अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
स्थानीय शिवालय मन्दिरमा संस्था सञ्चालक समितिका अध्यक्ष डिल्ली घोर्साईंको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि अर्जुनधारा–८का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले उद्घाटन गरेका थिए ।
सभामा संस्थाको गत आर्थिक वर्ष ०७८/०७९को वार्षिक प्रगति प्रतिवेदन समितिका अध्यक्ष घोर्साईंले, लेखा समितिको प्रतिवेदन संयोजक ठाकुरसिंह गुरुङले र चालु आर्थिक वर्ष ०७९/०८०को लागि प्रस्तावित बजेट, नीति तथा कार्यक्रम व्यवस्थापक तुलसा कुँवरले प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी ८२ लाख ५० हजार चार सय रुपैयाँ, जम्मा निक्षेप संकलन पाँच करोड पाँच लाख ३२ हजार सात सय २२ रुपैयाँ ८४ पैसा, जम्मा कर्जा लगानी तीन करोड ३९ लाख ९९ हजार एक सय ३० रुपैयाँ, जगेडा कोषमा ३४ लाख ६६ हजार नौ सय ३७ रुपैयाँ ३२ पैसा, अन्य कोषहरुमा ४२ लाख २८ हजार सात सय नौ रुपैयाँ ३५ पैसा उल्लेख गरिएको छ ।
त्यस्तै बाह्य ऋण ८१ लाख ३५ हजार एक सय ३१ रुपैयाँ २१ पैसा, भुक्तानी दायित्व १२ लाख १६ हजार नौ सय चार रुपैयाँ ३४ पैसा र अन्य दायित्व एक लाख ६० हजार २९ रुपैयाँ ९२ पैसा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ गत आर्थिक वर्षमा ६४ लाख ९२ हजार छ सय ६४ रुपैयाँ २० पैसा आम्दानी गरेको संस्थाले चालु आर्थिक वर्षमा ६८ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ ।
सोही सभामा ज्येष्ठ शेयर सदस्य कमलादेवी पौडेल, असल ऋणी सीता चौधरी, असल बचतकर्ता पूर्णमणी बस्नेत, उत्कृष्ट बाल बचतकर्ताद्वय युनिस गुरागाईं र समिता पराजुली, उत्कृष्ट बचत तथा ऋणी अरुणकुमारी राजवंशीलाई सम्मानित एवम् पुरस्कृत गरिएको थियो ।
सभामा नगर सहकारी समन्वय समितिका अध्यक्ष कृष्णप्रसाद चापागाईं, संस्थाका सल्लाहकारद्वय दीपेन्द्र काफ्ले र पदमबहादुर मगरलगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिकी उपाध्यक्ष रञ्जना कार्कीले स्वागत गरेको उक्त सभाको सञ्चालन व्यवस्थापक कुँवरले गरेकी थिइन् ।






























