दशैं आए पनि सुनसान छन् गाउँबस्तीहरु

0
110

हाम्रा फाँटमा जब सेताम्मे काँसहरु क्षितिजमा आँखाले भ्याएसम्म बर्षाको आड भरोसा पाउन छोडेका खोला किनार र बगरमा पूmल्दछन् तब शरद ऋतुको स्वागत प्रकृतिले नै गर्दछ । बिहानी पूर्वी लालीमा नै शरदको सुवास जब महशुस थाल्दछ तब दुबोमाथि टल्कने चाँदीका दाना झैं कञ्चन शीतका थोपाहरुले अलौकिक विचित्रताको आभाष शरद ऋतुले नै गराउँछ । खेतका गराहरुमा धानका सुनौला बालाहरु झुलेको दृष्य देख्दा प्रकृतिले स्वर्ग नै यही बसालेको आभाष हुन्छ । अझ दशैंमा बज्ने मालश्री धुन, दशैं लक्षित हाटबजार अनि दशैंमा घर फर्कने परदेशीहरुको लर्कोले दशैंको रौनकमा थप उत्समह र रमाइलो गराउँछ ।

आजभोलि दशैंका ती रमाइला पक्षहरु केही फुस्रा र धुमिल हुँदै गइरहेका छन् । दशैंमा घर लिपपोत गरी चोख्याउन, रंग्याउन र चिटिक्क पारी लिपपोत गर्नका लागि पहाडमा रातो र तराईमा सेतो कमेरोको जोगाड गर्न राम्रो र लिस्याइलो माटो खनेर ल्याउन गाउँलेहरु सबै सल्लाह गरी एकैसाथ जान्थे । बटुवा हिँड्ने बाटाहरु, गोरेटाहरु गाउँलेहरु नै मिलेर सरसफाई गर्थे । गोरेटाका झारहरु उखेलपाखेल पारेर, बढारकुँडार गर्थे । फड्को मारेर नाघ्न नसकिने नाली वा कुलोहरु भए ठूलो ढुंगा राखेर वा बाँसको फड्के बनाएर पार गर्न सजिलो बनाउँथे । काँक्राको सिजन सकिएर बोटहरु खङ्ग्रङ्ग सुकेका भए पनि दशैंमा खल्पी खानलाई ठूला–ठूला काँक्राहरु छानेर थाङ्ग्रामै छोडेका हुन्थे । थाङ्ग्रामै छोडेपछि माटोले नछुने भएकाले त्यो बिग्रँदैन थियो ।

दशैंमा रमाइलो गर्न, आफन्तसँग भेटघाट गर्न समय मिलोस् भनेर वस्तुभाउलाई पुग्ने घाँस पहिले नै जोगाड गरिएको हुन्थ्यो । खेतीबालीका कामहरु सकेसम्म दशैं अघि नै सकेर ढुक्कले दशैं मनाउन छिटो–छिटो कामहरु गरिन्थ्यो । दशैंमा नयाँ धानको मीठो चिउरा खानलाई चिउरा राम्रो हुने जातको धान छुट्टै रोपिएको हुन्थ्यो । दशैंअघि पाकी सक्ने त्यो धान काट्ने, माड्ने र चिउराको लागि तयारी गर्ने चटारोभित्र पनि दशैंको मज्जा लुकेको हुन्थ्यो । अनि शरद ऋतुमा गाउँघरमा सुनिने ढिकीका आवज नै आनन्दमय र रमाइलो लाग्ने हुन्थ्यो । किनकि यो सिजनमा ढिकीमा कि दशैंको लागि चिउरा या मासुमा हाल्ने मरमसलाहरु कुटिन्थ्यो । दशैंका लागि भनेर एउटा घोर्ले खसी छुट्टै पोसिएको हुन्थ्यो । प्रायः हरेक दोबाटो र चौबाटोमा पिङ हालिएको हुन्थ्यो ।

