बिनोद सापकोटा,
झापा ।

झापा शिवसताक्षी–५का दीपकप्रसाद साहूले तरकारी खेती गरेको ६० वर्ष भयो । हजुरबुवाको पालादेखि नै उनको परिवारले तरकारी खेती गरेको थियो । उनका बुवा हजुरबुवाले गरेको तरकारी खेती परम्परागत रुपमा चल्दै आएको थियो । तर, साहूले यतिबेला परम्परागत खेती प्रणालीलाई परिमार्जन गरेर आधुनिक खेतीमा परिणत गरेका छन् । उनको बारी हरियो छ ।
उनीहरुको पुख्र्याैली पेशा नै कृषि हो । बुवा–हजुरबुवाको परम्परागत खेती प्रणालीको फरक देखाउँदै साहूले भने– ‘उहाँहरुले थोरै खेती गर्दै आउनु भएको थियो । मैले आधुनिक तरिकाले खेती गरिरहेको छु । उहाँहरु आफै खट्नु हुन्थ्यो । म प्रविधि र दिमाग खटाउँछु । व्यवसायलाई पनि बढाउँदै लगेको छु । पहिलाभन्दा धेरै राम्रो आम्दानी भइरहेको छ ।’
साहूको स्वामित्वमा २ बिगाह धान खेतीयोग्य जग्गा छ । धान खेतीभन्दा तरकारी खेतीबाटै मनग्गे आम्दानी हुने उनले सुनाए । ‘वर्षमा २ बिगाह जग्गामा १६० मन धान उत्पादन हुन्छ । अहिलेको धानको भाउले पौने दुई लाख धान खेतीबाट आम्दानी हुन्छ’– उनले भने– ‘यही खेतमा तरकारी खेतीबाट एक फसलमै ५ लाख आम्दानी हुन्छ । अनि किन गर्ने धान खेती ?’ उनका अनुसार तीन फसलसम्म तरकारी खेती हुने गरेको छ ।
उनको तरकारी बारीमा अहिले विभिन्न जातका काउली, भन्टा, कोभी, प्याज, धनियाँ, टमाटर, भिण्डी, रायो लगायतका बाली लागेको छ । उनले भने– ‘सिजन अनुसारको खेती अनि मेहनत अनुसारको फल र आम्दानी पाउने भनेकै तरकारी खेती हो ।’ बारीबाट टिपेको आलो तरकारी झापा, मोरङ र सुनसरीका बजारसम्म बिक्रीका लागि लैजाने गरेको उनले बताए । झापाको बिर्तामोड, दमक, मोरङको पथरी, उर्लाबारी, बिराटनगर र सुनसरीको धरानसम्म तरकारी विक्रीका लागि लैजाने गरिएको उनले बताए । उनका अनुसार घरबाट पिकअपमा लोड गरेर बजार पु¥याएको तरकारी नबिकेर घर ल्याउनुपर्दैन ।
तरकारी बेचेको पैसाले छोरी कोपिला डाक्टर पढ्दैछिन् । जेठो छोरा लक्ष्मणलाई फार्मेसी पढाउने रहर बुवाको थियो तर सकेनन् । अहिले नेपालको कृषि विज्ञानको पढाइ सकेर विकसित मुलुकमा सो विधाको पढाइ सक्न जाने तरखरमा छन् ।
उनले भने– ‘मेरो अहिलेको लगानी छोराछोरीले खेर जान दिएका छैनन् ।’ साहूलाई तरकारी खेतीमा आकर्षण गर्ने स्थानीय पालिका हो । शिवसताक्षी नगरपालिकाले बीऊ र सिञ्चाइको प्रबन्ध गरिदिएपछि तरकारी खेती गर्न किसान उत्साहित बनेका हुन् । पाथीभरा मिश्रित कृषक समूहमा उनी आवद्ध छन् । किसानका आफ्नो खेतमा आफैं र भाडामा लिएको खेतमा सामुहिक तरकारी खेती हुने गरेको शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सिकिन पासवानले बताए । उनले भने– साविकको पाँचगाछी गाविसमा पर्ने वडा नम्बर ४ र ५ तरकारी खेती हुने पकेट क्षेत्र हो ।’ यहाँका मानिस पौरखी छन् । हरेक किसानलाई पालिकाले केही न केही अनुदान दिने गरेको छ ।’
‘साहूको तरकारी खती हेरेर नै धेरैले तरकारी लगाएका छन् । विदेश वा अन्त काम गर्नजान परेको छैन । आफ्नै देशमा केही गरिरहेका छन्’– वडाध्यक्ष पासवानले भने– ‘धेरैलाई कसरी तरकारी खेती गर्ने भनेर नगरको कृषि शाखा र वडा पालिकाले सल्लाह सुझाव दिने गरेको छ ।’ आफ्नो देशमा बसेर तरकारी खेती ग¥यो भने पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणीय व्यक्ति साहू बनेको नगरका कृषि शाखाका प्रमुख रवीन भट्टराईले बताए । उनको जस्तै खेती गर्छन्– छिमेकी सुन्दरलाल ताजपुरिया । गणतान्त्रिक कृषक समूहमा आवद्ध ताजपुरियाले १० कठ्ठा जग्गामा तरकारी खेती गर्ने गरेका छन् । वार्षिक २ लाख खुद आम्दानी दिने उनको तरकारी खेती नगरपालिकाको नजरमा परेको छ ।
‘अरूको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै देशमा केही गरौँ, काम भनेको सानो ठूलो हुँदैन’– सुन्दरलाल भन्छन्– ‘बरु आफूले शुरु गरेको व्यवसायलाई कसरी अघि बढाउन सक्छौँ, योतर्फ ध्यान दिऔँ ।’ ‘हाम्रो समाज अझै पनि कृषि पेशालाई नराम्रो दृष्टिकोणले हेर्छ । कृषि पेशालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी छ’– उनले भने ।
झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४, ५ र ६ नम्बर तरकारी खेती हुने क्षेत्र हो । यहाँ २ हजारभन्दा बढी किसानले तरकारी खेती गर्ने गरेका छन् । तरकारी खेतीले नै यहाँका किसानको जीवनस्तर सुधारिएको शिवसताक्षी नगरपलिकाको कृषि शाखाले जनाएको छ । शिवसताक्षी नगरपालिकामा दुई सयभन्दा बढी कृषक समूह छन् । सबै समूहमा युवाको बाहुल्य छ ।
पढेलेखेका युवाको जमात कृषि पेशालाई व्यवसायका रुपमा अघि बढाउन थालेको शिवसताक्षी नगरका प्रमुख मेघाहाङ थोप्राले बताए । उनले भने– ‘कृषि क्षेत्र रमाइलो पेशा पनि हो । आफ्नो व्यवसायको आफंै मालिक हुन पाइन्छ । आफ्नो अनुकूलतामा काम गर्न पाइन्छ भने अरूको आदेशमा काम गर्नुपर्दैन ।’
सरकारले कृषिमा अझ बढी जोड दिन सके धेरै मानिसको जीवनस्तरमा सुधार हुने किसान बताउँछन् । साथै सबै किसिमका खाद्यान्नमा हामी आत्मनिर्भर हुन सकिन्छ । ‘किसानलाई सहज कर्जा, मल, बीऊ तथा प्रविधिको अनुदानमा सबैको समान पहुँच स्थापित गरी राहत, अनुदान तथा कृषि बिमाको प्रभावकारी व्यवस्था गर्नुपर्ने किसानको सुझाव छ ।






























