जयपुर सहकारीमा तीन करोडभन्दा बढी हिनामिना, उपाध्यक्ष र व्यवस्थापक पक्राउ

0
9

झापा ।

झापाको बुद्धशान्तिस्थित जयपुर बहुउद्देश्य सहकारी संस्था लिमिटेडका उपाध्यक्ष र व्यवस्थापक पक्राउ परेका छन् ।

सहकारीका संचालक तथा व्यवस्थापकको मिलेमतोमा ३ करोड भन्दा बढी रकम हिनामिना भएको उजुरीका आधारमा उपाध्यक्ष नारायण श्रेष्ठ र व्यवस्थापक केशव कुमार भण्डारी पक्राउ परेका हुन् । उनीहरु दुवै जना वुद्धशान्ति गाउँपालिका – २ का स्थानीयवासी हुन् ।

प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयमा जयपुर बहुउद्देश्य सहकारी संस्था लिमिटेडका सञ्चालक तथा व्यवस्थापन विरुद्ध उजुरी परेको र सहकारी रजिष्ट्रार कार्यालयको पत्र अनुसार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उनीहरु विरुद्ध सहकारी ठगी सम्वन्धि कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । पक्राउ परेका उनीहरुसहित पाँच जना विरुद्ध उजुरी परेको बताइएको छ । तर, अन्य व्यक्ति फरार रहेकाले उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

शेयर सदस्य तथा बचतकर्ताको रमक फिर्ता गर्न नसक्दा २०७९ भदौदेखि सहकारी संस्था बन्द भएको छ । २०५९ सालमा स्थापित संस्थामा ४९ लाख ९८ हजार १ सय शेयर पुँजी र ३ करोड ८ लाख ६८ हजार १ सय ४४ रुपैयाँ निक्षेप बचत रहेको छ ।

संस्थाको आन्तरिक लेखा समितिले २०८० साल भदौ ७ गते दिएको प्रतिवेदनमा ऋण लगानी ४७ लाख ३१ हजार २ सय ५५ रुपैयाँ र बैंक बचत ६ लाख ९० हजार ३ सय ६० रुपैयाँ गरेर ५४ लखा २१ हजार ६ सय १४ रुपैयाँ पुँजी देखाएको छ ।

कूल आयमा लगानी र बैंक मौजात रकम घटाउँदा ३ करोड ४ लाख ४४ हजार ६ सय २९ रुपैयाँ कहाँ छ भन्ने देखिँदैन । लेखा समितिको प्रतिवेदनले २ करोड ८२ लाख ४८ हजार ९२ रुपैयाँ हिसाब बचत नदेखिएको उल्लेख छ । बैंकमा बचत गर्नु पर्ने रकम संचालक तथा व्यवस्थापकको मिलेमतोमा हिनामिना भएको छ ।

सहकारीले शेयर तथा बचत फिर्ता गर्न नसके पछि स्थानीयले संचालक समितिविरुद्ध गाउँपालिका र सहकारी रजिष्ट्रार कार्यालय इनरुवामा उजुरी दिएका थिए । शेयर सदस्य तथा बचतकर्ताले २०८० साल वैशाख ३ गते रकम फिर्ताको माग गर्दै बुद्धशान्ति गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएका थिए ।

गत भादौ ८ गते पीडितले सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवामा उजुरी दिएका थिए । सहकारी रजिष्ट्रार कार्यालयले सहकारी संस्थाको रकम अपचलन भएको प्रारम्भिक अध्ययनले देखाएको जनाएको छ । जसमा ३ करोड भन्दा बढी मिलेमतोमा अपचलन भएको बताइएको छ । संस्थामा घनश्याम भट्टराई २०७० सालदेखि अध्यक्ष छन् । उनी अध्यक्ष भएदेखि संस्थामा आर्थिक अपचलन सरु भएको बताइएको छ । संचालक समितिले आर्थिक वर्ष २०७६÷२०७७ देखि लेखा प्रतिवेदन नबुझाएको बताइएको छ ।

समितिले निर्णय नगरी लगानी गर्ने, ऋण समितिका सदस्यलाई जानकारी नदिइ बिना भरपाई ऋण लगानी गर्ने, संस्थाको चेकबाट बाहिरका व्यक्तिलाई भुक्तानी दिने जस्ता कार्य भएको लेखा समितिको प्रतिवेदनमा उल्लेख छ ।

त्यसो त पछिल्लो समय सहकारी संस्थाले बचतकर्तालाई ठगेको भन्दै प्रहरी, नियामनकारी निकाय , थानीय तहमा अहिले बचतकर्ताको उजुरी दिनानु दिन बढ्दै गएरहेको छ । सहकारी ऐन विपरीत आर्थिक कारोबार गर्दै आएका त्यस्ता सहकारीहरु शंकटग्रस्त अवस्थामा छन् । जसका कारण बचतकर्ताको करोडौँ रकम जोखिममा परेको पाइएको छ ।

झापामा सञ्चालित जयपुर सहकारी संस्था मात्र होइन अनेकौं बेथितिबाट गुज्रिएका दर्जन बढी सहकारी संस्थाहरुका सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने गरेको पाइएको छ ।

संचालकले मनोमानी ढंगले रकम चलाउन थालेपछि झापामा सञ्चिालित केही सहकारीमा समस्या बढ्दै गएको हो । जसले गर्दा एकपछि अर्को सहकारी संस्थामा निक्षेपकर्ताको रकम जोखिममा पर्न थालेको हो । निक्षेपकर्ताको करोडौं रूपैयाँ जोखिममा पर्दै आएको छ । जयपुर सहकारी संस्थाले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै यस अघि नेपाल कम्युनिष्ट पार्टीले समेत आपत्ति जनाएको थियो ।

विप्लव नेतृत्वको नेकपा पूर्वी झापा जिल्ला सेक्रेटरी हुकुम सिले विज्ञप्ति जारी गर्दै बुद्धशान्ति–२ जयपुरमा रहेको सहकारीका सञ्चालक तथा व्यवस्थापकको मिलेमतोमा तीन करोडभन्दा बढी रकम हिनामिना भएको भन्दै आपत्ति जनाएका थिए ।

सहकारीका सञ्चालक र व्यवस्थापकको मिलेमतोमा अपचलन हुने गरेको बचतकर्ताको रकम फिर्ता गरिनु पर्ने विज्ञप्ति जारी गरेको थियो । विज्ञप्तिमा वचतकर्ताको रकम फिर्ता नगरे जनपरिचालनसहित कार्वाही प्रक्रिया अघि बढाउने चेतावनी समेत दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here