विनोद सापकोटा
शिवगञ्ज,
स्थानिय तहको निर्वाचनमा आफ्ना पार्टीको उम्मेदवारलाई असहयोग गरेको भन्दै झापाको शिवसताक्षीमा नेपाली कांग्रेसका नेता कार्यकर्ता कारबाहीमा परेका छन् ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ५ को स्थानिय समितिले वडाका १२ जना नेता कार्यकर्तालाई पार्टीको साधरण सदस्य समेत नरहने गरि कारबाही गरेको वडा समितिले जनाएको छ । वडा समितिका सभापति राकेश राजबंशीको अध्यक्षतामा सोमबार बसेको बैठकले पार्टीका उम्मेदवारलाई असहयोग गरेको पुष्टी भएका ति नेता कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको हो ।
सो वडामा नेपाली कांग्रेसले पदम थापालाई वडा अध्यक्ष पदमा उम्मेदवार बनाएको थियो । तर, पार्टीका कृयाशिल सदस्यले आफु इतर दलका उम्मेदवारलाई खुलेर सहयोग गरेको प्रमाण फेला परेको कारण त्यस्ता नेता कार्यकताको पार्टी क्रियाशिल सदस्यता खोसिएको नेपाली कांग्रेस शिवसताक्षी नगरको ५ नम्बर वडा समितिले जनाएको छ ।
गएको स्थानिय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई खुलेर असयोग गर्ने नेता कार्यकर्तालाई कारबाही गर्ने नगरमा वडा नम्बर ५ पहिलो बनेको छ । सो समितिले पार्टीको नगरका मेयर उपमेयर पदका उम्मेदवारलाई पनि असहयोग गरेको पाइएकोले कारबाही गरेको जनाएको छ ।
वडा सभापति राजबंशीका अनुसार टंकप्रसाद मैनाली, अमृत वहादुर कटुवाल, सतानुशिंह राजबंशी, रतनलाल साह, कर्णप्रसाद ताजपुरिया, सन्तोष शाह, खड्ग प्रसाद ताजपुरिया, चित्र गिरी, सूर्य नारायण शिंह राजबंशी, नागेश्वर राजबंशी, महेन्द्र ताजपुरिया र उदय भानु शाहलाई वडा समितिले कारबाही गरेको छ ।
सो समितिले बैठकको निर्णय नगर समितिलाई पठाउने र उपल्ला समितिलाई सिफारिसको बोधार्थ दिने वडा अध्यक्ष पदका प्रत्यासी पदम थापाले बताए । वडा समितिले बोलाएको बैठकमा समितिका अधिकांस पदाधिकारी, सदस्य, क्षेत्रीय प्रतिनिधि र वडाका क्रियाशिल सदस्य सहभागि थिए ।
यता नगरमा हाइप्रोफायल भएका कांग्रेस नेतालाई पनि पार्टीले कार्वाही गर्ने नेपाली कांग्रेस शिवसताक्षी नगरले जनाएको छ । स्थानिय तहको निर्वाचन अगावै कांग्रेस बाहेकको पार्टीबाट बिभिन्न पदमा उम्मेदवारी दिने, उम्मेदवारलाई असहयोग गरि अन्य राजनीतिक दलका उम्मेदवारलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने नेता कार्यकर्ता लाई कारबाही गर्ने तयारी भएको नगर प्रमुखका प्रत्यासी पर्शुराम ढुँगानाले बताए ।
वडा नम्बर ८ बाट याम बुढाथोकी र रुद्रमणी भट्टराई, वडा नम्बर ११ बाट छत्रबाबु ओझा, वडा नम्बर ६ बाट चन्द्रमणी पौडेल, सन्तोष इजम र वडा नम्बर ४ बाट रुद्र सिटौलालाई पार्टीले कार्वाही गर्ने नगर समितिले जनाएको छ । ‘उहाँहरु बैसाख ३० को स्थानिय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलबाट उम्मेदवार भएकाले र अन्य पाटीका उम्मेदवारलाई सहयोग गरेकाले कार्वाही गर्ने तयारी भएको हो, ढँुगानाले भने ।
यस्तै पार्टीका अन्य स्थानिय नेता तथा कार्यकर्ता पनि प्रमाणका आधारमा कार्वाहीमा पर्ने नेपाली नेपाली कांग्रेस शिवसताक्षीले जनाएको छ ।
यस्तै वडा नम्बर १,२,४, ६, ८, १० र ११ बाट पनि गएको स्थानिय तहको निर्वाचनमा असयोग गर्ने पार्टी भित्रका असहयोगीलाई कार्वाही गर्ने तयारी भइरहेको नेपाली कांग्रेसले जानकारी दिएको छ । पार्टीको जिम्मेवार पदमा बस्ने, असहयोग गर्ने, पार्टी भित्रको गुटगत राजनीतिमा सक्रिय हुनेलाई यसरी नै कारबाही हुने पार्टीका नगर सदस्य झमकवहादु गौतमले बताए । उनले भने, ‘पार्टी भित्र बसेर बाहिर सहयोग गर्ने हो भने त्यस्ता राजनीतिक चरित्र भएकाले एक मिनेट पनि नेपाली कांग्रेसमा बस्नु अपराध हो ।’






