तर, आजकल गाउँ बस्तीहरु सुनसान छन् । हुन त आजकल जीवनशैली फेरिएका छन् । कमेरोले पोत्नुपर्ने घरहरु सिमेन्टबाट बनेका छन् । दशैंका लागि पाल्नुपर्ने खसीहरु, अचारका लागि किन्नुपर्ने काँक्राहरु या तयारी अचारहरु नै पनि बजारले पूरा गरिदिन्छ । आजकल गोरेटाहरु सफासुग्घर गर्ने फुर्सद पनि कसैलाई हुँदैन । मोटरबाटो धेरैतिर पुगेकाले पनि हामीलाई हिँड्न सिकाउने गोरेटाहरु उपेक्षित भएका हुन सक्छन् । फेरिँदो जीवनशैली र आधुनिकताले हाम्रा भौतिक पक्षहरुमा परिवर्तनसँगै दशैंको सांस्कृतिक र मौलिक पाटो पनि अतिक्रमित भएको देखिन्छ । र, यो तीतो सत्यलाई स्वीकार्ने पर्दछ ।

आजकल हामीलाई हाम्रो परम्परा र संस्कृतिमा भन्दा मेरो छोरो अमेरिकामा छ । छोरी अष्ट्रेलियामा छ । भन्ने कुराले गौरवान्वित बनाउँछ । छोरी–ज्वाइँ नाति–नातीना क्यानडामा छन् उतै बस्छन् । छोरा–बुहारी लण्डनमा उतै बस्छन् भन्न पाउँदा जति ठूलो प्रगति हामीलाई अरु केही पनि छैन जस्तो लाग्छ । र हामी छिमेकीहरुसँग सबभन्दा यही कुरा सुनाउनमा बढी गर्व गर्छौं । अरुका देखासिकीमा लागेर कसरी हुन्छ, अरुलाई देखाउनका लागि भए पनि हामी घरजग्गा धितो राखेर, बेचेरै भए पनि या ऋण काढेर छोराछोरी विदेश पठाउने ध्याउन्नमा छौं । किनकि हामीले भोलि छिमेकीलाई अमेरिकामा छोरो छ, क्यानडामा छोरी छ भनेर सुनाउनुछ । अमेरिका, क्यानडा आदि देशबाट आएका केटाका लागि केटी या केटीका लागि केटाको कुरा मिलाउन मात्र पाए पनि पुग्यो भन्ने मानसिकतामा छौं हामी ।

नेपालमा उमेरको समानता, वैचारिक समानता, जातीयता, धुम्रपान गर्ने नगर्ने सबै कुराले अर्थ राख्छ । तर, विदेशबाट त्यो पनि खाडी मुलुकभन्दा अन्यत्रबाट आएकाहरुसँग यी कुनै कुराले अर्थ राख्दैन । बस बिहे गर्न र गराउन पाए हुन्छ भन्ने यो विदेशको ग्रस्तता र रोगले हामीलाई नछोडेसम्म गाउँबस्तीहरु सधैँ सुनसान नै रहन्छन् । ती अरुका देशमा पाइला टेक्न र टेकाउन बाहेक हाम्रो अरु कुनै सपना नै छैन जस्तो परिस्थती आइसकेको छ । त्यो जति ठूलो प्रतिष्ठा र इज्जत हामीलाई अरु केही लाग्दैन । अनि कसैसँग गफ गर्दा सबैभन्दा पहिले यहीबाट गफ गछौं कि, मेरो फलानो अमेरिका, फलानो, क्यानडा, फलानो…छोरी…। यस्तै यस्तै ।

यस्ता हाम्रा खोक्रा प्रतिष्ठा, इज्जत र गर्वको खोजीले गर्दा नै आज गाउँघर सुनसान छन् । आज हाम्रो दशैंको परम्परा र मौलिकता ओझेलमा पर्नुको मुख्य कारण पनि यही हो । विदेशिने पुस्ता त गयो गयो, ऊ पछिका उसका पुस्ताहरु पनि उतै अलमलिने हुँदा उनीहरुले देशको परम्परा र मौलिकता त बिर्सन्छन् नै देशमा बाँकी रहेकाहरु पनि विदेश जानलाई नै जग्गा बेच्न र धितो राखेर पैसा जोगाड गरी आप्mनो अन्तिम सपना पूरा गर्ने उही रोगबाट ग्रसित छन् र बाँकी छन् त वृद्धवृद्धा अनि बालबालिका ।

