
डा. बाबुराम भट्टराईको जीवन अनगिन्ती उतारचढाव र घुम्तीहरूले भरिएका छन् । चालिसको दशकपछि नेपालको राजनीतिलाई प्रत्यक्ष–परोक्ष प्रभाव पार्ने र मुलुक कै राजनीतिक मार्गलाई बदल्न बाध्य पार्ने उनका विचारहरू छिटो–छिटो बद्लिने र मानिसले सोचेभन्दा फरक ढंगले नयाँ अवसर र परिवेश निर्माण गर्दै अघि बढ्ने उनका गतिविधिले उनीप्रति अविश्वास झागिँदो छ र अब उनको भूमिका के हुने भन्नेमा जिज्ञासा पनि उत्तिकै छ । हिंसात्मक रूपमा सञ्चालित नेपालको माओवादी जनयुद्ध (२०५२–२०६२)को प्रमुख योजनाकार र निवर्तमान प्रधानमन्त्री डा.बाबुराम भट्टराई आज धेरै तिरबाट आक्रमणको निशानामा परेका छन् । उनीमाथि विचार छोडेको, संकीर्णता र जातीयता हावी भएको र मुलुकको नेतृत्व गर्ने विचार दिन नसकेको आरोप छ । हुन त नेपालमा जो पदमा छन् उनीहरूको पूजा गर्ने वा उनीहरूको कडा विरोध गरिने नेपाली परम्परा बनेको छ । हामी पहिला मानिसलाई धुरीमा चढाउँछौं, अनि लडाउँछौं धेरै अग्लो चुचुरोबाट । नेपालमा मानिसको देवत्वकरण गर्नुको प्रमुख उद्देश्य उसको दानवीकरण गर्ने पृष्ठभूमिको तयारी हो भन्दा हुन्छ ।
हामी नेपालीको सोच्ने शैलीमा पनि कमजोरी छ । मानिस देवताको रूप हुन सक्दैन, जसलाई पुजिन्छ, मानिन्छ र उसले कुनै गल्ती गर्दैन । हाम्रो चिन्तनमा समस्याको जड यहींनेर छ । डा. बाबुराम भट्टराई कुनै अलौकिक व्यक्ति होइनन् । उनलाई हामीले भगवानका लोकका अद्वितीय पुरुष भनेर उचाल्यौं र आज धर्तीमा भासिने गरी आलोचनाका सुइरा रोप्न कोशिस गर्छौं । लौकिक संसारमा राम्रा काम पनि हुन्छन् र जानेर वा नजानेर गल्ती कमजोरी पनि हुनु अत्यन्तै स्वभाविक हुन्छ । गोरखा जस्तो विकट ठाउँमा जन्मेर पनि पढाइमा अब्बल हुनु, २०२६ सालको एसएलसी परीक्षामा नेपालमै पहिलो विद्यार्थीको रुपमा उभिनु र आईएस्सीमा पनि नेपाल प्रथम हुनुले डा. भट्टराई सानैदेखि मेधावी विद्यार्थी रहेको पुष्टि हुन्छ । प्रतिभा सम्पन्न व्यक्तित्वको रूपमा नेपाली जनमानसमा चिनिएका भट्टराई माथि आज सबैतिरबाट आक्रमणका निशानाहरू सोझिएका छन् । उनीमाथि लागेको सबैभन्दा ठूलो आरोप उनी विरोधाभासमा बाँचिरहेका छन् भन्ने हो ।

एकातिर माक्र्सवादबाट दिक्षा लिएका र अर्कातिर आजको पुँजीवादी समाजसँग सम्झौता गरेर मात्र अघि बढ्न सकिने दोहोरो मारमा उनी परेको विपक्षीको मत छ । निश्चित समय र उमेर गुजारेपछि नेतृत्वको उपल्लो तहमा बस्नेहरूले सार्वजनिक जीवनबाट सन्यास लिनुपर्छ र उज्ज्वल भविष्यसहित प्रगतिपथमा अघि बढ्ने आकांक्षा बोकेको युवा पुस्तालाई मार्ग प्रशस्त गर्नु श्रेयस्कर हुने उनको तर्क छ । पदका निम्ति असैद्धान्तिक लुछाचुँडी गर्ने प्रवृत्तिका उनी आफू विरोधी भएको दाबी गर्छन् । उनमा क्रान्तिकारी स्पीरिटको ह्रास भएको उनको मातृ पार्टी माओवादी केन्द्रका नेता, कार्यकर्ताको सोच छ । वास्तवमा सही वैचारिक कार्यदिशाले मात्र पार्टी र क्रान्ति अघि बढ्ने होइन, त्यसको साथसाथै सोही अनुरूपको चुस्तदुरुस्त संगठनको जालो पनि चाहिन्छ ।
