शिक्षा क्षेत्रमा सहयोग पु¥याउन ‘लालसिंह चड्डा’ प्रर्दशन

0
390

झापा,  शिक्षा क्षेत्रमा काम गर्दै आएको बिर्तामोड राउण्ड टेवल २७ ले बालबालिकालाई सहयोग पु¥याउने उद्देश्यले आइतवार झापाको बिर्तामोडमा हिन्दी कथानक चलचित्र ‘लालसिंह चड्डा’ प्रर्दशन गरेको छ ।
नवीन जिन्दल,रमण गोयल र जितेश शर्माले संयोजन गर्दै बिर्तामोडस्थित क्यू एफ एक्स चलचित्र हलमा विशेष च्यारिटी सो प्रर्दशन गरिएको थियो । राउण्ड टेवलको शिक्षाका लागि इएफटी परियोजना अन्तरगत च्यारिटी सो बाट बचेको रकमले शिक्षा क्षेत्रमा लगानी गर्ने राउण्ड टेवलका संचार संयोजक दीपक मित्तलले जानकारी दिए ।


सम्भावना उजागर गर्ने चलचित्रका रुपमा हेरिएको ‘लालसिंह चड्डा’ हेर्ने दर्शकको उल्लेख्य सहभागीता रहेको थियो । आमिर खानद्वारा अभिनित चलचित्र धेरै दर्शकले रुचाएका छन् । चलचित्र टम ह्यान्क्स अभिनित हलिउड चलचित्र ‘फरेस्ट गम्प’ को रिमेक हो। चलचित्रलाई अद्वैत चन्दनले निर्देशन गरेका छन्। रिमेक चलचित्र भए पनि निर्देशकले कथालाई बलिउडको ढाँचामा पस्कन खोजेका छन्।
कथा पञ्जाबमा जन्मिएको एक अपाङ्ग भएको बालकबाट शुरु हुन्छ । जो कसैको सहाराबिना हिँडडुल गर्न सक्दैन। उक्त बालकको नाम लालसिंह चड्डा हुन्छ। उसलाई आमाले मायाले लाल भन्ने गरेकी हुन्छिन्। अरू केटाकेटीभन्दा केही फरक भएको हुनाले लालको प्रायः मान्छेले मजाक बनाइरहेका हुन्छन्। तर लालकी आमाले उनलाई सधैँ प्रोत्साहन गर्दै भन्ने गरेकी हुन्छिन् कि ऊ कोहीभन्दा कम छैन। यसपछि लालको जीवनमा रूपाको प्रवेश हुन्छ, जसलाई उसले स्कुलमा भेट्छ। लाल रूपाको प्रेममा पर्छन्। उनको जीवनमा केही यस्तो घटना घट्छ जसले गर्दा लालसिंह चड्डा सोचेको भन्दा अघि बढ्न थाल्छन्। यसपछि चलचित्रको कथामा विभिन्न मोड आउँछ।
चलचित्रमा लालको यात्रा, अमृतसरमा भएको अपरेसन ब्लु स्टार, पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको हत्या, सुस्मिता सेनको मिस युनिभर्स बन्ने, मण्डल आयोग, लालकृष्ण आडवाणीको रथयात्रा, कारगिल युद्ध, जनलोकपाल विधेयकलगायतका घटना छन्। अन्ना हजारे सरसफाइ अभियानको एक झलकसँगै अनसनलाई पनि चलचित्रमा समावेश गरिएको छ। चलचित्रमा धेरै वास्तविक घटनाको प्रयोग गरिएको छ।
चलचित्रको कथा काल्पनिक भए पनि यसमा वर्णन गरिएको वास्तविक घटनाको चित्रणले पुरानो सम्झनाको याद गराउँछ। इन्दिरा गान्धीको मृत्युपछि सिख समुदायको दुःखद अवस्था देख्दा दुःख लाग्छ। कथामार्फत चलचित्रले देशका विभिन्न रमणीय ठाउँलाई चित्रण गरेको छ। चलचित्रको माध्यमबाट देशको नाम नलिई छिमेकी देशका जनतालाई ठग्ने सन्दर्भलाई सचेत गराउने सङ्केत गरेको देखाइएको छ।
लालसिंहको चरित्रमा आमिरले युवादेखि परिपक्व पात्रको भूमिका गर्ने पूर्ण अवसर पाएका छन्। उनले हरेक भूमिकामा आफ्नो छाप छोडेका छन्। उनको दौडिरहेको बेलाको अवस्था हेरेर धेरैमा उत्साह जगाउने काम गर्छ। उनले चलचित्रमा गरेको भिन्न भिन्न बोलीको प्रयोगलाई दर्शकले अवश्य नै मन पराउनेछन् तर कहीँकहीँ उनले गरेको अभिनयले चलचित्र ‘पीके’ मा उनले गरेको भूमिकाको पनि सम्झना ताजा गराउँछ। रूपाको भूमिकामा करिनाको अभिनय प्रशंसनीय छ तर अन्य चलचित्रको तुलनामा उनको अभिनयमा धेरै परिवर्तन आएको छ । मोना सिंहले आमाको द्वैधता बुझेकी छिन्। बाल कलाकारको काम उल्लेखनीय छ। चलचित्रको पृष्ठभूमि सङ्गीतले चलचित्रको विषयवस्तुलाई प्रभावकारी बनाएको छ।
चार वर्षको पुनरागमनपछि आमिर खानले यो चलचित्रमा अभिनय गरेका हुन् । यस अघि उनले ‘ठग्स अफ हिन्दुस्तान’ मा अभिनय गरेका थिए ।
भारतीय मास बेल्ट भनिने फिल्म बजारमा ‘लाल सिंह चड्ढा’को प्रदर्शन निकै खराब भनिएपनि ‘लालसिंह चड्ढा’को ओपनिङले वास्तवमा बलिउडलाई स्तब्ध तुल्याएको छ । २६ साउन देखि यो चलचित्र नेपालमा रिलिज भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here