आज त्यसैको उपज, गाउँमा हामीलाई हिँड्न सिकाउने गोरेटो बाटोको सम्बद्र्धन गर्ने कोही छैन । दोबाटो र चौबाटोमा पिङ हाल्न सक्ने ऊर्जावान युवाहरु विदेशमा छन् । नयाँ पुस्ताहरु देउसीभैलोको मौलिकतालाई बिर्सदै जाँदैछन् । आजकल कता–कता मात्र लिङ्गेपिङ देखिन्छ । मादल बजाएर राष्ट्रिय पोशाकमा देउसीभैलो खेल्न छोडिँदैछ । आजकल र सामाजिक भनिएका क्लव र संघ–संस्थाहरु देउसीभैलोका नाममा पहिले नै पत्र, कार्ड पठाएर पैसा संकलन गर्न मात्र लागेका छन् । या त देउसीभैलोका नाममा तडकभडकयुक्त नाचगान मात्र देखिन्छन् ।

तसर्थ, अब हामी सबै हाम्रो यो महान पर्व र यसको अभूतपूर्व मौलिकता र संस्कृतिप्रति जिम्मेवार हुने, संरक्षण गर्ने र सम्बद्र्धन गर्ने बेला बित्न लागिसकेको छ । हामी मौलक देउसीभैलो खेलौं । देउसीका नाममा आउने नाचमात्रलाई अस्वीकार गरौं । पत्र र कार्ड मात्र पठाएर देउसीको नाममा पैसा संकलन गर्न आउनेहरुलाई अस्वीकार गरौं । यसले केही हदसम्म भए पनि मौलिकताको खोजी गर्न बाध्यात्मक अवस्था सृजना गर्ला कि । अर्को कुरा हामी दशैंतिहार वा चाडपर्व भन्ने बित्तिकै खाने, लाउने र रमाइलो गर्ने मात्र सोच्छौं र त्यसै पनि गर्छौं । तर, यी चाडहरु मनाउनुको कारण र इतिहास छ । त्यसैले यस अवधिमा हामीले गर्नुपर्ने कृत्यहरु गर्नुपर्दछ । किनकि तिनै धार्मिक र शास्त्रीय कारणहरु कै उपज चाडपर्व मनाइन्छ । चाडपर्वका हरेक दिनका आ–आफ्नै विशेषता र महŒव हुन्छन् ।

चाडपर्वका आप्mनै महŒव छन् । यिनले हामीलाई उत्साह, उमँग र रमाइलो त दिलाउँछ नै यसले हाम्रो मौलिकता र संस्कृतिलाई पनि उजागर गर्दछ । त्यसैले चाडपर्वलाई मिठो खाने र राम्रो लाउने पर्वका रुपमा मात्र नहेरी आपसी भाइचारा, बन्धुत्व, प्रेम, सद्भाव र संस्कृतिप्रति जिम्मेवार हुने अवसरका रुपमा पनि विकास गर्नुपर्दछ । यसको धार्मिक र सांस्कृतिक महŒवलाई सर्वोपरी राखेर हामीले चाडबाड मनाउन सकेमा मात्र आगामी पुस्तालाई संस्कृति हस्तान्तरण गर्न सकिन्छ । नत्र उही खाने, लाउने र मोज गर्ने पर्यायका रुपमा मात्र चाडपर्वका अर्थ लगाउनेछ आगामी पिँढीले ।

