राख्न सकेका छैनौ । सांस्कृतीक विविधता झल्काउने यस्ता मौलिक चाडपर्वहरुलाई संरक्षण र प्रवर्धन गर्नु हामी सबेको दायित्व हो ।






























