कमल ।

कमल गाउँपालिकाको केर्खामा लार्भा खोज र नष्ट गर अभियानका साथै सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
कमल गाउँपालिका भएका दर्जनभन्दा बढी संघ–संस्थाको अगुवाइमा प्रहरी चौकी केर्खाको प्राङ्गणबाट लार्भा खोज र नष्ट गर अभियानका साथै सरसफाई कार्यक्रम शुरु भएको हो । कार्यक्रमको उद्घाटन कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गरेका थिए भने समापन ३ नम्बर वडाध्यक्ष अग्निप्रसाद कोइरालाले गरेका थिए ।
सरसफाई अभियान अन्तर्गत केर्खा बजार लगायत बजार आसपासको क्षेत्रका साथै केर्खा खेल मैदानको समेत सरसफाई गरिएको थियो । कार्यक्रममा कमल गाउँपालिकाका निवर्तमान अध्यक्ष मेनुका काफ्ले, नेपाल रेडक्रस सोसाइटी गौरादह उपशाखाका सभापति मित्रदेव काफ्ले लगायत विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कोरोनापछि डेँगुले कमलबासीलाई धेरै सताएको छ । विशेष गरेर हामीले हाम्रो गाउँघर वरिपरि सरसफाई नगरेका कारण दैनिकरुपमा विभिन्न रोगले सताइरहेको भन्दै गाउँपालिका अध्यक्ष राईले विभिन्न संघ–संस्थाको सहकार्यमा लार्भा खोज र नष्ट गर अभियानका साथै सरसफाई कार्यक्रम आयोजना गरिएको बताए ।
बजारलाई सफा राखौं र आफू पनि स्वस्थ्य बनौं भन्ने उद्देश्यले सरसफाई कार्यक्रम गरिएको हो । आफ्नो घर र बजार फोहोर भएकै कारण विभिन्न प्रकारका रोगले सताउने गरेको छ । डेंगुका प्रकोप बढिरहेकोले त्यसलाई न्यूनीकरण गर्न पनि विभिन्न संघ–संस्था मिलेर सरसफाई कार्यक्रम आयोजना गरेको फाल्गुनन्द टोल विकास संस्थाका अध्यक्ष शेलिना राईले बताइन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कमल उपशाखा, कमल गाउँपालिका स्वास्थ्य शाखा, प्रहरी चौकी केर्खा, कमल नगर जेसीज, आदिवासी जनजाति महासंघ कमल, प्याब्सन कमल, कमल उद्योग वाणिज्य संघ, केर्खा बजार व्यवस्थापन समिति, समावेशी महिला शसक्तिकरण संस्था, फाल्गुनन्द टोल विकास सस्था, शान्ति संगम टोल विकास सस्था समावेसी टोल विकास सस्था र तोपगाछी खानेपानी तथा सरसफाई उपभोक्ता समिति स्कीम नम्वर १ लगायतका संघ–सस्थाको सहभागिता रहेको थियो ।
वर्षमा एक दिन सरसफाई अभियान सञ्चालन गर्नुभन्दा पनि हरेक नागरिकले आफ्नो घरबाट उत्पादन भएको फोहोर आफैंले व्यवस्थापन गर्न सक्ने वातावरण बनाउन आवश्यक छ । नागरिकले पनि सरसफाई अभियान कहिले आउँछ र मेरो घरमा भएको फोहोर सफा गरिदेलान् भन्नुको साटो त्यो फोहोरलाई आफैंले व्यवस्थापन गर्ने हो भने वर्षमा एक दिनमात्र होइन तपाई हाम्रो गाउँ, घर, बजार टोल सधैँ सफा र सुन्दर हुने जनप्रतनिधिको भनाइ छ ।































