झापामा बसको ठक्करबाट एक ब्यक्तिको मृत्यु, आक्रोशित भीडले बस जलायो

0
5

झापा ।

झापाको कमल गाउँपालिका स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रु बाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

बस चालकको लापरबाहीले दुर्घटना भएको भन्दै आक्रोशित भीडले बसको अगाडि भागमा आगजनी गर्नुका साथै झ्यालका सिसाहरू समेत फुटाएका छन् ।

कमल गाउँपालिका–५ स्थित रबी पेट्रोल पम्प अगाडि आज दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको कनकाई माई पाथीभरा नामक बसले सोही दिशा तर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटना परी मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका–७ का ५५ वर्षीय पदम मुकारुम राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । दुर्घटना पश्चात् आक्रोशित भीडले बसमाथि ढुङ्गा प्रहार गर्नुका साथै आगजनी गरेको प्रहरी नायव उपरीक्षक चन्दको भनाइ छ ।

घटनालाई साम्य बनाउन सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको थियो । दुर्घटना कारण पूर्व पश्चिम राजमार्ग आधा अवरुद्ध बनेको थियो ।

प्रहरीले वैकल्पिक मार्गबाट सवारीसाधन आउजाउको व्यवस्था मिलाइएको थियो । बस चालक ३५ वर्षीय सञ्जय नेपालीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here