राजनीतिक दलहरूका आजका गतिविधिहरूले २०६२/०६३ को जनान्दोलनको र सारमा लोकतन्त्रको अपमान हुँदै गरेको नेपालीको बुझाइ छ । यो राम्रो कुरा निश्चय नै होइन । १५औं हजार शहीदको बलिदानी र लाखौं नेपालीहरुको रगत, आँशु र पसिनाको त्रिवेणीबाट सृजित गणतन्त्र जनहितमा हुनका लागि राजनीतिक दलका विचार, सोच र क्रियाकलाप जनमुखी, उदार र पारदर्शी हुन जरुरी छ । डा. भट्टराई भावी सन्ततिलाई लोकतन्त्र र गणतन्त्रसहितको समृद्ध नेपाल हस्तान्तरण गर्न सकियोस् भन्ने सदिच्छासहित आफूले विचार राखेको तर्क गर्छन् । मुलुक लुट्ने भ्रष्टहरूको भीडमा सादा जीवन र उच्च विचारका कारण उनलाई शहरिया मध्यमवर्ग र शिक्षित समुदायले मन पराएको साँचो हो, तर उनले केही गर्न नसकेको भनी समर्थक र शुभचिन्तकहरूको ठूलो पंक्ति उनीप्रति निराश भएको छ ।
एमाओवादी छोडेर नयाँ शक्ति नेपाल, संघीय समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टी हुँदै अब डा. भट्टराई राजनीतिको अर्को घुम्तीमा उभिन पुगेका छन् । निकट भविष्यमा जनता समाजवादी पार्टी (जसपा)मा विभाजन आउने स्पष्ट संकेत देखिएको छ । अब उनको गन्तव्य के हुन्छ ? केही दिनअघि काठमाडौंमा भएको एक कार्यक्रममा उनले समाज विज्ञानले पनि नयाँ–नयाँ प्रयोग गर्दै अगाडि बढ्ने बताएका छन् । हिंसात्मक अतीत विरासतमा लिएर आएको शक्तिभित्र उदार माओवादी भनी बाहिरी संसारले उनलाई चिनेकाले पनि उनको लोकप्रियता बढेको तर अहिले अवस्था बद्लिएको छ । दश वर्षअघि जस्तो उनका धेरै समर्थक र विरोधीहरू आज छैनन् ।
अन्तर्राष्ट्रिय रुपमा बौद्धिक नेताको छवि बनाएका नेपाल सरकारको अर्थमन्त्री र प्रधानमन्त्री समेत भइसकेका डा. भट्टराईको विद्धता, प्रज्ञा र विशेषज्ञताको उपयोग हुन सकेन र अब हुने सम्भावना पनि कम छ भन्ने आम बुझाइ छ । उनी चर्चामा आउनु स्वभाविक भए पनि उनीमाथि लागेका सबैखालका आलोचनाहरूको प्रकृति, तिनको प्रभाव र ती आलोचनाभित्र लुकेका मनसायप्रति सतर्क रहनु उनको कर्तव्य हो । विरोधीहरूको कडा आलोचनाले उनको छवि धुमिल भएको र उनको लोकप्रियतामा ह्रास आएको निष्कर्ष निकालिएको छ । आफ्नो पक्ष हो वा होइन भन्ने आधारमा मात्र कुनै व्यक्ति मन पर्ने हुने वा नहुने मानक मान्ने नेपाली परिपाटी घातक र प्रत्युत्पादक छ । डा. भट्टराईको आलोचना पनि कुनै ठोस आधारमा गरिएको भन्दा पनि विरोधका लागि गरिएको विरोध जस्तो मात्र देखिन्छ ।
