बिसे नगर्चीबारे इतिहास सार्वजनिक

0
2

पृथ्वीनारायण शाह र उनका बुवा नरभुपाल शाहको सल्लाहकार बिसे नगर्चीको बिषयमा गहिरो खोज, अनुसन्धान गरी ‘गुमनाम एक इतिहास बिसे नगर्ची’ नामक पुस्तक प्रकाशन भएको छ ।

मोरङ पथरीशनिश्चरे–१ निवासी खोजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले यो पुस्तक लेखेका हुन् । बिसेको जन्म स्थल गोरखा पुगेर उनलाई र उनको सन्तान, छोरालाई दिएको सनदपत्र, लालमोहर, बिसेका सन्तानसहित भेटेर गहिरो अध्ययनसहित यो पुस्तक लेखेको लेखक तिम्सिनाले बताए । नेपालका पुराना इतिहासकारसँगको सोधखोज गरी किताब लेखिएको छ । विभिन्न समयमा इतिहासकारहरुले लेखेका ऐतिहासिक दस्तावेजमा पनि बिसे नगर्चीले नुवाकोट दुई पटक आक्रमण गर्दा हार खाएर चिन्तित बनेका पृथ्वीनारायण शाहलाई सही समयमा सही सल्लाह दिएर युद्ध जितेको इतिहास पाइन्छ ।

एउटा सही सल्लाहकार भयो भने राज्य बनाउन र युद्ध नै जित्न परे पनि सजिलै सकिन्छ । यही उदाहरण नेपालको इतिहासमा पाइन्छ । यस्तो उदाहरणीय व्यक्ति हुनुहुन्थ्यो बिसे नगर्ची । अहिले लोकतन्त्रका शासकका नातेदार, बग्रेल्ती सल्लाहकार राखेका छन् । राखिएका सल्लाहकार विज्ञताको आधारमा नभई आफन्तको आधारमा । स्वकीय सचिव, सल्लाहकारहरूले न सल्लाह दिन्छन्, न सल्लाह लिन्छन् । अनेक दबाब र प्रभावमा निर्णय गराउने प्रवृत्ति डरलाग्दो गरी बढेको छ । सामान्य अवस्थामा रहेका बिसे नगर्चीले दिएको सल्लाह नै पृथ्वीनारायण शाहलाई युद्ध जित्ने अस्त्र झैं बनेको थियोे ।

नुवाकोट आक्रमणमा हार व्यहोरेका पृथ्वीनारायण शाह हतियार किन्न चाहन्थे । तर, त्यसबेला राज्य कोषमा पैसा थिएन । युद्ध जित्न योद्धा कुशल भएर मात्र हँुदैन, हतियार पनि गुणस्तरीय चाहिन्छ । एकाबिहानैदेखि उठेर दरबारमा चिन्तित बनेर टोलाई रहेका पृथ्वीनारायण शाहलाई आमा कौशल्यावतीले देखेर एकदिन बिहान सोधिछन्– ‘छोरा तिमीलाई के भयो ?’ त्यसबेला राजा पृथ्वीनारायणले नुवाकोट हार व्यहोरेको र थप आक्रमण गर्न हतियार नभएको कुरा आमालाई सुनाएछन् । यो कुरा सुनेर आमाले दरबारमा नगरा बजाउने बिसे नगर्चीलाई भेटेर सल्लाह लिन भनिछन् । सोही अनुसार भोलिपल्ट बिहानै राजा बिसेको घर गएछन् ।

कस्तो थियो सामरिक महत्वको सल्लाह ?

राजा एक्कासी घरमा आएको देखेर बिसेले महाराज के कामले मेरो घरमा पालिबक्स्यो भन्दै सोधेछन् । राजाले– ‘तिमीलाई थाहा छँदैछ नुवाकोट हार व्यहोर्नु परेको, अब लडाइँ लड्नुछ । हात–हतियार चाहिएको छ । राज्यकोषमा पैसा छैन । कसरी हतियार किन्ने भनेर तिमीसँग सल्लाह लिन आएको । तिमी त हाम्रो बुवाको पालादेखि सल्लाह दिँदै आएको सुनेको छु । उचित सल्लाह देऊ’ भनेछन् । ‘म जस्तोले के सल्लाह दिन सक्छु र !’ भनेछन् । ‘सल्लाह भनेको मान्छे सानो ठूलो पढेको नपढेको भन्ने हँुदैन’ –राजाले भनेछन् ।

बिसेले कति दाम चाहिएको महाराज भनेर राजालाई सोधेछन् । ‘१२ हजार दाम भए त पुग्दो हो’ –राजाले भने । ‘गोरखा राज्यमा कति छन् महाराज’ –बिसेले राजालाई सोधेछन् । ‘पुग–नपुग १२ हजार घर होलान्’ –राजाले भनेछन् ।

यो कुरा राजाको सुनेर बिसे घरको कोठामा पसेछन् । कोठाभित्र पसेर बिसेले एक पैंसा, पाँच पैसा, गरेर जम्मा गरेर एक मोहर बनाई राजाको हातमा चढाई सोही अनुसार प्रत्येक घरधुरीबाट एक–एक रुपैयाँ उठाउन सल्लाह दिएकोले सोही अनुसार पैसा उठाई काँसी गएर हतियार किनेर ल्याई नेपाल एकीकरण सफल भएको जनश्रूति रहेको इतिहासकारहरुले विभिन्न दस्तावेजमा लेखेका छन् ।

