मोरङ, फार्मेसीको लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै दीर्घायू लेटाङ फार्मेसी अगाडि शब राखेर प्रर्दशन भएको छ ।
मोरङको लेटाङ नगरपालिका–३ मा रहेको दीर्घायू फार्मेसीमा उपचारका लागि ल्याइएकी महिलाको मंगलबार दिउँसो मृत्यु भएको र उनका आफन्तले शव फार्मेसी अगाडि राखेर प्रर्दशन गरेका हुन् ।
लेटाङ–७ वाराङ्की ३३ वर्षीया गोमा लिम्बू विरामीभएसंगै उपचारका लागि मंगलवार दिउँसो फार्मेसीमा ल्याइएको थियो । फार्मेसीले अवस्था गम्भीर रहेको भनेर थप उपचारका लागि विराटनगर रेफर गरेको थियो । विराटनगरतर्फ ल्याउने क्रममा लिम्बूको बाटैमा मृत्यु भएको हो । त्यसपछि शव फर्काएर आफन्तले फार्मेसी भएकै ठाउँमा पुर्याएका थिए । उनीहरुले फार्मेसी अगाडि शव राखेर प्रदर्शन गरेका हुन् ।
आफन्त र स्थानीयले फार्मेसीको लापरबाहीले महिलाको मृत्यु भएको आरोप लगाउँदै नाराबाजी समेत गरेका थिए । फार्मेसीले लगाइदिएको गलत इन्जेक्सनका कारण बिरामीको मृत्यु भएको आरोप उनीहरुको छ ।
मृतक गोमाका पति आइतबहादुर लिम्बू वैदेशिक रोजगारीमा रहेको स्थानीयले बताएका छन् । फार्मेसीका संचालक प्रकाश श्रेष्ठले भने प्राथमिक उपचार पनि गर्न नपाइकन बिरामीलाई रेफर गरिएको जानकारी दिए । श्रेष्ठ भने लेटाङ नगर अस्पतालमा कार्यरत सिनियर अहेब हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले घटनाका वारेमा थप अनुसन्धान भइरहेको बताए ।