काँकरभिट्टा नाकामै चालकको स्वास्थ्य जाँच,१३ जनाले लागूऔषध सेवन गरेको भेटियो

0
3

झापा ।

लागूऔषध सेवन गर्नकै लागि धेरै नेपालीहरू भारतको पानीट्यांकी जाने गरेको तथ्य प्रमाणित भएको छ । पानीट्यांकीबाट फर्किने नेपालीहरूलाई लागूपदार्थ सेवन(लापसे) चेकजाँच गर्दा करिब आधा जतिले लागूऔषध सेवन गरेर आएको भेटिएको हो । घरायसी उपभोग्य सामान खरिदसँगै लागूऔषध सेवन र खरिद गर्न जानेहरूको सङ्ख्या बढ्दै गएको छ ।

मेचीनगर –६ मेची पुलमा जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा, जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको संयुक्त आयोजना तथा लायन्स क्लब अफ मेचीनगर र मेचीनगर आधारभूत अस्पतालको सहकार्यमा आज लापसे चेकजाँच गरिएको थियो । त्यस क्रममा २९ जना अटो, सिटी र मोटरसाइकल चालकलाई चेकजाँच गर्दा १३ जनाले लागूऔषध सेवन गरेको भेटिएको हो । लागूऔषध सेवन गर्नेहरूमा २ महिला र ११ पुरुष रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काको प्रमुख आतिथ्यमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक निशेष चापागाईँ , जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईलगायतको कमान्डमा चेकजाँच टोली खटिएको थियो ।

दिउँसो ३ः१५ बजेदेखि साँझ ४.५५ बजेसम्म सवारी चालकहरूलाई स्वास्थ्य परीक्षण तथा लापसे चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । उनले सीमावर्ती क्षेत्र भएकाले झापामा लागू औषधको अवस्था चिन्ताजनक रहेको बताए ।

केही महिनाअघि यात्रुवाहक बसका चालकहरूलाई लापसे चेकजाँच गरिएको थियो । त्यस बेला पनि धेरै सवारी चालकहरूले लागूऔषध सेवन गरेको भेटिएको थियो । मादक पदार्थ सेवन( मापसे) चेकजाँचसँगै ट्राफिक प्रहरीले लापसे चेकजाँचलाई पनि निरन्तरता दिँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राईले जानकारी दिएका छन् ।

लापसे पोजेटिभ देखिएका व्यक्तिहरूलाई आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिई इप्रका काँकडभिट्टामा ल्याइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here