राज्य एकिकरणमा उचित सल्लाह दिने नगर्चीलाई राज्यले कस्तो सम्मान दियो– उहाँको परिवार कहाँ कसरी बसिरहेका छन् ? यो खोज अनुसन्धानको बिषय हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने झैँ मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन । सल्लाह दिने मान्छे ठूलो, उपल्लो जातको सम्पन्न हुनुपर्छ भन्ने हुँदैन । बिसे नगर्ची दरवारमा नगरा बजाउने, कटुवाल फलाक्ने, दरवारको बालिघरे हुनुहुन्थ्यो । तर, यस्तो सामरिक सल्लाह दिने बिसे लाई अहिलेसम्म राज्यले सम्मान गरेको छैन ।

विभिन्न युद्धमा बिसेको सहभागिता

पृथ्वीनारायण शाहको पालामा भएको विभिन्न युद्धमा बिसेको सहभागिता रहेको विभिन्न इतिहासकार तथा खोजकर्ताले खोजेको दस्तावेजबाट थाहा हुन्छ । नुवाकोट युद्धमा उहाँ सहभागी हुनु भयो । तेस्रो पटकको नुवाकोट हमलामा सिपाही भएर युद्धमा सामिल हुनु भएको थियो । पछि नुवाकोट विजय भई सकेपछि यी बिसे नगर्ची बुढा महाराजसँगै अन्तरिम राजधानी नुवाकोटमै रहने गर्दथे ।
नुवाकोटको युद्धमा तिरधारे मोर्चाबाट पृथ्वीनारायण सँगै सहभागी भएको कुरा गोरखामा बिसेको शालिकसँगै राखिएको शिला लेखमा उल्लेख छ । त्यसबेला उहाँ तीनधारे मोर्चाबाट नालदम, अजिरकोट र सिरानचोकको लडाइँमा सहभागी भएको सोही शिलामा उल्लेख छ । त्यसैगरी, बिसे स्याङ्जाको लडाइँमा पनि सहभागी भएको थिए ।

स्याङ्जाको बहाबकोटमा बिसे नगर्ची चोक नै रहेको छ । यो चोकको नाम रहनुमा बिसेको लडाइँमा सहभागिता रहेको थाहा हुने परियार सेवा समाजले उल्लेख गरेको शिलामा लेखिएको छ ।

परियार समाज, केन्द्रीय समिति तथा सम्पूर्ण परिवार बन्धुहरूले बिसेको शालिकमा राखिएको शिला लेखमा बिसेको जन्म वि.सं. १७४६ र मृत्यु वि.सं. १८२८ मा उल्लेख छ । यस अनुसार उनी ८२ वर्ष बाँचेका देखिन्छ । बिसे नगर्चीले गोरखाली पक्षधर भएर विभिन्न युद्धमोर्चामा भाग लिएका ऐतिहासिक प्रमाणहरू प्राप्त छन् । उनी पृथ्वीनारायण शाहसँग उनकै मोर्चामा रहेर नुवाकोटको युद्धमा सहभागी भएका थिए । नुवाकोट विजय भएपछि उनले नगरा बजाएका थिए । त्यसैगरी गोरखाको सिरानचोकको युद्धमा पनि उनी सहभागी थिए, जहाँ गोरखालीले लमजुङेहरूलाई हराएका थिए ।

नुवाकोटको युद्धमा बिसे नगर्ची पृथ्वीनारायण शाहको राज्य विस्तार अभियान अन्तर्गत नुवाकोटमा भएको युद्धमा बिसे नगर्ची सहभागी थिए । बिसेलाई बिम्वमा प्रयोग गरी २०६२/०६३ जनआन्दोलनमा कवि श्रवण मुकारुङले ‘बिसे नगर्चीको बयान’ शिर्षकको कविताले निकै चर्चा पाएको थियोे । पुस्तकको प्रकाशक लीला निरौला तिम्सिना रहनुभएको छ भने दमक श्रष्टा छापाखानाले छापेको यो पुस्तक १५६ पेजको रहेको छ । विभिन्न नेपालका इतिहासकारहरुसँग सोधखोज गरी ४९ वटा शीर्षकमा लेखिएको तिम्सिनाले लेखेको यो १२औं खोजमुलक कृति हो ।

यसअघि तिम्सिनाले टेलिफोन डायरी २०६८, मोरङको सामुदायिक वन एक चिनारी २०६९, मोरङको क्षेत्र नं. २ एक चिनारी २०७०, पथरीशनिश्चरे नगरपालिका एक चिनारी २०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण २०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दोस्रो संस्करण २०७८, धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म २०७८, इतिहासमा पथरीशनिश्चरे २०७८, मोरङका जनप्रतिनिधि संगालो २०७९, माइखोलादेखि पुनर्वाससम्म २०८० र तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म २०८० लगायतका दर्जन पुस्तकहरु लेखी सक्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here