उद्योग र होटलको कानुनी प्रक्रिया पूरा गर्न माग गर्दै प्रशासनलाई ध्यानाकर्षण

0
15

झापा । उद्योग सञ्चालन र होटल निर्माणमा कानुनी तथा व्यवहारिक प्रक्रिया पूरा गर्न माग गर्दै युवा अभियान नेपालले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ।

युवा अभियान नेपाल मेचीनगरका संयोजक पशुपति भट्टराई – प्रविण को नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईंलाई पत्र बुझाएको हो।
मेचीनगर–१४ का प्रगति टोल र पाथीभरा टोलमा सञ्चालित मेची ग्यास उद्योग प्रालि तथा निर्माणाधीन रोयल रिक्रिएसन होटलले कानुनी र व्यवहारिक पक्ष पूरा नगरेको पत्रमा उल्लेख गरिएको छ। उद्योग तथा होटल दुवैले आवश्यक कानुनी प्रक्रिया तथा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनसमेत स्पष्ट नगरेको जनाइएको छ।
पत्रमा मेची ग्यास उद्योगले व्यवस्थापन पक्ष कमजोर राखेको, दक्ष र योग्य प्राविधिक नहुँदा स्थानीयबासीमा स्वास्थ्य समस्या देखिएको उल्लेख छ। प्रगति टोलमा एक जना र पाथीभरा टोलमा दुई जना महिला क्यान्सरबाट पीडित रहेको तथा चार जना पुरुषमा नसासम्बन्धी जटिल समस्या देखिएको दाबी गरिएको छ।
त्यस्तै, निर्माणाधीन होटलले प्रस्तुत गरेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वातावरणमैत्री नभएको भन्दै पुनरावलोकन गर्नुपर्ने माग गरिएको छ। साथै, हडिया खोला अतिक्रमण भएकोरनभएको पुष्टि गर्नुपर्ने, अतिक्रमण गरिएको भए सार्वजनिक बाटोको निकास खुला गर्नुपर्ने माग पनि अघि सारिएको छ।
उक्त ध्यानाकर्षण पत्रको बोधार्थ जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय धुलाबारी, प्रहरी चौकी चारआली, मेचीनगर नगरपालिका – इटाभट्टा , वडा नम्बर १४ को कार्यालय, मेची ग्यास तथा आटा उद्योग र रोयल रिक्रिएसन होटललाईसमेत पठाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here