आंशिक शिक्षकको नियुक्ति रद्द गर्ने निर्देशनको अवज्ञा

0
12

भगीरथ भण्डारी,
इलाम ।

त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय कर्मचारी प्रशासन महाशाखाले गत १४मा पठाएको पत्रबारे इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसले कार्यान्वयन नगरेको पाइएको छ ।

त्रिवि कार्यकारी परिषद्को गत ४ असोज गते बसेको बैठकको निर्णयबाट अतिरिक्त कक्षा व्यवस्थापन सम्बन्धी निर्देशिका जारी भएको १ भदौ २०७७ उप्रान्त केन्द्रीय कार्यालयको स्वीकृति नलिईकन नियुक्त गरिएका सबै आंशिक शिक्षकहरुको नियुक्ति तीन दिनभित्र रद्द गर्न क्याम्पस प्रमुख/ विभागीय प्रमुखलाई पठाएका पत्र कार्यान्वयन नभएको पाइएको हो ।

इलाम सदरमुकामस्थिम महेन्द्ररत्न बहुमुखी क्याम्पसले सो निर्देशनसहितको पत्रको अवज्ञा गरेको छ । सो क्याम्पसले न त्रिवि कार्यकारी परिषदको निर्णय कार्यान्वयन ग¥यो, न त महाशाखालाई निर्णय कार्यान्वयनको बारेमा कुनै जानकारी नै गरायो । महाशाखाबाट निर्णय कार्यान्वयन गर्न पत्राचार भएको एक साता बितिसक्दा समेत क्याम्पस गैरजिम्मेवार बन्दै चुपचाप बसेको छ । उसले त्रिवि कार्यकारी परिषदबाट स्वीकृति नलिई नियुक्त गरेका आंशिक शिक्षकहरुको नियुक्ति रद्द नगरी नियमित कक्षा लिन लगाइरहेको छ ।

सो क्याम्पसले त्रिभुवन विश्वविद्यालय अतिरिक्त कक्षा व्यवस्थापन सम्बन्धी निर्देशिकाको बर्खिलाप हुने गरी बिना कुनै प्रक्रिया पूरा गरी आफूखुशी तीन जना आंशिक शिक्षक नियुक्त गरी अध्यापन कार्यमा संलग्न गराई पारिश्रमिक उपलब्ध गराइरहेको छ । दुई जना अंग्रेजी र एक जना व्यवस्थापनका आंशिक शिक्षक बिना कुनै प्रक्रिया आफूखुसी नियुक्त गरेको पाइएको हो । क्याम्पसले गत आर्थिक वर्षमा दुई फरक विषयका लागि एक÷एक जना आंशिक शिक्षक आवश्यकता सम्बन्धी विज्ञापन प्रकाशन गरी वैकल्पिक भएका तीन जनालाई बिना कुनै प्रक्रिया आफूखुशी नियुक्त गरेको पाइएको हो । प्रकाशित विज्ञापन बमोजिम दुई फरक विषयका लागि एक/एक जना आंशिक शिक्षक छनौट गर्न भएको परीक्षाबाट सफल भएका एक/एक जना सो क्याम्पसमा अझै कार्यरत छन् । तर उनीहरुका वैकल्पिक समेतलाई क्याम्पसले नियुक्त दिएको पाइएको हो ।

आंशिक शिक्षक छनौट परीक्षाबाट सफल दुईजना त्रिवि कार्यकारी परिषदबाट स्वीकृति प्राप्त भएपछि निकाय प्रमुखले छनौट समिति गठन गरी सार्वजनिक सूचनामार्फत निवेदन माग गरी छनोट गरेको भए पनि वैकल्पिकमा रहेका तीन जना भने क्याम्पसले बिना कुनै प्रक्रिया आफूखुशी नियुक्त गरेको पाईएको हो । क्याम्पसले गतवर्ष विज्ञापन प्रकाशित गरी व्यवस्थापन विषयको एक र अंग्रेजी (व्यवस्थापन) विषयको एक जना आंशिक शिक्षक पदमा आवेदमा माग गरेको थियो । प्राप्त आवेदनका आधारमा २१ र २२ माघ २०७९मा मौखिक परीक्षा र कक्षा अवलोकन गरी सफल भएका दुवै विषयका लागि एक÷एक जना आंशिक शिक्षक नियुक्त गरेको थियो ।

