बिर्तामोड ।

झापाको गरामनी बजारस्थित मन्दिरछेउमा निर्माण गरिएको ‘नागरिक भेटघाट चौतारी’ उद्घाटन गरिएको छ । समाजसेवी तथा पूर्व शिक्षासेवी खिलप्रसाद शिवाकोटीको अगुवाईमा ‘नागरिक भेटघाट चौतारी’ निर्माण गरिएको थियो ।
चौतारी उद्घाटनसँगै साहित्यिक तथा औपचारिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता, सञ्चालन तथा स्वागत मन्तव्य स्वयं खिलप्रसाद शिवाकोटीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालनमा मोहन घिमिरेले सहयोग गर्नुभएको थियो ।

कार्यक्रमका अतिथि राष्ट्रिय सहकारी वैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले चौतारीको एकछेउमा स्थापित गौतम बुद्धको सालिक अनावरण गर्नुभयो । त्यसैगरी ‘नागरिक भेटघाट चौतारी’ लेखिएको बोर्ड बिर्तामोड नगरप्रमुख पवित्रा महतारा र रमेश प्रसाईंले संयुक्त रूपमा अनावरण गर्दै चौतारीको औपचारिक उद्घाटन गर्नुभएको थियो ।
समारोहमा नवनिर्वाचित सांसद इन्दिरा रानाले समेत शुभकामना मन्तव्य व्यक्त गर्दै चौतारीले नागरिकहरूबीच भेटघाट, संवाद र सांस्कृतिक गतिविधि प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा साहित्यिक वातावरण पनि सिर्जना गरिएको थियो। कविहरू केशव आचार्य, देवीचरण भण्डारी, खिलप्रसाद शिवाकोटी, दृष्टिहीन कविद्वय समिर अधिकारी र रमेश प्रसाईंले आफ्ना कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत सागर मिश्र, ८८शिक्षा प्रमुख तिलचन भण्डारी लगायत विभिन्न सामाजिक, सांस्कृतिक तथा स्थानीय व्यक्तित्वहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।
स्थानीय बुद्धिजीवी, साहित्यकार तथा सर्वसाधारण नागरिकको भव्य सहभागितामा सम्पन्न उक्त कार्यक्रमलाई सहभागीहरूले सकारात्मक र प्रेरणादायी भन्दै प्रशंसा गरेका थिए ।






























