बिर्तामोडमा सार्वजनिक शौचालयको सकस: होटल र संघ–संस्था शौचालय उपलब्ध गराउँदै

0
414

 

झापा, बिर्तामोडमा सार्बजनिक शौचालयको माग उठेको धेरै बर्ष भयो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले सार्वजनिक शौचालय बनाउने प्रमुख एजेण्डा लिएर निर्वाचनमा जित पनि हासिल गरे । तर, निर्वाचिन भएपछि सार्वजनिक शौचालयको विषय उनीहरुको प्राथमिकतामै परेन ।
अन्धुवा पुल किनारमा निर्मित सार्वजनिक शौचालय हटाएर उपयुक्त ठाउँमा शौचालय निर्माण गर्ने प्रतिबद्धता ठाउँको अभावमा पूरा हुन नसकेको बताउने नगरपालिकाका जननिर्वाचित प्रतिनिधिले पाँच वर्षको अवधिमा सिन्का पनि भाँचेनन् । हालै सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनताका पनि अधिकांश उम्मेदवारहरुको एजेण्डा स्वच्छ बिर्तामोड र शुलभ सार्वजनिक शौचालय भन्ने नै रह्यो । झापाको मुख्य आर्थिक कारोबारको केन्द्रको रुपमा परिचित बिर्तामोडमा एउटा पनि सार्वजनिक शौचालय बनाउन नसक्नु स्थानीय सरकारको अक्षमता हो ।
बिर्तामोडलाई यसअघि नै खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । तर, सार्वजनिक शौचालयको अभावमा यसको कार्यान्वयन हुन सकेको छैन । खानु सरहको अनिवार्य शौचका लागि सार्वजनिक शौचालय
नहुँदा काम विशेषले र हाट बजारका लागि बिर्तामोड आउने जनसाधारणले शौचका लागि घर नै पुग्नुपर्ने बाध्यता छ । त्यस्तै सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुहरु समेत बिर्तामोडमा सार्वजनिक शौचालय नहुँदा समस्यामा पर्ने गरेका छन् ।
जनसंख्या, व्यवसायिकता, आर्थिक कारोबार, पहाड र तराईको संगमका रुपमा समेत परिचित बिर्तामोड झापाको राजधानी सरह रहेको छ । विकासका अन्य पूर्वाधारहरु उपलब्ध भए पनि सार्वजनिक शौचालयको अभावमा यहाँ आउने जो कोहीले समस्या झेल्नुपरेको छ । यस विषयमा स्थानीय सञ्चार माध्यमहरुले पटक पटक आवाज उठाएका छन्, समस्या देखाएका छन्, तर, समाधानका लागि भने स्थानीय सरकार उदासिन देखिएको छ ।
उपयुक्त स्थानमा जग्गाको व्यवस्थापन गर्ने दायित्व स्थानीय सरकार बिर्तामोड नगरपालिकाको हो । बिर्तामोडका आसपासका सार्वजनिक जग्गाहरु राजनीतिक चलखेलकै कारण अतिक्रमणमा परेका छन् । बहुमुल्य निजी जग्गा खरिद गरेरै भए पनि सार्वजनिक शौचालय निर्माण गर्नु स्थानीय सरकारको जिम्मेवारी हो । तर, नयाँ नेतृत्वले पनि यस विषयलाई अहिलेसम्म प्राथमिकतामा राखेको छैन ।
बिर्तामोडमा सार्वजनिक शौचालयको बिकराल समस्या देखिए पनि पश्चिम बसस्ट्याण्ड दक्षिण रहेको सेन्टर पोइन्ट पार्टी प्यालेसले आफ्नो निजी शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग
गर्न दिएको छ । सार्वजनिक बसबाट ओलर्ने यात्रुका लागि शौच गर्न सहज होस् भन्दै पार्टी प्यालेसले सोमवारबाट शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिइएको पार्टी प्यालेसका सञ्चालक रितेन खरेललेबताएका छन् । काठमाडौं नगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले होटल तथा रेष्टुराँका शौचालयलाई
सार्वजनिक शौचालय बनाउने निर्णय गरेसँगै त्यसको प्रभाव झापामा पनि परेको हो । बालेनकै प्रेरणाबाट आफूले पनि आफ्नो पार्टी प्यालेसको शौचालय सर्वसाधारणका लागि खुल्ला गरेको खरेलको भनाइ छ ।
यता भद्रपुर रोडमा रहेको शिखर सहकारीले समेत आफ्नो शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिएको जनाएको छ । योसँगै अन्य संघ– संस्थाले समेत आफ्नो स्वामित्वमा रहेको शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्ने दिने तयारी गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here