मुख्य बाली कोदोको उत्पादन घट्दै, माग बढ्दै 

0
1
इलाम,
दश वर्षअघि साउन–भदौमा कोदो काम रोप्ने धमाधम हुन्थ्यो । सूर्योदय नगरपालिका–१ मकरजुङका रमेश राईले भन्नुभयो, “अर्मपर्म गर्दै एक डेढ महिनासम्म गाउँभरि कोदो रोपिन्थ्यो । आजकाल त कोदो रोप्न छाडियो ।”
कोदोबाट भन्दा चिया, अलैँची, अकबरे लगायतका कृषि उपजबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानले कोदो खेती छोड्दै गएका छन् । “कसै–कसैले घरमा जाँड बनाउन, पूजा गर्न भनेर अलिअलि लगाए पनि बिक्री गर्ने उद्देश्यले खेती हुन छोडेको छ ।” माइजोगमाई गाउँपालिका–३ का मिलन खड्काले भन्नुभयो, “पैले–पैले हाम्रै गाउँभरि कोदो हुन्थ्यो । अहिले खेतबारीमा कतै चिया, कतै अलैँची भरिएको छ । कोदोबाट नगद आम्दानी छैन । बरु अकबरेको व्यावसायिक खेती गर्छन् । कोदो भटिँदैन ।
कृषि ज्ञान केन्द्र इलामका अनुसार जिल्लाको सबै क्षेत्रमा कादोको उत्पादन बर्सेनि ओरालो लागि रहेको छ । “जिल्लाको एक हजार चार सय ३२ हेक्टर क्षेत्रमा कोदो खेती हुन्छ ।” ज्ञान केन्द्रका प्रमुख राम जुगन यादवले भन्नुभयो, “त्यसबाट एक हजार सात सय ४७ टन कोदो उत्पादन हुने गरेको छ ।” इलामका १० स्थानीय तहमै आंशिक रुपमा कोदो खेती हुने गरेको छ । तर, उत्पादन भने वार्षिक रूपमा ओरालो लागेको प्रमुख यादवले बताउनुभयो ।
इलामका बजारमा भारतबाट आयात गरिएको कादो पाइन्छ । सूर्योदय–४ का प्रदीप गिरीले पर्यटकलाई खुवाउने कोदो पनि स्थानीय भनेर भारतबाट ल्याउनुपरेको बताउनुभयो । मकरजुङका टीकाराम अधिकारीले पोहोर नौला बुझाउन गाउँभरि कोदो खोज्दा कतै नभेटेपछि यसवर्ष बारीको एकछेउमा एक मानाको बीउ रोप्नुभएको छ । “दुई वर्ष नौलो बुझाउन पुग्ला त्यसपछि फेरि राप्नुपर्छ । यति रोप्नलाई बारी खन्ने खेताला नभेटेर बिजोग भयो । जमाना फेरिएछ अब ।” उहाँले भन्नुभयो, “रोप्ने पनि थिइन । पोहोर एक मुठी कोदो खोज्न गाउँ डुल्दा कतै नभेटेपटि यसपाली झ्वाँक चलाको ।”
कृषि निर्देशनालयका अनुसार कोशी प्रदेशका १४ जिल्लामा कोदो खेती हुने गरेको छ । प्रदेशभरमा ६५ हजार तीन सय ७२ हेक्टरमा कोदो खेती हुने गरेको छ । त्यसबाट एक लाख आठ हजार तीन सय ७५ टन कोदो उत्पादन हुने गरेको छ । यो करिब रु पाँच अर्ब २० करोड २० लाख बराबरको उत्पादन हो । तर यो वर्षदेखि कोशी प्रदेश सरकारले रैथाने बालीको प्रवर्द्धनका लागि विनियोजन गर्दे आएको बजेट कटौती गरेको छ ।
सरकारको बेवास्तामा परेसँगै कोदो बाली हेलाँमा परेको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रयासको प्रभावस्वरूप जनस्तरमा चेतना अभिवृद्धि भई हाल बजारमा कोदोको माग बढिरहेको पाइन्छ तर विडम्बना उत्पादन भने घटिरहेको छ ।”
पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार २०८०/८१ मा रु ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार ७ सय ९७ टन कोदो भारतबाट आयात भएको छ । कार्यालयका अनुसार आव २०७९/८० मा रु ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ टन कोदो भारतबाट आयात भएको थियो । नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको हो ।
कोदो नेपालको चौथो मुख्य बाली हो । कोदोलाई पहाडी क्षेत्रको मकैपछिको दोस्रो मुख्य बालीका रूपमा लिइन्छ । कोदोबाट ढिँडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाएर खान सकिन्छ । संयोजक अधिकारी भन्छन्, “खाद्य सुरक्षाको दृष्टिकोणले कोदो ज्यादै महत्वपूर्ण बाली हो”, उहाँ भन्नुहुन्छ, “पछिल्ला दिनमा जनचेतना वृद्धि र स्वास्थ्यको दृष्टिकोणले कोदो लाभदायक भएकाले यसको महत्त्व तथा उपयोगिता दिनदिनै बढ्दै गइरहेको छ ।”
कोदोमा क्याल्सियम, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, थाइमिन तथा रेसादार वस्तु पाइने विभिन्न अध्ययनले देखाएको छ । कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा आठ गुणा बढी क्याल्सियम पाइने विज्ञहरू बताउँछन् । सामान्य स्वस्थ व्यक्तिमात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई कोदो खानाले उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here