वर्षभरिका १२ महिना मध्ये साउन महिना भगवान शिवको विशेष उपासनाका लागि प्रशिद्ध छ । यस महिना भगवान् शिवको प्रिय महिना भएकाले उहाँको उपासनाको लागि महत्वपूर्ण मानिन्छ । साउन महिना हिन्दूहरुका लागि पवित्र महिना हो । त्यसर्थ, यतिबेला बडो श्रद्धाभक्तिपूर्वक शिवको विशेष रुपमा पूजा आराधनासहित श्रावणी पर्व हर्षोल्लासपूर्वक मनाउने क्रम जारी छ । यसैक्रममा देवादिदेव महादेव शिवको विशेष पूजा आराधनाका लागि शिवालय, शिवमन्दिर जाने वा बोलबम यात्रा गर्ने प्रचलन छ ।
जसलाई बोलीचालीको भाषामा बोलबम जाने भन्ने गरिन्छ । जसमा बोलबम बोलबम उच्चारण गर्दै गेरुवस्त्र धारण गरेर पवित्र जलाशयबाट जल ल्याई आसुतोष शिवमा अर्पण गरिन्छ । शिव उपासनाको मूल मन्त्र ‘बम’ मानिएकोले बोलबम अर्थात् ‘बम’ मन्त्रलाई पुकारौं भन्दै बोलबम उच्चारण गरिएको हो । खासगरी सोमबार व्रत बसी शिवमा समर्पित बन्नाले भगवान् शिव प्रशन्न भई मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
भगवान् शिवलाई प्रशन्न पार्ने मुख्य साधन जप, तप, ध्यान, ज्ञान र क्रिया (पूजन) मध्ये शिवको नामरुपी महामन्त्रको जप, पूजन, जलार्पणद्वारा समर्पित बनेर उहाँको अनुकम्पा प्राप्त गर्न सकिन्छ भन्ने कुरा शास्त्रादिमा उल्लेख गरिएको पाइन्छ । भगवान् शिवको ज्योतिर्लिङ्ग स्वरुप पशुपतिनाथलाई मानिन्छ । यतिखेर यस उद्देश्यका साथ काठमाण्डौको पशुपति क्षेत्रमा साउन महिनाभर कोटीहोम ज्ञान महायज्ञ समेत सञ्चालन भइरहेको छ । पशुपतिनाथलाई भारतमा रहेका द्वादश ज्योतिर्लिङ्ग मध्ये केदारनाथको शिरोभाग अर्थात् महाज्योतिर्लिङ्गको रुपमा पुजिने गरिन्छ ।
भगवान् शिवको उपासनाका लागि मुख्य अंगहरुमा क्रियायोग, जप र तपमा क्रियायोग भनेको शिवको तस्वीर तथा प्रतिमा, शिवस्वरुप लिङ्गको पूजन, दर्शन, प्रार्थना आदि कार्यबाट शिवको आराधना गर्नु हो । त्यस्तै तप घरबार छोडेर वन पस्नु होइन, भगवत चिन्तन मननमा मन तथा शरीर लगाउनु हो । पञ्चाक्षरी मन्त्र ‘ॐ नमः शिवाय’ बारम्बार उच्चारण गर्नुु जप हो । जप गर्दा देशकाल र संख्यामा ध्यान दिनुपर्नेे बताइएको छ । देश भनेको स्थान हो । जपका लागि वन, वनस्पति वा वृक्षमुनि शान्त अवस्था, मन्दिर परिसर, नदीको किनार वा आफ्नै पूजा कोठालाई उपयुक्त मानिन्छ । मन्त्रसिद्धी वा निश्चित उद्देश्यका लागि भने संख्यामा पनि ध्यान पु¥याउनुपर्छ भनिएको छ ।
शिवको अर्थ हुन्छ– कल्याण । शिव भन्नु नै कल्याण गर्नु हो । कल्याण गर्नु र शिव भन्नु एकै हो । शंकर शिवकै नाम हो । महेश्वर उहाँ नै हुनुहुन्छ । सबै ईश्वरहरुका ईश्वर (सबैभन्दा ठूला ईश्वर) भएका सर्वशक्तिमान र सर्वसमर्थशाली देवताका रुपमा पुज्य हुनुुुहुन्छ शिव भगवान् । त्यसैले शिवलाई देवादिदेव महादेव पनि भनिएको हो र उहाँको महिमा हिन्दूधर्म संस्कृतिमा सर्वोपरि रहन गएको हो ।
भगवान् शिवका नाम विविध छन् । यस्ता परम पवित्र र कल्याणमय यी नामको अर्थसहित स्मरण, मनन गर्नाले उहाँको महिमा बोध गर्न सकिन्छ । यसै सन्दर्भमा अमरकोषमा उल्लेखित भगवान् शिवका प्रमुख ४८ नाम यहाँ प्रस्तुत गरिएको छ । ती हुन्–शम्भू–सुख र आनन्द दिने, ईश–ईश्वर, पशुुपति– सबै प्राणीका मालिक, शिव– कल्याणकारी, शूली–शूलधारी, ईश्वर–मालिक, शिव–कल्याणकारी, शर्व–भक्तहरुका पाप नाशक, ईशान–ज्योति भएका, स्वामी शासक, शंकर–कल्याणकारक, चन्द्रशेखर–शिरमा चन्द्रमा भएका, भतेश–प्राणीका मालिक, खण्डपरशु–वञ्चरोले टुक्रा गरिएका, गिरीश–पर्वतका ईश्वर, गिरिश–पर्वतमा सुत्ने, मृढ–सुख पर वस्त्र धारण गर्ने, मृत्युञ्जय– मृत्युलाई जित्ने, कृतिवासा–छालाको वस्त्र धारण गर्ने, पिनाकी–धनुर्धारी, प्रमथाधिप–प्रमथ यणका मालिक, उग्र–प्रचण्ड, कपर्दी–जटाजुटवाला, श्रीकण्ठ–शोभायमान घाटी भएका, शितिकण्ठ–कण्ठमा बीस भएका, कपालभृत्–खप्पर धारण गर्नेे, वामदेव–उत्तम देवता, महादेव–ठूला देवता, विरुपाक्ष–विरुप आँखा भएका, त्रिलोचन–तीन आँखा भएका, कृशानुरेता–अग्निमा वीर्य स्थापना गर्ने, सर्वज्ञ–सबथोकको ज्ञान भएका, धूर्जटि–भारी जटा भएका, नीललोहित–नीलो र रातो कण्ठ भएका, हर–नष्ट गर्ने, स्मरहर–कामदेव नष्ट गर्ने, भर्ग–नाश गर्ने, त्र्यम्बक–तीन आँखा भएका, त्रिपरान्तक–त्रिपुरानामक असुरलाई मार्ने, गङ्गाधर–गंगालाई धारण गर्ने, अन्धकरिपु–अन्धनामक दैत्यका शत्रु, कतृध्वंशी–दक्ष प्रजापतिको यज्ञलाई यज्ञलाई नष्ट गर्ने, वृषध्वज–झण्डामा साँढेको चिन्ह भएका, व्योमकेश–आकाशमा केश छरिएका, भव–जसबाट सबै हुन्छ, भीम–भयङ्कर, स्थाणु–ठटारुपमा रहने, रुद्र– रुवाउने, डरलाग्दो, भयङ्कर र उमापति–पार्वतीका पति ।