बिराटनगर ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले दुई जना प्रहरी कर्मचारीहरुलाई चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।
विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी दमक तथा इटहरीमा बिष्फोटन जन्य पदार्थहरु राखेर नागरिकलाई आतंकित बनाउने समुहलाई पक्राउ गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्ने प्रदेश प्रहरी कार्यालयको आरआइटी समुहमा कार्यरत प्रहरी सहायक निरीक्षक ज्ञानु खड्का र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी हवल्दार गुणराज अधिकारीलाई २०७८ साल चैत्र “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।
पुरस्कृत प्रहरीद्धयले व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लिन रहेर उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै माघ ९ गते झापाको विर्तामोड बस स्टेण्डमा, १३ गते, दमक शिवान चर्चमा “हिमाल सुरक्षा परिषद” का पर्चाहरु सहित सर्वसाधारणलाई त्रसित बनाउन बिष्फोटक पदार्थ प्रेसर कुकर बम राखेको र चैत १४ गते सुनसरीको इटहरी उपमहानगरपालिका वडा–२ स्थित अमित श्रेष्ठको घर कोठामा अन्यत्र बिष्फोटन गराउने उदेश्यले विष्फोटक पदार्थ लुकाई छिपाई राखेको अवस्थामा विष्फोट भएको घटना सम्बन्धमा अनुसन्धानबाट खुलेका मुख्य योजनाकार तथा संलग्न व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।
आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले १ नं प्रदेश प्रहरी कार्यालय, विराटनगर दरबन्दी भई आइआरटी समुहमा कार्यरत प्रहरी सहायक निरीक्षक खड्का र इलाका प्रहरी कार्यालय झापा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी हवल्दार अधिकारीलाई सम्पादित कार्यको उच्च मुल्याङकन गर्दै २०७८ साल चैत्र “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेशभरका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आइएको छ ।





























