इलाममा अलैंची पुनः रोपण अभियान सञ्चालन

0
32

इलाम ।

नेपालको प्रमुख नगदे कृषि बाली अलैंची उत्पादन हुने पूर्वी पहाडी जिल्लामा अलैंची पुनःरोपण अभियान सुरु गरिएको छ ।

विभिन्नखाले रोग, प्रकोप र वर्षौं पुराना बोट भएका कारण अलैंची खेती मासिँदै जाँदा किसानहरु निराश भइरहेका बेला पूर्वी पहाडी जिल्ला इलामबाट नयाँ प्रविधिमा आधारित अलैंची पुनःरोपण अभियान सुरु गरिएको हो ।

अलैंची विकास केन्द्र फिक्कलको प्राविधिक सहयोगमा नेपाल अलैंची व्यवसायी महासंघले अभियान सञ्चालन गरेको नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए ।

इलाम अलैंचीको उद्गम जिल्ला भएको र विभिन्न रोगका कारण यसै जिल्लाबाट अलैंची मासिन थालेकोले अलैंची पुनःरोपण अभियान यसै जिल्लाबाट सुरु गरिएको बताउँदै अध्यक्ष भट्टराईले बिहीबार इलामको रोङ गाउँपालिका र शुक्रबार देउमाई नगरपालिकामा अलैँची विकास केन्द्रले टिस्यु क्लचर प्रविधिबाट उत्पादन गरेको स्वस्थ नयाँ विरुवा रोपण गरिएको बताए । प्रदेश तथा स्थानीय सरकार, व्यवसायी, किसान तथा प्राविधिक क्षेत्रसमेत सबै सरोकारवालाको सहभागितामा यो अभियान सुरु भएकोले यसबाट प्रतिफल प्राप्त हुने विश्वास रहेको उनको भनाइ छ ।

बिहीबार रोङ गाउँपालिकाको वडा नं ४ किटेनीस्थित सुम्निमा नर्सरी उद्योगमा नर्सरी विरुवा रोपण गरेर र शनिबार देउमाई नगरपालिका ६ मा स्थानीय किसानको खेतमा उत्पादनयोग्य विरुवा रोपण गरेर अभियान शुभारम्भ गरिएको थियो । त्यहाँ संक्षिप्त औपचारिक कार्यक्रम आयोजना गरिएको थियो भने स्थानीय किसानहरुका समस्या र गुनासाहरु पनि संकलन गरिएको नेपाल अलैंची व्यवसायी महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले बताए ।

कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहाल, रोङ गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया खवास, देउमाई नगरपालिका, वडा नं ६ का वडाध्यक्ष सुरेन वस्नेत, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दीपक नेपाल, नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, वरिष्ठ उपाध्यक्ष इन्द्रचन्द विन्दल, उपाध्यक्ष सुवास भट्टराई, मात्रिका घिमिरे, महासचिव नारायण चिमरिया, सल्लाहकार पवनकुमार विन्दल तथा भरत चौधरी, अलैंची विकास केन्द्रका प्रमुख राजन परियारलगायतले संयुक्त रुपमा विरुवा रोपेर अभियान शुभारम्भ गरेका थिए ।

अलैंची विकास केन्द्रका प्रमुख परियारले टिस्यु कल्चर प्रविधिबाट अत्यन्त सुरक्षित ल्याबमा तयार गरिएकोले यी विरुवा रोगमुक्त र बढी आम्दानी दिने किसिमको रहेको स्पष्ट पारे । उनँका अनुसार केन्द्रले अहिले तयार गरेको विरुवाले आगामी ४०–५० वर्षसम्म आम्दानी लिन सकिनेछ । तर, किसानले रोपण प्रविधि, मल–सिँचाइ र सरसफाइमा विशेष ध्यान पुर्याउनुपर्ने उनको भनाइ छ ।

मन्त्रालयका सचिव डा. दाहालले विभिन्न कारणले मासिन लागेको अलैंचीले पुनःरोपण अभियानमार्फत पुनर्जीवन प्राप्त गर्ने विश्वास व्यक्त गरे । डा. दाहालले कोशी प्रदेशको आयको प्रमुख स्रोत पनि भएको अलैंचीको उत्पादन बृद्धि, मूल्य बृद्धि र सहज बजारीकरणका लागि मन्त्रायलको तर्फबाट गर्नुपर्ने सबै काम गरिने पनि प्रतिबद्धता पनि जनाएका छन् ।

महासंघका अध्यक्ष भट्टराईले महासंघ किसानसँग प्रत्यक्ष जोडिएको संगठन भएकोले यसले किसानलक्षित कार्यक्रमहरुलाई जोड दिइरहेको बताउँदै इलामबाट सुरु भएको यो अभियानले सुखद परिणाम दिएमा पूर्वदेखि पश्चिमसम्मका अलैंची उत्पादन हुने जिल्लासम्म अभियान विस्तार गरिने जानकारी दिए ।

यसैबीच यो अभियानप्रति किसानहरुले पनि खुशी व्यक्त गरेका छन् । रोङ गाउँपालिकाका किसान सोमराज लेप्चाले अलैंची मासिएर निराश बनेका किसानमा रोगमुक्त विरुवा रोपणको यो अभियानले उत्साह जगाइदिएको बताए भने देउमाईका किसान धनसिंह राउतले पहिलोचोटि सरोकारवालाहरु एकैसाथ किसानको बारीमा पुगेको देखेको बताउँदै यसले किसानमा उत्साह थपेको बताए ।

नेपालमा एक लाख किसान अलैँची खेती तथा व्यवसायमा आबद्ध रहेका छन् । कूल १९ हजार हेक्टरमा उत्पादन हुने अलैँचीबाट वार्षिक ७ देखि ८ अरब रुपैयाँ नेपाल भित्रिने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here