मुख्यमन्त्री कार्कीद्वारा अर्जुनधारा जलेश्वर धामको दर्शन 

0
78
अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिका–७स्थित पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धामको सोमबार एक कार्यक्रमकोबीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दर्शन गरेका छन् ।
श्रावणी पर्वको अवसरमा धाम क्षेत्रमा आयोजित विभिन्न धार्मिक गतिविधिको अवलोकनसँगै मुख्यमन्त्री कार्कीले धामको मूल मन्दिरमा पूजाअर्चना गरेका छन् ।
मुख्यमन्त्री कार्कीसँगै पूर्व मुख्यमन्त्री उद्धव थापा, प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकारज कार्की, प्रदेश सभा सदस्यद्वय तिलचन पाठक र सुशिला भट्टराई कार्की, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली, नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक इश्वर कार्की, सशस्त्र प्रहरीका कोशी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेलगायतको उपस्थिती रहेको थियो ।
मुख्यमन्त्री कार्कीलाई धाम व्यवस्थापन समितिकोतर्फबाट धामका गतिविधि बारे समितिका उपाध्यक्ष भीमचन्द्र भट्टराईले जानकारी गराएका थिए । सोही क्रममा मुख्यमन्त्री कार्कीबाट अनुमानित २५ करोड रुपैयाँको लागतमा धाम क्षेत्रमा निर्माण हुने अत्याधुनिक सुविधा सम्पन्न अतिथि सदनको लागि आवश्यक बजेट विनियोजन गर्ने र अतिथि सदन निर्माण गर्न समितिले खरिद गरेको १० कठ्ठा जमिन पासको लागि धार्मिक तीर्थस्थलहरुलाई नियम अनुसार दिइने कर छुटको गर्न पहल गर्ने आश्वासन आफूहरुले पाएको समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए ।
यसैबीच अर्जुनधारा जलेश्वर धामलाई कोशी प्रदेश सांसद कोषबाट अनुदानको रुपमा प्राप्त भएको एक थान शुलभ शौचालयको पनि सोही दिन उद्घाटन गरिएको छ । प्रदेश सभा सदस्य सुशिला भट्टराई कार्कीले उक्त शौचालयको उद्घाटन गर्दै धामलाई थप एक थान शुलभ शौचालय उपलब्ध गराउन बजेट विनियोजन गरेको बताइएको छ ।
यता राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक डाक्टर महावीर पुनले अर्जुनधारा जलेश्वर धामको दर्शनसँगै पूजाअर्चना गरेका छन् ।वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनको उद्देश्यले हाल झापाको विभिन्न पालिकाहरुमा महावीर पुन सम्झना, सपना र अविरल यात्रा आत्मकथा पुस्तक बिक्री अभियानमा रहेका उनलाई धाम व्यवस्थापन समितिकोतर्फबाट सम्मानसहित पूजाअर्चनामा सहभागी गराइएको थियो ।
      डा. पुनको अभियानलाई सहयोग गर्ने उद्देश्यले धाम दर्शन एवम् पूजाअर्चनका लागि आएका भक्तजनहरुले उनको आत्मकथा पुस्तक खरिद गरेको कोषाध्यक्ष जोशीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here