पछिल्लोपटक सोही परीक्षामा वैकल्पिक भएकाहरुमध्ये दुई जना अंज्रेजी र एक जना व्यवस्थापन विषयमा सोझै नियुक्त गरेको पाइएको हो । त्रिभुवन विश्वविद्यालय अतिरिक्त कक्षा व्यवस्थापन सम्बन्धी निर्देशिका २०७०मा विश्वविद्यालयका आंगिक क्याम्पस÷केन्द्रीय विभाग÷स्कूल विभाग कार्यक्रममा पूर्णकालीन शिक्षकहरुलाई तोकिएको कक्षाभार भन्दा बढी कक्षाभार भई कार्यरत शिक्षकहरुले सो बढी भएको कक्षाभार दिन नसक्ने अवस्था भएर आंशिक शिक्षक राख्नुपर्ने भएमा निकाय प्रमुखले कक्षाभार र कक्षा तालिका उल्लेख गरि विभागीय प्रमुख कार्यक्रम संयोजकको सिफारिससहित स्वीकृतिका लागि केन्द्रीय कार्यालयमा पठाउनुपर्ने र केन्द्रीय कार्यालयको सिफारिसमा कार्यकारी परिषदबाट स्वीकृति प्राप्त भएपछि निकाय प्रमुखले छनौट समिति गठन गरी सार्वजनिक सूचनामार्फत निवेदन माग गरी छनौट प्रक्रिया शुरु गर्नुपर्ने व्यवस्था उल्लेख छ ।

पत्रमा तोकिएको अवधिभित्र निर्णय कार्यान्वयन नभए सो प्रकृतिका आंशिक शिक्षकहरुलाई कक्षा लिन लगाई पारिश्रमिक भुक्तानी भएमा भुक्तानी भएको रकम निकाय प्रमुख र लेखा प्रमुखबाट असूल उपर गर्न लेखापरीक्षण महाशाखा र निजहरुमाथि विभागीय कारवाही आरम्भ गर्न कर्मचारी प्रशासन महाशाखालाई निर्देशन दिने समेत निर्णय भएको व्यहोराको जानकारी पत्रमा उल्लेख छ । केही क्याम्पसहरुबाट बिना कुनै प्रकृया पूरा गरी आफूखुशी आंशिक शिक्षक नियुक्त गरी अध्यापन कार्यमा संलग्न गराइ पारिश्रमिक समेत उपलब्ध गराइएको पाइएको भन्दै महाशाखाले ३ दिनभित्र त्यस्ता शिक्षकहरुको नियुक्ति ३ दिनभित्र रद्द गरी महाशाखालाई जानकारी गराउन अनुरोध गरेको थियो ।

यता, क्याम्पसले भने सबै प्रक्रिया पूरा गरेर नै आंशिक शिक्षक नियुक्त गरेको दावी गरेको छ । क्याम्पस प्रमुख खगेन्द्रप्रसाद चापागाँईले क्याम्पसको आवश्यकतामा नियम अनुसार नै आंशिक शिक्षक नियुक्त गरेको दावी गरे । ‘हामीले आफूखुशी टपक्क टिपेर कसैलाई पनि नियुक्त गरेका छैनौं । कुनै न कुनै परीक्षामा सामेल भएकाहरुलाई नै नियुक्त गरिएको छ’– क्याम्पस प्रुमख चापागाँईले भने– ‘त्रिवि कार्यकारी परिषद्बाट स्वीकृति लिएर परीक्षा गर्नुप¥यो भने १ वर्ष बित्छ । क्याम्पसलाई तत्काल शिक्षक आवश्यकता प¥यो । विद्यार्थीको पढाइमा असर नपार्नका लागि वैकल्पिकबाटै नियुक्त गरिएको हो ।’

क्याम्पस प्रमुख चापागाँईले स्वायत्त क्याम्पसले कतिपय नियम आफैं बनाउन सक्ने बताउँदै सोही बमोजिम आंशिक शिक्षक नियुक्त गरिएको समेत दावी गरे । क्याम्पस प्रमुख चापागाँईले त्रिवि रजिष्ट्रारको कार्यालयबाट कर्मचारी महाशाखाबाट निर्णय कार्यान्वयन गर्ने निर्देशनसहित पठाइएको पत्रबारे क्याम्पसको असहमति रहेको बताए । उनले सो पत्रको विषयमा क्याम्पसले दशैंको बिदा अघि जवाफ पठाउने समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here