कोसेली बनाउन सिकाउँदै गाउँपालिका

0
121

युद्धबहादुर बोहोरा,
पाँचथर ।

आफन्तमा कतै जानु परे वा कहीँ घुमेर आफ्नो घरमा आउँदा प्रायः खाली हात नहिँड्ने नेपालीको चलन छ ।

आफ्नो घरमा भएको परिकारभन्दा पनि बजारमा पाइने तयारी सामग्री कोशेली बोक्दा पैसा गाउँ बाहिर जाने मात्रै नभई स्थानीय सामग्री पनि ओझेलमा पर्न थालेका छन् । किसानले आफैं उत्पादन गरेका खाद्य सामग्रीलाई व्यवस्थित ढंगबाट उपयोग गर्न नसक्दा र गाउँमा अग्र्यानिक परिकार बनाउने सिपको अभावमा सस्तो भाउमा बेचेर गाउँका मानिसले खर्चिलो मूल्यमा सामान किन्नुपर्ने बाध्यता छ ।

कतिपय ठाउँमा गाउँका अग्र्यानिक खाद्य सामग्रीको महत्व बुझ्नेहरु धेरै छन् । तर, विभिन्न परिकार र आकर्षक सामग्री बनाउन नजान्दा उचित मूल्य नपाएर गाउँका खाद्य सामग्री लिलामी भइरहेका उदाहरण छन् । यसै क्रममा दूधबाट विभिन्न दूधजन्य परिकार उत्पादन गरी बिक्रीवितरण गर्ने वातावरण सृजना गर्ने उद्देश्यले फाल्गुनन्द गाउँपालिकाका अगुवा कृषक तथा डेरी व्यवसाय सञ्चालन गर्दै आएका १४ जनालाई तालिम दिइएको छ ।

उनीहरुलाई ललिपप, खुवा, रसवरी, पेडा, पनिर र पुष्टकारी बनाउने सिप सिकाएको छ । पशुपालक किसानले गाउँमै राम्रो आम्दानी लिन सकुन् भन्ने हेतुले सातै वटा वडाबाट दुई–दुई जना छनोट गरिएका मध्ये छ महिला र आठ पुरूषलाई तीन दिनसम्म गराइएको प्रशिक्षण समापन भएको हो । २० वर्षदेखि ५५ वर्षसम्मका स्थानीय साथै वैदेशिक रोजगारबाट नेपाल फर्किएका समेतले तालिम लिएका छन् ।

पाँचथरमा १६ वर्षदेखि त्रिशक्ति डेरी तथा ललिपप उद्योग सञ्चालन गर्दै आएका रिन्जी शेर्पाले प्रशिक्षण दिएको जनाइएको छ । सुकेपोखरी कृषि फर्म कम्पनी प्रालिको आयोजना तथा फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको संस्था सञ्चालक धनबहादुर तामाङ(अनिश)ले जानकारी दिए । समापनमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देदम्बेले तालिममा सहभागीलाई आगामी दिनमा व्यावसायिक बनेर पेशा शुरू गर्न सुझाव दिए । स्थानीय उत्पादन गाउँमै खपत तथा उचित भाउमा बाहिरी बजारमा बेचेर आयआर्ज गर्न सकिने अपेक्षा राखिएको उनले बताए ।

उत्पादन भएको परिकार स्थानीय बजार रवि, राँके, घुर्बिसे पञ्चमी, पौवा भञ्ज्याङ लगायतमा कोशेलीका रुपमा बिक्री हुने र आर्थिक रुपमा सबल बन्न सहयोग पुग्ने उपाध्यक्ष ठाकुरसिं. नेम्वाङको भनाइ छ । सहभागीले तयार गरेका परिकार अतिथि तथा उपस्थितलाई वितरण गरिएको साथै सहभागीलाई अतिथिले प्रमाणपत्र प्रदान गरेका थिए । हाल पालिकामा ४० वडा डेरी सञ्चालनमा रहेको र यहाँका किसानले दैनिक चार हजार लिटरभन्दा बढी दूध उत्पादन गर्ने गरेको फाल्गुनन्द गाउँपालिका पशुपंक्षी सेवा शाखा प्रमुख गोपाल घिमिरेले जानकारी दिए ।

पालिकाको ३ नम्बर वडामा २०७५ सालमा स्थापना भएको यस संस्थाले नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल वितरण गर्दै आएको छ । स्थानीय लोकल जातका आलुका बीऊ इलाम र पाँचथरका स्थानीयतहले किसानलाई वितरण गर्न खरिद गर्ने गरेको समेत संस्थाका सदस्य सागर नेम्बाङले बताए । समापनमा तुम्वेवा गाउँपालिका भेटेरिनरी शाखाका डाक्टर लक्ष्मी पौडेल लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here