बिर्तामोड ।

मानविय सेवाका क्षेत्रमा क्रियाशिल वीरता लेडी जेसीजको अगुवाईमा झापाको अर्जुनधाराका एक नवजात शिशुको उपचारमा आर्थिक सहयोग गरिएको छ ।
अर्जुनधारा–८ का निमप्रसाद राजवंशी र अनिता राजवंशीको पहिलो सन्तानको रुपमा वैशाख १६ गते शनिबार जन्मिएकी शिशुको उपचारमा आर्थिक अभवा भएसंगै वीरता लेडी जेसीजले आर्थिक सहयोग गरेको हो । वीरता लेडी जेसीजकी सदस्य तारा बस्नेत निरौलाको पहलमा आर्थिक सहयोग संकलन गरिएको थियो । वीरता लेडी जेसीजले २७ हजार छ सय रुपैंया हस्तान्तरण गरेको हो ।

नवजात शिशुले आमाको पेटमा रहेकै बेला दिशा खाएकाले उनको उपचारमा समस्या भएपछि मेची प्रादेशीक अस्पतालबाट थप उपचारका लागि बिर्तामोड स्थित मनमोहन अस्पताल भर्ना गरिएको छ । नवजात शिशुको हाल एनआईसीयूमा उपचार भइरहेको छ ।
शिशुलाई निमोनिया भएको बताइएको छ । नवजात शिशुको उपचारमा सहयोग गर्ने उद्धेश्यले वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरी, महासचिव निशा शाक्य, सदस्य तारा बस्नेत (निरौला), सिम्रिक सहकारीका विजय बस्नेत, मनमोहन अस्पतालका रोमणी भट्टराई लगायतको सहभागिता रहेको थियो ।

आफ्ना सदस्यहरुले स्वतस्फूत रुपमा गरेको सहयोगलाई एक मुष्ठ गर्दै सहयोग गरेको वीरता लेडी जेसीजकी अध्यक्ष गिरीले बताइन् । उनले भनिन्– ‘नवजात शिशुको अवस्था देखेर उनको स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सहयोग गरेका हौं ।’
आर्थिक सहयोग प्राप्त गरेपछि नवजात शिशुका बुबा निमप्रसाद राजवंशीले आर्थिक अभाव भएर शिशुको उपचार गर्न नसक्ने अवस्थामा सहयोग गरेको भन्दै खुशी ब्यक्त गरेका छन् । वीरता लेडी जेसीजका प्रतिनीधिले आर्थिक सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता जनाएको छन् । आमाको मेची प्रादेशीक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।






























