अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–२स्थित खुदुनाबारीमा जारी एसवाईएस प्रथम खुला नकआउट फुटबल प्रतियोगिता–२०८२को सेमीफाइनलमा खुदुनाबारी फुटबल क्लब(अर्जुनधारा नगरपालिका) र सिद्धार्थ सातकटेरी फुटबल क्लब(अर्जुनधारा नगरपालिका) पुग्न सफल भएको छ ।
प्रतियोगिता अन्र्तगत स्थानीय २ नं. वडा खेलमैदानमा शनिबार सम्पन्न भएको पहिलो खेलमा शनिश्चरे फुटबल क्लब(अर्जुनधारा नगरपालिका)लाई १–० गोल अन्तरले पराजित गर्दै खुदुनाबारी सेमीफाइनलमा पुग्न सफल भएको हो ।
खुदुनाबारीको जीतका लागि खेलको १९औं मिनेटमा रमेश क्षेत्रीले गोल गरेका थिए । खेलका उत्कृष्ट खेलाडी घोषित विजेता टिमका रमेश क्षेत्रीलाई कार्यक्रमका प्रमुख अतिथि निवर्तमान वडाध्यक्ष रघुनाथ खनाल, आयोजक सचेत युवा समूहका अध्यक्ष राजेन्द्रकुमार साँवा “राजा”लगायतले नगद पुरस्कार एक हजारसहित ट्रफी प्रदान गरेका थिए । उक्त नगद पुरस्कार दाता अर्जुनधारा नगर सभा सदस्य बिमला रोक्काले सौजन्य गरेकी थिइन् ।

त्यसैगरी सोही दिन सम्पन्न दोस्रो खेलमा नव विहानी फुटबल क्लब(माई नगरपालिका)लाई टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै सिद्धार्थ सातकटेरी फुटबल क्लब सेमीफाइनल पुग्न सफल भएको हो ।
निर्धारित खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । खेलका उत्कृष्ट खेलाडी घोषित विजेता टिमका गोलरक्षक सागर फ्याकलाई दाता रुजन राईलगायतले नगद पुरस्कार एक हजारसहित ट्रफी प्रदान गरेका थिए । उक्त नगद पुरस्कार दाता राईले सौजन्य गरेका थिए ।

प्रतियोगिता अन्र्तगत भोली(आइतबार)को पहिलो सेमीफाइनल खेल विहान १२ बजे होक्से फुटबल क्लब(बुद्धशान्ति गाँउपालिका) र खुदुनाबारी फुटबल क्लब(अर्जुनधारा नगरपालिका) तथा दोस्रो खेल दिँउसो २ बजे ब्रदर्स युनाईटेड फुटबल क्लब(भद्रपुर नगरपालिका) र सिद्धार्थ सातकटेरी फुटबल क्लब(अर्जुनधारा नगरपालिका)बीच हुने आयोजक समूहका सचिव शिव भट्टराईले जानकारी दिए ।

























