‘प्ररोका’का लागि छनौट भएका श्रमिकहरुलाई तटबन्धनको कार्यमा परिचालन गरिने

0
201

अर्जुनधारा ।

चालु आर्थिक वर्ष ०७९/०८० मा झापाको अर्जुनधारा नगरपालिकामा सञ्चालन हुने प्रधानमन्त्री रोजगार कार्यक्रमको आइतबार शुभारम्भ गरिएको छ ।

रोजगार सेवा केन्द्र अर्जुनधाराको आयोजनामा आयोजित अभिमुखिकरण तथा रोजगार शुभारम्भ कार्यक्रमको नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

त्यसैगरी सोही कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छनौट भएका ७४ जना श्रमिकलाई लक्षित गरि एक दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको थियो । उनीहरुलाई रोजगार संयोजक प्रतिज्ञा थापा मगर, रोजगार सहायक राहुल राई र प्राविधिक सहायक सुरज तामाङले सहजिकरण गरेका थिए ।

विगत वर्षमा श्रमिकहरु फूलबारी निर्माण, नालालगायत अन्य सरसफाई कार्यमा मात्र सिमित भएको आरोप खेपेको नगरपालिकाले यस वर्ष छनौट भएका श्रमिकहरुलाई तटबन्धनको कार्यमा परिचालन गर्ने उपप्रमुख खड्गमाया पराजुलीले जानकारी दिइन् । “कार्यक्रममार्फत् केही राम्रो परिणाम दिनुपर्दछ भन्ने उद्देश्यले यसपटक तटबन्धनलाई रोजेका हौं ।ं”–उनले थप प्रष्ट पारिन् ।

बाढीको जोखिममा रहेको अर्जुनधारा–१, २, ३ र ४ नम्बर वडासँगै अन्य वडाका क्षेत्रमा पनि तटबन्धन गरिने उनले बताइन् । उनका अनुसार त्यसको लागि नगरपालिकाले चालु आर्थिक वर्षमा दुई करोड ५० लाख रुपैयाँ(जाली खरिदसहित) बजेट विनियोजन गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत श्रमिकहरुको पारिश्रमिकका लागि ४२ लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन भएको संयोजक मगरले जानकारी दिइन् । नगर प्रमुख तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, नगर सभा सदस्य देवकुमार राईलगायतले आफ्नो धारणा राखेका थिए । रोजगार सहायक राईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन रोजगार संयोजक मगरले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here