झापा ,बिर्तामोड नगरपालिका–४मा अवस्थित झण्डै दुई सय बर्ष पुरानो पिपलको रुखको संरक्षणका लागि बिर्तामोडवासी जुटेका छन् । बिर्तामोड नगरपालिका–४स्थित बिर्ताबजार पूर्व पुरानो बिजुली अफिस हुँदै बुट्टाबारी जाने सडक छेउमा रहेको पिपलको संरक्षणका लागि नगरवासी जुटेका हुन् ।
झण्डै ८.५ व्यास गोलाइ भएको ऐतिहासिक तथा पुरातात्विक महत्वको पिपल बोट (कल्पबृक्ष) धार्मिक आस्थाको धरोहर रहेको र यस ठाउँमा सिंहबाहिनी देवी माता रहने किंवदन्ती स्वरुप देवस्थलको रुपमा यस ठाउँको संरक्षण गर्न लागिएको विहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइयो । जसका लागि सिंहबाहिनी देवी पिपलबोट श्रीमद् देवी भागवत ज्ञान महायज्ञको आयोजना गरिएको छ ।
नौ दिनसम्म सञ्चालन गरिने ज्ञान महायज्ञमा त्यस ठाउँको ऐतिहासिक, प्राकृतिक, पुरातात्विक महत्वका विषयमा आम नगरवासीलाई जानकारी गराइने पत्रकार सम्मेलनमा जानकारी दिइयो । ज्ञान महायज्ञको प्रमुख कथावाचकको रुपमा आचार्य पण्डित छन्दुराम भण्डारी र सहवाचकका रुपमा पण्डित जयभद्र सुवेदी रहने पत्रकार सम्मेलनमा महायज्ञ मूल समारोह समिति अध्यक्ष हेमकला कट्टेलले जानकारी दिइन् । महायज्ञ असोज २८ गतेदेखि कात्तिक ६ गतेसम्म सञ्चालन हुने बताइएको छ । असोज २८ गते दिउँसो १ बजे आचार्य श्री केदारनाथ खतिवडाले उद्घाटन गने र कलश यात्रासहित बिर्तामोड परिक्रमा गर्दै सोही स्थानमा पुगेर समापन गरिने बताइएको छ ।
कलशयात्राका लागि आम नगरवासीलाई सहभागिताको अपिल गर्दै मूल आयोजक समितिले पुराणलाई सफल बनाइदिन आग्रह समेत गरेको छ । जनश्रुति अनुसार पिपल बोटमा सिंहदेवीको दर्शन हुने, नाग देवताहरुले झलमल्ल प्रकाश छर्ने, नाच्ने र सो स्थानमा आराधना गरेमा इच्छा सिद्धी हुने जानकारी दिइएको थियो । धार्मिक मन्यताका साथ लामो समयदेखि सो क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयले विभिन्न आस्थाले पिपल बोट पुग्ने गरेको र यहाँका मूलवासीहरुले ग्राम, महाराज, काली लगायतका देवीदेवताको थलोका रुपमा ग्रामथान बनाएको र सो बृक्षको पूजा गर्ने गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । लामो इतिहास बोकेको बृक्ष भएकाले त्यस्तो सम्बद्र्धन र संरक्षण गर्न आफूहरु जुटेको समारोह समितिकी सचिव उमा शिवाकोटीले बताइन् । हाल सो क्षेत्रको सरसफाई र पिपल बोट वरिपरि व्यास निर्माण गरिरहेको बताइएको छ । नवरात्रमा पूजा आराधनासहित जमरा राख्ने, संकीर्तनका साथ देवी भागवत महापुराण नवाह ज्ञान महायज्ञ सञ्चालन गरिने लगायतका कार्यक्रम रहेको जनाइएको छ ।






























