बैवाहिक बर्षगाँठको अवसरमा अपाङ्ग बृद्धालाई व्हील चियर प्रदान

0
517

लक्ष्मीपुर । 

झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ का गिरी दम्पतीले आफ्नो २५ औं बैवाहिक बर्षगाँठमा गरिने फजुल खर्च कटाएर एक अपाङ्ग बृद्धालाई व्हील चियर प्रदान गरेका छन् ।

अर्जुनधारा–५ का गिरी दम्पती राजु गिरी र उनकी श्रीमती मिनादेवी गिरीले २५ औ बैवाहिक बर्षगाठको अवसरमा सवारी दुर्घटनामा परी दुवै खुट्टा गुमाएकी ६० बर्षिया दिलमाया राईलाई मंगलवार व्हील चियर बितरण गरेका हुन् ।

विवाह बर्षगाठमा गरिने फजुल खर्च एउटा अपाङ्गलाई सहयोग गर्न पाउँदा धेरै खुसी र मनमा शान्ति महसुस भएको गिरी दम्पतीले बताए । सवैले जन्मदिन, बैवाहिक बर्ष गार्ठ जस्ता उत्सवमा गरिने फजुल खर्चलाई अपाङ्ग असाहय, गरिवलाई सहयोग गर्नु पर्ने राजु गिरीले बताए । गिरीले अपाङ्ग बृद्धा राईलाई घरमै गएर व्हील चियर प्रदान गरेका हुन् ।

गिरी दम्पतीले बैवाहिक बर्षगाठमा गरिने फजुल खर्च एक अपाङ्गलाई व्हील चियर दिएर उदाहरणीय कार्य गरेको अपाङ्ग बृद्धा राईका भाई भिम राईले बताए । राईले समाजमा गिरी दम्पतीले जस्तै बिभिन्न उत्सवमा गरिने फजुल खर्चले अपाङ्ग, असाय, गरिवलाई सहयोग गर्ने हो भने समाज रुपान्तरणमा ठूलो सहयोग मिल्ने बताए ।

२ बर्षअघि बिर्तामोड–१ स्थित चारपाने छेउमा भएको ट्रक दुर्घटनामा परी दुवै खुट्टा काटिएपछि कान्छा छोरासँग शिवसताक्षी नगरपालिका–१ धरमपुरमा बस्दै आएकी बृद्धा राई हाल अर्जुनधारा–५ स्थित साइली छोरी मैना राईको घरमा बस्दै आएकी छिन् ।

दुवै खुट्टा काटिएपछि ओछ्यानमै बस्नु पर्ने बाध्यतालाई सम्झिदै बृद्धा राईले भनिन् ‘अहिलेसम्म हिडडुल गर्न मन लागे पनि सम्भव थिएन, तर, अव नाती नातिनाको सहयोगले व्हील चियरबाट यताउता हिडडुल गर्न सक्छु होला ।’ उनले व्हील चियर पाएपछि गिरी दम्पतीलाई आशिर्वाद दिदै धन्यवाद दिएकी छिन् । समाजमा सवैले राजु र मिनाको जस्तै सामाजिक भावना राखेर अरुको मद्धत गर्नु पर्ने अपाङ्ग बृद्धाले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here