डा.भट्टराई माथि गरिएको अर्को कडा आलोचना भनेको उनले कम्युनिष्ट दर्शन छोडेर मधेशवादी, जातीयतावादी सोचमा पुगे भन्ने छ भने कतिपय चाहिँ उनको माओवादी दर्शनले लैस भएको दिमागबाट कम्युनिष्टको छाप जान सकेन भन्ने छ । नयाँ दिल्ली स्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) बाट विद्यावारिधि गरेका भट्टराईको स्कूलिङ कम्युनिज्मबाट भएको देखिन्छ । तर, उनी अहिले साम्यवादले सबै कुराको हल गर्दैन र पुँजीवादले मात्र मुलुक र समाज अग्रगमनको मार्गमा लाग्न सक्दैन भन्नेमा विश्वास गर्छन् ।
साम्यवादका सार्वभौम सच्चाइ र पुँजीवादका मानव हितकारी सोचलाई मिसाएर लोकतान्त्रिक समाजवाद वा सहभागितामूलक समावेशी लोकतन्त्रमा उनको विश्वास छ । आजको उमेरसम्म उत्पादनको लागि गरिएको संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगबाट प्राप्त ज्ञानको प्रकृति हेर्दा अब उनी कट्टर कम्युनिष्ट रहेनन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ । उनी कम्युनिष्ट दर्शन परित्याग गरी राजावादी वा पुँजीवादी वा अराजकतावादी सिद्धान्तको पक्षपाती हुन सक्लान् ? उनको स्कूलिङका जग भत्काएर एउटा कोरा किताबी ज्ञान भएको विद्वान मात्र बन्न उनी तयार छन् ? उनको राजनीतिक जीवनको अध्ययन गर्दा उनी डि–स्कूलिङको बाटोमा छन् । जीवनका छ दशक बिताइसकेका वामपन्थी आन्दोलनमा अनेकौं दुःखकष्ट व्यहोरेर प्रसिद्धिको उचाइ चुमेका डा. भट्टराईले शोषितपीडित जनसमुदायप्रतिको अगाध आस्था र उनीहरूको जीवनमा सार्थक परिवर्तन ल्याई सबै प्रकारका बन्धनबाट मुक्त गर्ने विचार त मनबाट हटाएका छैनन् । तर, उनले अनुशरण गरेका राजनीतिक वैचारिक सिद्धान्तबाटै त्यो प्राप्तिको सम्भावना छ भनेर प्रश्न गर्ने धेरै छन् ।
जबसम्म उनी जनपक्षीय सोच राख्छन् र आफ्ना कर्महरू सोही अनुरुप अघि सार्छन्, तबसम्म उनलाई कसैले नायकबाट खलनायक बनाउन सक्दैन, तर जब जनताको सामिप्य छोड्छन्, उनलाई कसैले चाहँदैमा नायक बनाइरहन सक्दैन । यथास्थिति र प्रतिगमनका अभेद्द पर्खाललाई पनि तोडेर कहिल्यै नझुक्ने अटल आस्था बोकेर हिँड्ने क्रान्तिकारीहरू मध्ये डा. भट्टराईको नाम सदैव अग्रपंक्तिमा रहेको निर्विवाद तथ्य हो । डा. भट्टराईले क्षेत्रीयतावादी, जातीवादी, संकीर्णतावादी सोच बोकेको आरोपबाट आफूलाई मुक्त गर्न जरुरी छ । उनमा फेरि प्रधानमन्त्री बन्ने लालसा त निश्चय नै छैन होला । ६९ वर्षको उमेर पुगेका डा. भट्टराईले बाँकी जीवन आगामी नेपालको प्रष्ट मार्गचित्रसहितको दर्शन र विचार दिन आवश्यक छ, जसले २१औं शताब्दिमा नयाँ पुस्तालाई मार्गदर्शन गर्न सकोस् । लोकतन्त्र र क्रान्ति सँगसँगै अघि लैजाने सिद्धान्तको स्पष्ट दृष्टिकोणसहितको विचार निर्माणको काम आजको मूल कार्यभार हो ।

























