झापा , बाह्रदशी गाउँपालिका–७ मा अवस्थित गौरीशंकर माध्यमिक विद्यालयले विद्यार्थीमा व्यवहारिक सीप, संस्कार, संस्कृति र परम्परागत रीतिरिवाजको ज्ञान अभिवृद्धि गर्ने उद्देश्यसहित फुड फेस्टिवल–२०८२ सम्पन्न गरेको छ।

विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवालका अनुसार कार्यक्रममा विद्यार्थीलाई केवल सैद्धान्तिक नभई व्यवहारिक रूपमा सिकाउने उद्देश्यले यो फेस्टिवल आयोजना गरिएको हो। उनका अनुसार, “विद्यार्थीले पाठ्यपुस्तकबाट मात्र होइन, आफ्नै संस्कृति, रहनसहन र परिकारको महत्व बुझ्दै व्यवहारिक रूपमा पनि सिक्न सकोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम गरिएको हो।”
कार्यक्रमको मुख्य आकर्षण विभिन्न समुदायका परिकार र तिनका संस्कार–संस्कृति झल्काउने प्रस्तुतिहरू रहेका थिए। हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारको सन्दर्भमा देउसी–भैलो, शुभकामना आदान–प्रदान, र तिहारमा प्रयोग हुने परिकारहरूको जानकारी विद्यार्थीहरूलाई दिइएको थियो।
सामाजिक विषयका शिक्षक लोचनकुमार गुरागाईंले विद्यार्थीले विभिन्न जातजाति र भाषाभाषी समुदायका परिकार तयार गरी आफ्ना संस्कृति झल्काउने अवसर पाएको बताए।
उनका अनुसार, “विद्यार्थीहरूले हिन्दू समुदायको सेलरोटी, राजवंशी समुदायको भक्का, मैथिली समुदायको ठेकुवा, र नेवारी समुदायको क्वाटी तयार पारेका थिए। यसले उनीहरूलाई विविधता र एकता दुबै सन्देश दिएको छ।”

विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रबहादुर राईले यस्तो कार्यक्रमले विद्यार्थीबीच परस्पर समझदारी र सामाजिक एकता मजबुत बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार, “फुड फेस्टिवलजस्ता कार्यक्रमले विभिन्न समुदायका विद्यार्थीबीच संस्कार, संस्कृति र भेषभूषाको आदान–प्रदान बढाउँछ। यसले उनीहरूको सीप र आत्मविश्वास विकासमा ठूलो टेवा पुर्याउँछ।”
शिक्षक अमरबहादुर कटुवालले विद्यालयले यस्तो कार्यक्रमलाई पाठ्यक्रमसँग पनि जोडेको बताए। उनका अनुसार, “विद्यार्थीले कक्षामा पढेको विषयलाई व्यवहारमा उतार्ने अवसर पाएका छन्। यसले शिक्षालाई व्यवसायिक र प्रयोगात्मक बनाउँछ।”
कार्यक्रममा बालक्लबका सदस्यहरूको सक्रिय भूमिका रहेको विद्यालय बालक्लब अध्यक्ष जेनिषा आचार्यले जानकारी दिइन्। उनले भनिन्, “हामीले यो फेस्टिवल सफल बनाउन तयारीदेखि सञ्चालनसम्ममा सक्रिय सहभागीता जनाएका छौं। यसबाट नेतृत्व, समूहकार्य र समन्वयका सीप सिक्ने अवसर मिल्यो।”
कार्यक्रमका प्रमुख अतिथि बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लगाईंले विद्यालय परिवार, शिक्षक, विद्यार्थी र अभिभावकलाई धन्यवाद ज्ञापन गर्दै फुड फेस्टिवललाई अन्य विद्यालयका लागि नमूना योग्य कार्यक्रमको रूपमा सराहना गरे। उनले भने, “गाउँपालिकाले आगामी दिनमा यस्ता व्यवहारिक र संस्कारमूलक गतिविधिलाई निरन्तर सहयोग गर्नेछ। गौरीशंकर माविले गरेको पहल साँच्चिकै प्रशंसनीय छ।”
कार्यक्रममा विद्यार्थीहरूले तयार पारेका परिकारहरूको प्रदर्शनी, तिहार सम्बन्धी सांस्कृतिक प्रस्तुति र समुदायबीचको अन्तरक्रियात्मक सत्रले वातावरण उत्साहपूर्ण बनाएको थियो।





























