विनोद सापकोटा,
झापा ।

झापाको शिवसताक्षीमा २० करोडको लागतमा मन्दिर निर्माण भइरहेको छ । शिवसताक्षी नगरपालिकाको वडा नम्बर १० माइधारमा २० करोडको लागतमा लक्ष्मी नारायण मन्दिर (दिव्यदेश) निर्माण हुन थालेको हो ।
दक्षिण भारतमामात्र देखिने बास्तु प्रकृतीमा निर्माण हुन थालेको यो मन्दिर निर्माण सम्पन्न नहुँदै हेर्न आउनेको घुइँचो छ । स्थानिय भन्छन् ‘यस्तो प्रकृतिको मन्दिर नेपालमा कहि देखिएको थिएन ।’ नेपालमा संभवत पहिलो पटक दक्षिण भारतिय शैलिमा लक्ष्मीनारायणको दिव्यदेश निर्माण हुन थालेको लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिका सचिव कमल प्रसाद निरौलाले जानकारी दिए । मन्दिर १२० फिट लम्बाई र ७० फिट चौडा रहेको भु क्षेत्रबाट ३० फिट उचाइँँको हुने छ । यसको लागत २० करोडको अनुमान गरिएको उनले बताए ।
यो मन्दिरमा जगदगुरु श्रीकमलानयनचार्य आश्रम पनि संचालित छ । निरौलाका अनुसार अनन्तादर्श संस्कृत गुरुकुलम पनि मन्दिरमा संचालित छ । यो गुरुकुलमा ५० बटुक अध्ययनरत छन् । लक्ष्मीनारायण मन्दिर मुलकका विभिन्न ठाँउका वृद्ध वृद्धाको पनि आश्रय स्थल बनेको छ । आश्रममा २५ जना बृद्धबृद्धा आश्रित छन् ।
२०२८ सालमा काँसको बेरा र छानामा लक्ष्मी नारायण मन्दिरको प्राण प्रतिष्ठा गरिएको थियो । फुस्को छानाको मन्दिर जिर्ण बनेपछि २०४६ सालमा आरसीसी मन्दिर निर्माण भएको थियो । अहिले उक्त मन्दिर पनि जिर्ण बनेको छ । यहि मन्दिरको भवन निर्माण भएको निर्माण समितिका व्यवस्थापक मोहन प्रसाद रिजालले बताए ।
नेपाल लगायत भारत, अमेरिका, क्यानाडा, अष्ट्रेलिया, न्युजिल्याड, डेनमार्क, नर्वे, नेदरल्यान्ड, बेलायतका भक्तहरुले जिणोदारका लागि रकम उपलब्ध गराएपछि मन्दिर निर्माण हुन थालेको हो । मन्दिर निर्माणका लागि सहयोग रकम पठाउने अधिकांश भुटानी शरणार्थी हुन । झापाको दमक, गोलधाप, शनिश्चरे र मोरङको पत्थरीबाट भुटानी शरणार्थी ती मुलुक लगिएका थिए ।
उनीहरुले नै रकम उपलब्ध गराउने गरेको मन्दिर निर्माण निर्माण समितिका सचिव हरिप्रसाद तिम्सिनाले बताए । माईधारमा यो मन्दिर निर्माण सम्पन्न भएपछि झापामा धार्मिक पर्यटन फस्टाउने शिवसताक्षी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हर्कधन सिगुले बताएका छन् ।
पुर्वपश्चिम राजमार्गको माइधार देखि ३ सय मिटर उत्तर कनकाई नदिको पश्चिम तटिय क्षेत्रमा रहेको यो मन्दिरमा गौ सेवा पनि हुने गरेको छन् । गौसालामा १५ वटा विभिन्न जातका गाई छन् ।
निर्माणाधिन भवन भित्र भगवानका पाँच गर्भगृह रहने छ । बिचमा लक्ष्मी नारायण भगवानको विग्रह रहने छ । उत्तर तर्फ श्री वैष्णव सम्प्रदायका संस्थापक जगतगुरु रामानुजाचार्य जी माहाराजको विग्रह हुने छ भने दक्षिण तर्फ महालक्ष्मीको विग्रह रहने छ । अग्रभागका तीन विग्रहको पछिल्लो भागको उत्तर विष्वक्सेन (गणेश विग्रह) र दक्षिण दिशामा सुदर्शन र नृशिंहको विग्रह स्थापना हुने लक्ष्मी नारायण दिव्यदेश निर्माण समितिका कोषाध्यक्ष आचार्य दामोदर सुवेदीले जानकारी दिएका छन् ।
मन्दिरको पश्चिम बाहेकका तीन दिशामा आकर्षक कलामा गोपुर निर्माण हुने छ । उनले भने, ‘गोपुर भनेको द्धवार हो ।’ २०७८ साल बैशाख १६ गते शिलान्यास भएको थियो । ०७९ बैशाख २२ गते देखि निर्माण सुरु भएको मन्दिरको करिव ३० प्रतिशत संरचना निर्माण भइसकेको छ ।
मन्दिर निर्माणका लागि दक्षिण भारतबाट इन्जिनियर लक्ष्मी नरसिंह अयंगांरको नेतृूत्वमा १० जना प्राविधिकको टोली परिचालन गरिएको छ । यस्तै भारतको बंगालबाट पनि १० जना प्राविधिक मन्दिर निर्माणमा परिचालित छन् ।
यो मन्दिर जगद्गुरु योगिराज श्रीकमलनयनाचार्यले २०२८ सालमा स्थापना गरेका थिए । यो मन्दिर झापाको पुरानो मन्दिर हो । श्रीसम्प्रदायका वैष्णवहरू यसमा आवद्ध छन् । शाक्त, शैव, गाणपत लगायत वैष्णवी धर्मावलम्बीहरूको आस्था र धरोहरको प्रतिकको रुपमा मन्दिरलाइ मान्ने गरिएको छ ।
मन्दिरका मठाधिस स्वामी केशवाचार्य जी महाराज मुल संरक्षक रहेको मन्दिरको व्यवस्थापन समितिको अध्यक्षमा स्वामी गोविन्दाचार्य जी महाराज रहेका छन् । यस्तै १००८ स्वामी भागवताचार्य जी महाराज लक्ष्मी नारायण मन्दिरको उत्तराधिकारी तथा मन्दिर निर्माण समितिका संयोजक रहेका छन् । उहाँहरुको नेतृत्वमा मन्दिर निर्माण भइरहेको निर्माण समितिका सह सचिव लिला भट्टराईले बताए ।






























