चीनमा राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन

0
118

एजेन्सी,

चीनमा कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएका कडा प्रतिबन्धको विरोधमा देशव्यापी प्रदर्शनहरू भएका छन । सांघाई सहरमा सयौं मानिसहरूले राष्ट्रपति सी चिनफिङको राजीनामा माग्दै प्रदर्शन गरेका भिडियोहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन । त्यहाँका सडकहरूमा सर्वसाधारणले प्रहरीका गाडीमा अवरोध पु¥याएका बीबीसीले उल्लेख गरेको छ ।

त्यस्तै राजधानी बेइजिङ र नान्जिङका अधिकांश विश्वविद्यालयमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन । नान्जिङ कम्युनिकेसन युनिभर्सिटीमा सबैभन्दा ठूलो प्रदर्शन भएको जनाइएको छ । सामाजिक सञ्जाल तथा अनलाइनहरूमा विद्यार्थीहरूले प्रदर्शन गरेका तस्बिर तथा भिडियो सार्वजनिक भएका छन ।

चिनियाँ कम्युनिस्ट पार्टी र नेतृत्वविरुद्ध भएको पछिल्लो प्रदर्शन निकै दुर्लभमध्येको एक भएको बताइएको छ । आज्ञाकारी र सौम्य चिनियाँ समाजमा खुला रूपमा राष्ट्रपति सीको राजीनामा मागिनु उनीविरुद्ध बाहिर देखिएको अहिलेसम्मकै कडा खालको आलोचना हो । निषेधाज्ञाका समयमा उरुम्चीस्थित एक अपार्टमेन्टमा फैलिएको आगलागीमा १० जनाको ज्यान गएको थियो । उनीहरूको मृत्युपछि निकालिएको जुलुस चीनको शून्य कोभिड नीतिप्रति आक्रोशमा बदलिएको थियो ।

चिनियाँ अधिकारीहरूले भने कोरोना भाइरससम्बन्धी प्रतिबन्धका कारण उनीहरूको ज्यान गएको अस्वीकार गरेका छन । तर कैयौं इन्टरनेट प्रयोगकर्ताहरूले उरुम्चीमा भएको मृत्युका लागि आवासीय घरहरूमा लगाइएको कडा लकडाउन कारक भएको जनाएका छन ।

चीनको ठूलो सहर तथा विश्वव्यापी व्यापारिक केन्द्र सांघाईमा भएको प्रदर्शनका सहभागीले ‘सी चिनफिङ राजीनामा देऊ, कम्युनिस्ट पार्टी राजीनामा देऊ’ भन्दै नाराबाजी गरेको जनाइएको छ । सेतो ब्यानर बोकेका कतिपय सहभागीले ‘पीसीआर परीक्षण चाहिँदैन, हामीलाई स्वतन्त्रता देऊ’ लगायतका नारा लगाएका थिए ।

त्यस्तै केहीले मैनबत्ती बाल्नुका साथै फूल राखेर मृतकहरूप्रति सम्मान व्यक्त गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन। प्रदर्शन चर्कंदै गएपछि व्यापक मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको बीबीसीले उल्लेख गरेको छ ।

चीनले कोरोना भाइरसविरुद्ध ‘शून्य सहनशीलता’ नीति अख्तियार गर्दै आएको छ । पछिल्लो समय दर्जनौं सहरका दसौं लाख मानिसहरू लकडाउनबाट बाँच्न बाध्य छन । जसका कारण सरकारको ‘शून्य कोभिड’ नीतिका सुत्रधार राष्ट्रपति सीको आलोचना भएको हो ।

आर्थिक र सामाजिक रूपमा दबाब सिर्जना भए पनि सरकार आफ्नो नीतिबाट पछि हटेको छैन । भाइरसको परीक्षण र कडा लकडाउनमा जोड दिइएको भए पनि त्यही रूपमा खोप लगाउने काम भने हुन सकेको छैन । खोप लगाउन सर्वसाधारणलाई अनिवार्य गरिएको छैन भने स्थानीयस्तरमा उत्पादित खोप लगाउनुपर्ने व्यवस्था गरिएको छ ।

तर विभिन्न अनुसन्धानले ती खोप अन्तर्राष्ट्रिय रूपमा उत्पादित अन्य खोपको तुलनामा कम प्रभावकारी भएको पुष्टि भइसकेको छ । जसका कारण करिब डेढ अर्ब मानिसको जीवनयापन कष्टकर बनिरहेको छ ।

तर चीनले भाइरसको असरलाई सफलतापूर्वक निकै न्यून स्तरमा राख्न सफल भएको छ । यदि सबैतिर खुला गरियो भने भाइरस निकै तीव्र रूपमा देशभर फैलनेमा चिनियाँ अधिकारी चिन्तित छन ।

जसका कारण शून्य कोभिड नीति कहिले अन्त्य होला भन्नेचाहिँ कुनै टुंगो छैन । भाइरस फैलिएयता चीनले सारा विश्वबाट टाढा बस्ने प्रयत्न गरिरहेकाले आर्थिकलगायतका मूल्य चुकाइरहेको छ । तर अब लामो समयसम्म यसै गरिरहन भने सम्भव छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here