हुन त अद्वितीय सांस्कृतिक र धार्मिक महत्व बोकेको दशैं पर्वलाई कतिपय अराजक तत्वहरुले यो बाहुनहरुको चाड हो, यसलाई बहिष्कार गर्नुपर्दछ भनि बेतुकका शब्दहरु भुकेर हिँडेको देख्दा उनीहरुको मानसिक अवस्था देखेर दुःख लागेर आउँछ । शदियौँदेखि मानिआएको यो चाड, यसको इतिहास र महŒवलाई बुझेर पनि नबुझे जस्तो गर्दै, परचक्रीले देखाएको प्रलोभनमा परी बिक्नु र सीमित व्यक्तिगत स्वार्थका लागि भाडा खाएर बोल्नु मात्र हो । र, यसो गर्नु आप्mनै आमालाई बेचे समानकोे अपराध हो भन्ने चेत नखुलेसम्म मन्द बुद्धिहरुले आप्mनो खुट्टामा बन्चरो हान्ने काम आफैं गरिरहन्छन् । यो चाड हिन्दुको मात्र होइन, बाहुनको मात्र पनि होइन । यो त सदियौंदेखि एकताको धागोमा गाँसिएका नेपालीहरुको चाड हो । यहाँ जात र वर्गको विभेद ल्याएर नितान्त व्यक्तिवादी स्वार्थपूर्ति गर्नेहरुले नेपाली दाजुभाइहरुको एकतामा बिखण्डन ल्याउँदैछन्, त्यो पनि अर्काको भाडा खाएर भन्ने कुरा बुभ्mनुपर्छ अब हामीले ।

यो चाड त भारतमा दशहरा नामले पनि मनाउँछन् । श्रीलङ्का र भुटानका केही भागमा साथै म्यानमारमा पनि मनाउँछन् । ती सबै ठाउँमा यो चाड मनाउने समुदायलाई स्वतन्त्रता छ । अनि नेपालमा चै जन्मेदेखि मनाउँदै र रमाउँदै आएको यो चाडमा आज वितण्डा मच्चाउनु कतिसम्मको उचित होला ? गाई काटेर चाड मनाउने समुदायलाई कसैले बहिष्कार गरौं भनेर नारा लगाएको छैन त । ढुंगालाई देउता मानेर पूजा गर्ने अन्धविश्वासी भन्ने क्रिश्चियनहरुलाई उनीहरुले पूजा गर्ने धूपीको बोटमा चाहिँ कहिले देउता भेटेछन् भनेर कसैले सोधेको छैन । र, उनीहरुको चाड बहिष्कार गरौं भनेर कसैले अभियान चलाएको पनि छैन ।

हामी लोकतान्त्रिक अभ्यासमा छौं । यहाँ आ–आप्mनो धर्म, भाषा, परम्परा मान्ने अधिकार सबैलाई छ । तर, आप्mनो स्वार्थका लागि अरुको आस्था र विश्वासलाई डलर डकार्दै बहिष्कार गरौं भन्नु लोकतन्त्रको मर्म होइन । यो चाडले कसैलाई होच्याएको छैन । बरु आपसी भाइचारा, विश्वास र असत्यमाथि सधैँ सत्यको विजय हुन्छ भन्ने विश्वास बोकेको चाड हो । कति तथ्यपरक र पवित्र छ यसको मर्म कि, असत्यले सत्यलाई पराजित गरेका कारण ठूलाबाट सानाले टीका र आशीर्वाद ग्रहण गर्दछन् । यसर्थ हाम्रा चाडपर्वहरु अभूतपूर्व विशेषता बोकेको नेपालीमात्र कै महान पर्व हुन् । यी पर्वमा दिइने आशीर्वाद र यी पर्वले दिने सन्देश त यति निश्चल र सम्पूर्ण मानव मात्रका लागि नै अति नै उत्तम छ । यिनका सन्देश र श्लोकले न कुनै जातिलाई हेपेको छ, न कुनै जातिको गुणगान गाएको छ । यो त सबैको उन्नति, प्रगती र कल्याण होस् भनि सबैको मंगल कामना गर्दै मनाइन्छ । हाम्रा चाडपर्वहरुको मौलिकताको रक्षा गर्नु अपरिहार्य भएको छ ।
(कुइँकेल शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तित्व, लेखक, सञ्चारकर्मी, विश्लेषक, साहित्यकार तथा ज्योतिष हुन् ।)
बदजष्बिकजष्द्दण्ण्ढ२नmबष्।िअयm

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here